कोरोना भाईरस विरुद्धको चिनियाँ लडाईः नेपाल साथमा उभिनुपर्छ

गत डिसेम्वर अन्तिम साताबाट देखिएको र सुरुमा बढ्दो रूपमा देखिएको कोरोना भाईरसको संक्रमण पछिल्ला दिनमा कमजोर हुँदै गएको र चीनमा संक्रमण घट्दो दरमा देखिएको छ । संक्रमण विरुद्ध अपनाईएको कडा कदमका कारण चिनियाँ अधिकारीहरूले कोभिड १९ फैलिएको हुबे प्रान्तमा नयाँ संक्रमणको संख्या ह्वात्तै घटिरहेको विवरण दिएका छन् ।

संक्रमितको संख्यामा आएको उक्त कमी रोग निदानमा अपनाइएका फरक विधिका परिणाम मानिएको छ । चीनले हर सम्भव उपाय लगाएर रोग नियन्त्रणका लागि आक्रामक अभियानहरू सञ्चालन गरिरहेको छ । यसैकारण पछिल्ला दिनमा रोग संक्रमितहरूको संख्या ह्वात्तै घट्दै गएको हो ।

हो, संसार जानकार छ की, कोरोना भाईरसको आक्रमण विरुद्ध साम्यवादी देश चीन सम्पूर्ण शक्ति खर्चेर लडिरहेको छ । अप्रत्यासित रूपमा दैवी विपत्तिसरह कोरोना भाईरस फैलिँदै गर्दा राज्यशक्तिको सम्पूर्ण प्रयाश कोरोना विरुद्ध परिचालन गरेकै कारण यो भाईरस महामारी हुन पाईरहेको छैन । चीनले भाईरस नियन्त्रणमा आशातीत सफलता हासिल गर्दै गैरहेको छ । चीनले भाईरस नियन्त्रणमा गरेको अथक प्रयाशलाई विश्व स्वास्थ्य संगठनदेखि सिंगो अन्तर्राट्रिय जगतले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।

यही रोग संसारका अरू कुनै देशमा सुरु भएको भए संसारभर यो महामारीकै रूपमा व्याप्त भैसकेको हुन सक्थ्यो । तर, प्रविधि, औषधी र उपचार तथा रोगको पहिचान र नियन्त्रण तथा उन्मुलनमा चीन अत्यन्तै आक्रामक रूपमा सक्रिय हुनुकै परिणाम हो की आज कोरोना भाईरस नियन्त्रण उन्मुख छ । चीन केही महिनाभित्रै यो भाईरस उन्मुलन पार्ने गरी विशेष कोरोना विरोधी अभियान रातोदिन महाअभियान सञ्चालन गरिरहेको छ ।

अकस्मात आईलागेको प्रकृतिक विपत्ति सरह कोरोना भाईरसको संक्रमण विरुद्ध राज्यस्तरमा नै चीन लडिरहेको र क्रमिक रूपमा भाईरसलाई सखाप पार्न समेत सफलता नजिक भैरहेको बेला पश्चिमा मिडियाहरू यसलाई अतिरंजित गरेर चीनलाई बदनाम गर्न उद्धत देखिँदै आएका छन् । रोगको संक्रमणभन्दा पनि ज्यादा पश्चिमा मिडियाहरूको गलत कुप्रचारले कोरोनाको संक्रमणलाई मानवजातीको ठूलो हाउगुजी बनाईरहेको छ ।

तिललाई पहाड बनाउने पश्चिमा मिडियाहरू यही निहुँमा चिनलाई चिर्थोन र बदनाम गर्न लागिरहेकै छन् । साम्यवादी देशको सत्ता र शासकको विरोधलाई मूलधर्म मान्ने पश्चिमा मिडियाको यो शैली त पुरानै प्रवृत्ति हो, जसलाई चीनले सामना गर्दै र उचित प्रतिवाद पनि गर्दै आएको छ ।

उत्तरी छिमेकी चीनलाई संकटका बेला सहानुभूति प्रकट गर्दै कोरोना विरुद्धको लडाईंमा नेपाल पनि संगसंगै छ भन्ने सन्देश दिने गरी ऐक्यवद्धता जाहेर गर्नुपर्ने नेपालीहरूको कर्तव्य हो अहिले । नेपालजस्तो भूगोल जोडिएको छिमेकीले संकटमा परेका बेला चीनलाई सके मद्दत गर्नुपर्छ, नसके पनि उसको दुखमा खिल्ली टिउरी गर्न हुँदैन । बिपत्तिका बेला छिमेकीलाई साथ दिने नेपालीको पुरानो परम्परा हो । राणा र पञ्चायती शासनका बेलामा पनि नेपालले छिमेकी तथा अन्तर्राष्ट्रिय संकटहरूमा गच्छे अनुसार पैसा, सामान वा सकेको मद्दत गरेका घरेलु परोपकारी इतिहासका प्रसंग बग्रेल्ती छन् ।

चीन सधैँ नेपालको हित चिताउने र कुनै पनि हिसाबले द्विपक्षीय सम्बन्धमा समस्या नरहेको असल छिमेकी हो । नेपालमा भूकम्प जाँदा चिनले पहिलो मोर्चामा रहेर सघायो । नेपालको पूर्वाधार, उद्योग वा सम्पदा हरेक खालको विकास निर्माणमा निस्वार्थ सहयोगी र उदार दाता देश पनि हो चीन । यसरी संकटमा परेको चीनलाई चिढ्याउन र घाउमा नुन चुक छर्कने गरी मिथ्या सन्देश अन्तर्राष्ट्रिय दुनियाँमा पस्कने मुर्खता कसैले पनि गर्नु हुँदैन ।

चीनका स्वास्थ्य अधिकारीहरूले कोरोनाभाइरस संक्रमण सुरु भएयताकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष सार्वजनिक गरेका छन् जसमा ७० हजारभन्दा बढी कोभिड १९ संक्रमणका विवरणहरू समेटिएका छन् । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्यांकले ८० प्रतिशतभन्दा बढी संक्रमणमा मध्यम तहका समस्या देखिएको र बिरामी तथा वयोवृद्धमा बढी जोखिम देखाएको छ ।

उक्त अनुसन्धानले स्वास्थ्यकर्मीहरू पनि उच्च जोखिममा रहेको संकेत गरेपनि त्यो नियन्त्रणमा रहेको जनाएको छ । गत मंगलबार वुहानमा उपचारका क्रममा एकजना अस्पताल निर्देशक एक्काउन्न वर्षीय लियो झामिङको मृत्यु भएपछि स्वास्थ्य अधिकारीहरूको सुरक्षामा पनि चीन सरकारले उच्च प्राथमिकता दिँदै आएको छ । सुरुमा वुहानस्थित हुबे प्रान्तमा कोरोनाभाइरसको संक्रमण सबैभन्दा खराब स्तरमा फैलिए पनि त्यो अहिले नियन्त्रणमा छ ।

चिनियाँ सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्यांकले उक्त प्रान्तमा २.९ प्रतिशत मृत्युदर रहेको र अन्यत्र शून्य दशमलव ४ प्रतिशत मात्रै मृत्युदर रहेको देखाएको छ । उक्त अध्ययनले समग्रमा कोभिड १९ को मृत्युदर २ दशमलव ३ प्रतिशत रहेको जनाएको छ । गत मंगलबार सार्वजनिक गरिएको चीनको पछिल्लो अधिकारिक तथ्यांकले ७२,४३६ संक्रमणका घटनामा १,८६८ जनाले ज्यान गुमाएका जनाएको छ ।

अधिकारीहरूले त्यसमा ९८ वटा नयाँ मृत्युका घटनाहरू समेटिएको र अघिल्लो दिन संक्रमणको केन्द्रमा रहेको हुबे प्रान्तमा १,८८६ वटा नयाँ घटना भेटिएको उल्लेख गरेका छन् । चिनियाँ अधिकारीहरूका अनुसार १२ हजारभन्दा बढी मानिसहरूलाई लागेको रोगको संक्रमण निको भएको छ ।

सोमबार प्रकाशित तथ्यांक चीनको इपिडिमियोलोजीसम्बन्धी जर्नलमा प्रकाशित छ, जसमा चीनभर फेव्रुअरी ११ सम्म पुष्टि भएका, शंका गरिएका र कुनै संकेत नदेखिएका तर कोभिड १९ पहिचान गरिएका सबै ७२,३१४ घटनाको विवरण उल्लेख गरिएको छ । उक्त अध्ययनले भाइरस र संक्रमणको फैलावट कम हुँदै गएको देखाएको छ । अध्ययनमा ४४,६७२ वटा संक्रमणका घटनाको विस्तृत विवरण समावेश छ ।

उक्त अध्ययनका केही निष्कर्ष अनुसार, झन्डै ८० दशमलव ९ प्रतिशत संक्रमणलाई मध्यम भनेर वर्गीकरण गरिएको छ, १३ दशमलव ८ प्रतिशतलाई कडा र ४ दशमलव ७ प्रतिशतलाई संवेदनशील भनिएको छ । ८० वर्ष र त्यसभन्दा बढी उमेर भएका मानिसमा १४ दशमलव ८ प्रतिशतको उच्च मृत्युदर देखिएको छ । ९ वर्षसम्मका बालबालिकाहरूको मृत्यु भएको छैन र ३९ वर्षको उमेरसम्ममा मृत्युदर शून्य दशमलव २ प्रतिशत रहेको छ ।

त्यसमाथिका उमेर समूहमा भने मृत्युदर क्रमशः बढ्दै गएको देखिएको छ । ४० देखि ४९ वर्षसम्मका मानिसमा मृत्युदर शून्य दशमलव ४ प्रतिशत, ५० देखि ५९ सम्मका मानिसमा १ दशमलव ३ प्रतिशत, ६० देखि ६९ सम्मका व्यक्तिमा ३ दशमलव ६ प्रतिशत र ७० भन्दा माथिको उमेरमा आठ प्रतिशत जोखिम रहेको पाइएको छ । लैंगिक अनुपातमा पुरुष (२ दशमलव ८ प्रतिशत) भन्दा महिला (१ दशमलव ७ प्रतिशत) कम जोखिम रहेको पाइएको छ ।

बिरामीमा भइरहेका स्वास्थ्य प्रतिकूलताका सम्बन्धमा उक्त अध्ययनले मुटुसम्बन्धी बिरामी बढी जोखिममा रहेको देखाएको छ । त्यसपछि मधुमेह, श्वासप्रश्वासको दीर्घरोग भएका र उच्च रक्तचापका बिरामी बढी जोखिममा रहेको पाइएको छ । उक्त अध्ययनमा हालसम्म ३,०१९ जना स्वास्थ्यकर्मीहरूमा संक्रमण देखिएको र त्यसमध्ये फेबे्रअरी ११ सम्म पाँच जनाको ज्यान गएको उल्लेख छ ।

उक्त अध्ययनले कोभिड १९ को प्रकोप २३ देखि २६ जनवरीसम्म बढेको र त्यसपछि ११ फ्रेवअरीसम्म घटेको उल्लेख गरेको छ । उक्त अध्ययनले प्रकोप घट्नुका पछाडि कैयौँ सहरहरूलाई एकअर्कासँग सम्पर्क विच्छेद गरिनु, हात धुने, मास्क लगाउने र उपचार खोज्ने विषयमा एकभन्दा बढी माध्यमहरूबाट सूचना सम्प्रेषण गरिनु र कैयौँ निकाय सम्मिलिन द्रुत प्रतिकार्य टोलीलाई महामारी नियन्त्रणका लागि परिचालन गरिनुलाई उल्लेख गरेको छ । चीनले उक्त संक्रमणलाई नियन्त्रणमा लिन हुबेलाई अन्य ठाउँबाट सम्पर्क विच्छेद गराइएको र देशभर आवतजावतमा कडा प्रतिबन्धहरू लागु गरेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले चीनमा कोरोनाभाइरसबाट संक्रमित हुनेहरूको संख्यामा कमी आएको भए पनि यसको अन्त्य कहिले होला भन्ने अनुमान गर्न अहिले ‘निकै छिटो’ हुने बताएको छ । चीनभन्दा बाहिर भेटिएका ४४१ संक्रमणका घटनामध्ये आठवटा बाहेक सबै संक्रमण कसरी सुरु भएको थियो भन्ने पत्ता लगाउन विश्व स्वास्थ्य संगठन सक्षम भएको त्यहाँभित्र स्वास्थ्य संकटको मामिला हेर्ने निकायका प्रमुख माइकल रायनले बताए ।

भाइरस पहिलोपटक देखापरेको हुबे प्रान्तबाहिर संक्रमणको गतिमा कमी आएको र नयाँ संक्रमितको संख्यामा पनि कमी आएकोले यो आश्वस्त पार्ने विषय भएको उनले बताए ।‘चीनमा बृहत् जनस्वास्थ्य अभियान सञ्चालन गरिएकोले यो भएको हो,’ उनले भने । विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक सौम्य स्वामीनाथनले चारवटा सम्भावित खोपको अनुसन्धानका लागि रकम जुटाइएको बताइन् । ‘मलाई लाग्छ हामीले खोप पत्ता लगाउँछौँ,’ उनले भनिन् –‘यसका लागि केही समय लाग्छ । रातारात खोप बनाउन सकिँदैन ।’

प्रतिक्रिया