ज्येष्ठ नागरिकलाई चन्द्रागिरि केवलकार सेवा निःशुल्क

काठमाडौं । ज्येष्ठ नागरिकहरूको सम्मानकालागि चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा सेवा लिने ७० बर्ष नाघेका आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निःशुल्क प्रदान गर्ने भएको छ । बच्चा देखि वृद्धसम्म सबैका लागि निर्माण गरिएको एकीकृत पर्यटकीय गन्तव्यमा ज्येष्ठ नागरिकहरूको भ्रमणलाई उत्साहित बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको छ । यो योजना अन्र्तगतको सेवा लिन पर्यटकहरूले ज्येष्ठ नागरिकको परिचय खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनुपर्नेछ ।

आफ्नो जन्मदिनको अवसरमा चन्द्रगिरि केवलकार चढ्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई निःशुल्क केबलकारको व्यवस्था कम्पनी व्यवस्थापनले यस अघि नै गरिसकेको छ । त्यसका अतिरिक्त तीन फीट सम्म उचाईं भएका बालबालिकाहरू लाई पूर्णत निःशुल्क केबलकार चढ्न पाउने व्यवस्था कम्पनी स्थापना सँगै गरिँदै आइएको छ । साथै केबलकारको शुल्कमा स्थानीय नागरिक र विद्यार्थीहरूलाई पच्चीस प्रतिशत र शारीरिक रूपमा फरक क्षमता भएका व्यक्तिलाई पचास प्रतिशत छुटको व्यवस्था कम्पनीले गर्दै आएको छ । ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यु टावर, चिल्ड्रेन पार्क, सेमिनार हलर रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रूपमा विकास गरिरहेको छ ।

प्रतिक्रिया