एनओसीले ७ प्रदेशका संयोजक तोक्यो

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जिम्मेवारी तोक्ने क्रममा ७ प्रदेशमा संयोजक तोकेको छ । पोखरामा सोमबार सुरु भएको एनओसी कार्यसमितिको बैठकले संयोजक तोकेको हो । बैठकको पहिलो दिन प्रदेश १ का लागि उप महासचिव पिताम्बर तिम्सिना, प्रदेश २ का लागि उपाध्यक्ष अशोक बज्राचार्य संयोजक तथा सचिव रामजीबहादुर श्रेष्ठ र सदस्य प्रकाश सम्शेर राणा सदस्य , बागमती प्रदेशको संयोजक उपाध्यक्ष सुनिलकुमार श्रेष्ठलाई तोकिएको छ ।

त्यस्तै गण्डकी प्रदेशका लागि उपाध्यक्ष तेजबहादुर गुरुङ संयोजक र सदस्य तासी घले सदस्य , प्रदेश ५ का लागि सचिव तुलसा थापा संयोजक र सदस्य दीर्घबहादुर (कुमार) केसीलाई सदस्य तोकिएको छ भने कर्णाली प्रदेशमा सचिव दीपकहर्ष बज्राचार्य र प्रदेश ७ मा कोषाध्यक्ष रतन टण्डनलाई संयोजक तोकिएको एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए ।

पहिलो पटक राजधानी बाहिर बसेको बैठक मंगलबारसम्म चल्नेछ । पहिलो दिन विभिन्न विषयमा छलफल भएको महासचिव श्रेष्ठले जानकारी दिए । यसै बर्ष आयोजना हुने टोकियो ओलम्पिकका लागि भइरहेको तयारी, ३ महिना अघि स्वदेशमा सम्पन्न १३ औँ दक्षिण एसियली खेलकुद (साग) आयोजनाको समिक्षा पनि भएको छ । यद्दपि विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेका कारण ओलम्पिककै स्थगित हुने शंका बढेको छ ।

उपाध्यक्ष चतुरानन्द राजवैद्य र महासचिव श्रेष्ठले तयार पारेको साग प्रतिवेदनमा बैठकमा छलफल भएको थियो । त्यस्तै एनओसीअन्तर्गतका विभिन्न ११ कमिसन पनि गठनको संयोजक पनि तय भइसकेको बताइएको छ । डल्लु आवास भित्र बनाउने तयारी रहेको भूकम्प स्मारकका विषयमा पनि छलफल भएको थियो ।

बैठकपछि मंगलबार एनओसीले पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजनिक गरिने बताइएको छ । छलफलमा केन्द्रित हुनका लागि पहिलो पटक उपत्यकाबाहिर बैठक राखिएको महासचिव श्रेष्ठले बताए । भदौ अन्तिममा चयन नयाँ कार्यसमितिको यो चौथो बैठक हो । संघिय सासंद समेत रहेको जीवनराम श्रेष्ठको अध्यक्षतमा बसेको बैठकमा सबै कार्यसमितिका १९ जनाकै उपस्थिति थियो ।

प्रतिक्रिया