फिदिम नगरपालिकाद्वारा विपद् व्यवस्थापन कोष खडा

पाँचथर । फिदिम नगरपालिकाले कोरोना विपद् व्यवस्थापन कोष खडा गरेको छ । कोरोना भाईरस रोकथाम,सतर्कता,राहात तथा उद्धार लगायतको क्रियाकलाप संचालन गर्न लागिएको हो । फिदिम नगरपालिकाले २१ लाख रुपैया रकमको विपद् व्यवस्थापन कोष खडा गरेको नगरका प्रेश सल्लाकार जितेन्द्र भण्डारीले जानकारी दिए ।

नगर प्रमुख ओनाहाङ नेम्वाङको अध्यक्षतामा बिहीबार बसेको आकस्मिक वैठकले कोष खडा गर्नुका साथै इच्छुक दाताहरूलाई कोषमा स्वैच्छिक तवरले रकम जम्मा गरिदिन अनुरोधसमेत गरेको छ । जसका लागि फिदिम नगरपालिका प्रकोप व्यवस्थापन कोष खाता नम्बर ०६७०३००००००००५००४००३ रहेको छ ।

यस्तै, १४ वडाभित्र नगरपालिका भरीका दैनिक ज्यालादारीमा काम गर्ने विपन्न वर्गका मजदुरहरूलाई लकडाउनको कारण दैनिक जीवनयापन गर्न नसक्ने अवस्थामा रहे–नरहेको अभिलेख संकलन गर्ने छ । विवरण संकलित तथ्यांकको विश्लेषण गरी राहत प्याकेज व्यवस्थाको संयन्त्र पद्धति निर्धारण गर्ने तयारी भइरहेको नगर प्रमुख नेम्वाङले बताए ।

वडास्तरमै प्याकेजमा राहत वितरण गरीने वडा नम्बर ४ का वडा जनसरकार प्रमुख प्रकास गुरुङले सौर्य दैनिकलाई जानकारी दिए । नगरपालिकामा तथ्यांक संकलका लागि वडा अध्यक्षहरूको आउनेजाने क्रम रहेको छ । त्यस्तै, नगरभित्रका विभिन्न स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधीहरू आपूर्तिको व्यवस्था मिलाइएको छ ।

वडास्तरमा समेत सम्भव भएसम्म क्वारेन्टाइन व्यवस्थापनका लागि पहल गर्न वडा समन्वय समितिलाई अनुरोध गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्बिका अधिकारीले बताइन् । उक्त नगरपालिकामा वैदेशिक रोजगारीबाट आउने व्यक्तिहरूको अभिलेख राखिएको अहिलेसम्म चार जना आएको जसमध्ये तीन जना होम क्वारेन्टाईन र फिदिम ६ का एक व्यक्तिलाई भने मिक्लाजुङको टाँडीस्थित क्वारेन्टाईनमा राखी आवश्यक व्यवस्थाको लागि अनुरोध गरिएको नगरका प्रवक्ता नरेन्द्र गुरुङले बताए ।

यस्तै, फिदिम नगरपालिकाको पहलमा सुरक्षा निकायको समन्वयमा ६५ वटा क्वारेन्टाईन र पाँच वटा आइशोलेसन निर्माण गरि सकिएको छ । जसमा समर्पित अस्पतालमा २० वटा श्ययाको क्वारेन्टाईन र पाँच वटा आइशोलेसन, शिक्षा श्रोत केन्द्रमा ४५ श्यैयाको क्वारेन्टाईन व्यवस्थापन गरिएको हो ।

क्वारेन्टाईन तथा आइशोलेसन श्यया भैरवी दलगणबाट र सो को लागि आवश्यक पर्ने बेडसिट, सिरानीलगायतका आवश्यक सामाग्रीहरूको व्यवस्थापन नगरपालिकाबाट गरिएको हो । त्यसैगरी, नगर प्रमुख नेम्वाङको संयोजकत्वमा नगर समन्वय समिति गठन गरी सुरक्षाको लागि आवश्यक कार्य भइरहेको छ ।

यस्तै, नगरका १४ वटै वडाहरूमा कोरोना भाइरस सम्बन्धी जनचेतना जागरणका लागि अन्य आवश्यक समन्वयको काम गर्न वडा समन्वय समिति १० वटा वडामा गठन गरिसकिएको छ । बाँकी चार वडामा चाँडै नै गरिने नगरपालिकाले जनाएको छ ।

वैठकमा नगर प्रमुख नेम्वाङ, प्रमुख प्रशासकिय अधिकृत अधिकारी, फिदिम नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सुकपाल तुम्बापो, ३ का वडाध्यक्ष तथा प्रवक्ता गुरुङ र ४ का वडाध्यक्ष प्रकाश गुरुङ, उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष तथा नगर प्रमुखका वाणिज्य सल्लाहकार दिपक नेपाल लगायत उपस्थित रहेको थियो ।

प्रतिक्रिया