खोजखबर

कोरोना कहरः रोकिएन इँटाभट्टामा महिलाको काम

रमेश गिरी २०७६ चैत २३ गते १७:४२ मा प्रकाशित

भक्तपुर । कोरोना भाइरस विश्वभर फैलिएर नेपालसमेतलाई प्रभाव पारेपछि सरकारले लकडाउन गरेको आज १३ दिन भइसक्यो । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सबै निकाय ठप्प भइरहँदा भक्तपुरका इँटाभट्टाका महिला मजदुरको काम भने ठप्प भएको छैन ।

भक्तपुरका इँटाभट्टा सञ्चालकले काँचो इँटा बनाउन बन्द गरेपनि बनाएका इँटा भट्टाको डगमा लैजाने र पाकेका इँटा डगबाट गोदाममा ल्याउने काम भने नरोकिँदा लकडाउनका बेलामा पनि जोखिम मोलेर महिला मजदुर दैनिक इँटा बोक्ने काम गरिरहेका छन् ।

बिहान ०५ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझसम्म इँटा बोक्ने काममा व्यस्त देखिन्छन् भक्तपुरका ६२ वटा इँटाभट्टामा काम गर्ने महिला मजदुर । इँटाभट्टाका सञ्चालकले प्रशासन र स्थानीय तहको दबाब पछि नयाँ इँटा बनाउन बन्द गरेर १८ हजार मजदुरलाई गाउँ पठाए पनि इँटा बोक्ने काममा रहेका महिला मजदुर भने भट्टा मै रोकिएका छन् । महिलासँगै आएका एकै परिवारका पुरुष पनि भट्टा मै छन् । काममा तल्लिन इँटाभट्टामा इँटा बोक्ने महिला पुरुषसँग न मास्क छ, न स्यानेटाइजर नै । छत केबल काँधमा इँटाको भारी ।

चाँगु दुवाकोट दुई सेती भैरब इँटाभट्टामा काम गर्ने दाङ घोराहीकी सानीकान्छी घर्ती साहुले इँटा बोक्ने काम नसकि घर नपठाउने भनेर राखेको बताउँछिन् । उनले भनिन्, ‘खै देशभरी रोग आइचरे, अस्ती गाउँका घर पठायो साहुँले हामीलाई इँटा बोक्न नसकी जान पाउदैनौं भने, हिसाब पनि गरेनन् अनि बसेम ।’ भक्तपुरका ६२ वटा इँटा भट्टामा अझैपनि कम्तीमा १० हजार कामदार रहेका छन् । एउटा इँटा भट्टामा २ सय कामदार अझै छन् । इँटा बोक्ने, गोदाम मिलाउने र इँटा पकाउने भारतका कामदार काम गरिरहेका छन् ।

भकुण्डेबेशीकी सानी नेपाली दैनिक दुई हजारदेखि २५ सय इँटा बोक्ने गरेको बताउँछिन् । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन घोषणा गरे पनि इँटाभट्टामा भने काम भइरहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘घर जान पनि पाएनौं, झ्याउलीमा खानेकुरा पनि सकियो, खै साहुले नखुवाए भोकै हुन्छौँ, इँटा सबै थन्क्याएपछि मात्रै पठाउने भनेका छन्, हामी आत्तिसक्या, आफ्नै घर जान पाए हुन्थ्यो ।’

दुईवर्षको छोरीलाई ६ वर्षकी अर्की छोरीलाई रेखदेख गर्न छाडेकी हनुमान इँटा उद्योगमा कार्यरत दाङ्ग घोराहीकी सीमा घर्ती इँटा बोकेर दैनिक ७ सय कमाई हुने बताउँछिन् । एक हजार इँटा बोकेको ज्याला ३ सय पाइने बताउँदै उनले साहुले हिसाब गरेर पैसा पनि नदिएको र गाउँ पनि नपठाएका कारण यही रोकिनु परेको बताइन् । जिल्लामा रोल्पा, दाङ, रुकुम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लाबाट आएका मजदुर कार्यरत छन् भने इँटा पोल्न भारतबाट आएका मजदुरहरु पनि रहेका छन् ।

इँटा व्यवसायी संघ भक्तपुरका अध्यक्ष नातीभाई ह्याम्बाले १८ हजार मजदुरलाई घर फर्काईसकेको र अब इँटा बोक्ने काममा रहेका मजदुर मात्रै बाँकी रहेको बताए । काँचो इँटा नबोकी छोड्दा करोडौंको इँटा बिग्रने भएकाले इँटा बोक्न बाध्य भएकाले केही मजदुर बाँकी रहेको बताउँदै जिल्ला प्रशासन कार्यालयले पासको व्यवस्था गरिदिए केही दिनभित्रै घर पठाइदिने उनले बताए । कोरोनाको जोखिम कम गर्न भट्टामा काम गर्ने मजदुरलाई बाहिर जान नदिएको र बाहिरबाट भट्टामा नयाँ मान्छेलाई आउन नदिएको उनको दावी छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय