‘आफू बाँचौँ, अरुलाई पनि बचाउँ’

पोखरा । मानवअधिकार पत्रकार संघ (हुर्जा) गण्डकीले लकडाउनको पालना गर्दै आँफू बच्न र अरुलाई बचाउन आम सर्वसाधारणलाई आग्रह गरेको छ । संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएसँगै सरकारले सुरु गरेको लकडाउन पूर्ण पालना गरी आफू बच्न र अरुलाई पनि बचाउँने अभियानलाई सहज र सार्थक पार्न आम जनसमुदायलाई आग्रह गरेको हो ।

संघका अध्यक्ष असफल गौतम र महासचिव सुशील श्रेष्ठद्वारा जारी विज्ञप्तिमा लकडाउन अवधिमा कोही भोकै मर्न नपरोस् भनेर तीनै तहमा निर्देशन दिई वास्तविक पीडित श्रमिकलाई दैनिक जीविकोपार्जनका लागि स्थानीय सरकारसमक्ष सम्पर्क राख्न भने पनि उनीहरूले राहत पाउन नसकेका प्रति चासो व्यक्त गरिएको छ ।

दैनिक ज्यालादारी र विपन्नको लगत संकलन गरी राहत दिने भनेता पनि वडामा संकलित फारममा फ्ल्याट भाडावाला, उच्चपदस्थ कर्मचारी, विभिन्न पसलवाला, पेन्सनवाला हुँदाहुँदै घरधनीवाला समेतले फारम भरेको अनुगमनका क्रममा फेला परेको हुँदा त्यसप्रति संघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

झन्झटिलो राहत वितरणलाई छिटो र प्रभावकारी रूपमा अगाडि बढाउन पनि संघले माग गरेको छ । कोरोनाविरुद्ध सरकार पूर्ण तयारी अवस्थामा छ भनिरहेको बेला पोखराकै ठूलो अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य अवस्थाका बिरामीले समेत उपचार नपाएर खाली चौरमा रात बिताउनुपरेको समाचारप्रति पनि संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया