अधिकांश भन्सारको निर्यात न्यून

काठमाडौं । मुलुकको अन्तर्राष्ट्रिय व्यापारका लागि भनेर स्थापना गरिएका कुल २४ भन्सारमध्ये १७ वटा भन्सार नाकाबाट निर्यात असाध्यै न्यून रहेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको विवरणअनुसार ती भन्सार कार्यालयबाट निर्यात असाध्यै न्यून देखिएको हो । त्यसमा ८ भन्सार कार्यालयको निर्यात शून्य प्रतिशत रहेको उल्लेख गरिएको छ । विभागका अनुसार भद्रपुर जलेश्वर, जनकपुर, महेशपुर(नवलपरासी), सर्लाही, सती (कैलाली), सिरहा, सुनसरी, सुथौली(कपिलवस्तु), तातोपानी, ठाँडी(सिरहा) भन्सारलगायतका भन्सार कार्यालयबाट सो अवधिमा निर्यात प्रतिशत शून्य रहेको पाइएको छ ।

विभागको विवरणअनुसार नेपाल र भारतबीचको प्रमुख भन्सार नाका वीरगञ्जबाटै निर्यातसमेत बढी भएको देखिएको छ । सो भन्सारबाट कूल ३१.४१ प्रतिशत निर्यात भएको छ । सो भन्सारबाट चालू आवको सात महिनामा २० अर्ब ४० करोड ५५ लाख १३ हजार बराबरको निर्यात भएको छ । यस्तै भैरहवा भन्सारको हिस्सा दोस्रोमा छ । सो भन्सारबाट कूल २८ दशमलव ४५ प्रतिशत निर्यात भएको छ । विभागका अनुसार सो भन्सारबाट १८ अर्ब ४८ करोड ४१ लाख ११ हजार बराबरको निर्यात भएको छ ।

त्यस्तै तेस्रोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय छ । सो भन्सारबाट रु १४ अर्ब नौ करोड ६० लाख ९३ हजार बराबरको निर्यात भएको छ । प्रतिशतका आधारमा सो भन्सारबाट २१ दशमलव ७० प्रतिशत निर्यात भएको छ । चालू आवको सात महिनामा कूल आठ खर्ब तीन अर्ब ६० करोड २८ लाख १३ हजार बराबरको सामान आयात भएकामा ६४ अर्ब ९७ करोड १२ लाख २७ हजार बराबरको निर्यात भएको छ । विभागको विवरणअनुसार सामान आयात गर्नेमा पनि वीरगञ्ज भन्सार नै शीर्ष स्थानमा रहेको छ । सो भन्सारबाट दुई खर्ब ७५ अर्ब ६९ करोड २६ लाख ९९ हजार बराबरको माल–सामान आयात भएको छ । प्रतिशतका आधारमा सो भन्सारको हिस्सा ३४ दशमलव ३१ प्रतिशत रहेको छ । यस्तै दोस्रोमा भैरहवा भन्सार कार्यालय रहेको छ । सो भन्सार कार्यालयबाट मात्रै एक खर्ब ३७ अर्ब ३० करोड ४१ लाख १८ हजार बराबरको सामान आयात भएको छ । त्यो भनेको कुल आयातको १७ दशमलव ०९ प्रतिशत हो ।

यस्तै, वीरगञ्ज सुक्खा बन्दरगाहबाट एक खर्ब एक अर्ब ३५ करोड ९५ लाख ९६ हजार बराबरको मालवस्तु आयात भएको छ । विराटनगर भन्सारबाट रु ८४ अर्ब ७६ करोड ६६ लाख ८९ हजार बराबरको आयात भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट ८१ अर्ब ५० करोड ६८ लाख ५३ हजार बराबरको माल वस्तु आयात भएको छ । प्रतिशतका आधारमा कूल आयातमध्ये १० दशमलव १४ प्रतिशत हिस्सा सो भन्सार कार्यालयले राखेको छ । विभागका अनुसार रसुवा भन्सारबाट २६ अर्ब २३ करोड ३६ लाख ८७ हजार, नेपालगञ्ज भन्सारबाट ३० अर्ब ४० करोड २६ लाख ७६ हजार, कृष्णनगर भन्सारबाट १२ अर्ब २६ करोड २४ लाख छ हजार, कैलाली भन्सारबाट १० अर्ब ९७ करोड ५७ लाख २९ हजार बराबरको मालवस्तु आयात भएको छ । चाल्ू आवको सात महिनाको अवधिमा मुलुकको कुल व्यापार घाटा भने सात खर्ब ३८ अर्ब ६३ करोड १५ लाख ८६ हजार रहेको छ ।

प्रतिक्रिया