आम्दानीको स्रोत बन्दै कुखुरा व्यवसाय

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका– ४ कुमालीकोटकी ३५ वर्षीया शारदादेवी विष्टले कुखुरापालन व्यवसायबाट राम्रो आम्दानी गर्न थालेकी छन । उनले एक वर्ष पहिलेदेखि उक्त व्यवसाय शुरु गरेकी हुन । कुखुरा व्यवसायबाट फाइदा भएको रकमले उनले एक छोरी बार्डिङ स्कुल पढाउनुका साथै घर खर्च राम्रैसँग धानेकी छन ।

उनी एक हातको अपाङ्गता भएकी महिला पनि हुन । वर्षाैँ पहिले दुर्घटनामा पर्दा उनको दाँहिने हात काटिएको छ । एक वर्ष पहिले अपाङ्ग सेवा संघ सिलगढीले १० हजारका उन्नत जातका कुखुराका चल्ला र १० हजार बराबरको खोर निर्माणका लागि आर्थिक सहयोग गरेपछि आफूले उक्त व्यवसाय शुरु गरेको कुखुरा व्यवसायी उनले बताईन् ।

हिजो आज कुखुरा किन्ने उनकै फार्ममा पुग्ने गरेका उनले जानकारी दिईन् । लोकल तथा उन्नत जातका कुखुरा भएका कारण ग्राहक खोज्नुपर्ने समस्या नभएको उनले बताईन । उनले लोकल कुखुरा जिउँदो प्रतिकिलो रु ६०० का दरले बिक्री गर्दै आएकी छन । उक्त व्यवसायबाट मासिक १५ देखि २० हजारको हाराहारीमा आम्दानी हुने गरेको उनले बताईन् ।

उनको फार्मले कुखुराका चल्लासमेत उत्पादन गर्दै आएको छ । अपाङ्ग सेवा संङले युएमनको आर्थिक सहयोगमा जिल्लामा रहेका विभिन्न अपाङ्गता भएका व्यक्तिका घर परिवारलाई आयआर्जनका लागि भन्दै सिलाइ मेसिन, कुखुरापालन व्यवसाय, बाख्रापालन व्यवसाय तथा घुम्ती कोषका लागि आर्थिक सहयोग दिँदै आएको अपाङ्ग सेवा संघकी कार्यक्रम संयोजक सीता राइमाझीले बताईन् ।

जिल्लामा अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाउने उद्देश्यले यो वर्ष पनि आर्थिक सहयोग दिने तयारी भई प्रस्ताव माग गरिएको कार्यक्रम संयोजक राइमाझीले बताईन् । अपाङ्ग सेवा संघले जीविकोपार्जनका लागि अपाङ्गता भएका व्यक्तिलाई व्यवसाय गर्न आर्थिक सहयोग गर्न थालेपछि यहाँका अपाङ्गता भएका व्यक्ति तथा परिवार निकै खुशी भएका छन् ।

प्रतिक्रिया