चक्लाबन्दी खेती सुरु

वालिङ । स्यांजाका तीन ठाउँमा चक्लाबन्दी खेती प्रणालीका लागि सम्झौता भई कार्यान्वयन थालिएको छ ।

गण्डकी प्रदेश सरकारले स–साना जमिनलाई एकीकृत गर्दै सामूहिक तरिकाबाट खेती प्रणाली अगाडि बढाउँदै थोरै लगानीमा धेरै उत्पादन लिने उद्देश्यले चक्लाबन्दी कार्यक्रमलाई अगाडि बढाइएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशका भूमि स्रोत नक्सांकन महाशाखा प्रमुख गंगालाल पोखरेलले बताए ।

‘चक्लाबन्दी प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि’ तयार गरी मन्त्रालयले प्रस्ताव माग गरेकामा गण्डकी प्रदेशका ११ जिल्लाका २० वटालाई छनोट भई सम्झौता गरी कार्यक्रम सञ्चालन भएको महाशाखा प्रमुख पोखरेलले बताए ।

‘चक्लाबन्दी कार्यक्रमका लागि स्यांजाका कृषि सहकारी तथा कृषक समूह गरी तीन वटा छनोट भएका छन्’, महाशाखा प्रमुख पोखरेलले भने, ‘छनोट भएका सहकारी तथा कृषक समूहसँग सम्झौता गरी कार्यक्रम अगाडि बढाएका छौँ ।’

चक्लाबन्दी कार्यक्रम लागू भएको जग्गामा एक वर्षमा कम्तीमा तीन बाली खेतीपाती गर्नुका साथै १० वर्ष जग्गा प्लटिङ गरी आवास निर्माण गर्न नपाइने शर्त पालना गर्नुपर्ने उनले बताए ।

चक्लाबन्दी कार्यक्रमका लागि पहाडी भू–भागमा ४० रोपनीभन्दा धेरै जमिन हुनुपर्ने छ । ‘कार्यक्रम लागू भएसँगै कृषिमा हुँदै आएको लागत घट्ने, खेतबारी बाँझो नहुने, सामूहिकरूपमा गर्दा सहज हुने, आधुनिक कृषि यन्त्र उपकरणको प्रयोग गरी लागत कम गर्न सकिने, जमिनको खण्डीकरण रोकिने र रोजगारीका अवसर सिर्जना हुनेछन्’, महाशाखा प्रमुख पोखरेलले भने ।

प्रदेशका ११ जिल्लाका २० सहकारी तथा कृषक समूह गरी झण्डै तीन हजार रोपनी क्षेत्रफलमा पहिलो चरणमा कार्यक्रम सञ्चालनमा छ । स्याङ्जाका तीन ठाउँमा कार्यक्रम सम्झौता भई कार्यान्वयनको अवस्थामा छ । जिल्लाको पुतलीबजार नगरपालिका–४ को गोठिङ कृषक समूह, पुतलीबजार–४ कै ठूलीबेँसी कृषक समूह र वालिङ–९ को सप्तरंगी कृषि सहकारी संस्थाले कार्यक्रम सुरु गरेका छन् ।

गोठिङ कृषक समूहमा १६० किसानको ३१० रोपनी जग्गामा चक्लाबन्दी कार्यक्रममार्फत सामूहिकखेती थालिएको पुतलीबजार–४ का वडाध्यक्ष ओमबहादुर खड्काले बताए । चक्लाबन्दी कार्यक्रम लागू भएको जमिनको क्षेत्रफलका दृष्टिले सबैभन्दा ठूलो र पहिलो गोठिङ कृषक समूह भएको वडाध्यक्ष खड्का बताए ।

त्यस्तै, पुतलीबजार–४ कै ठूलीबेँसीमा ३०० रोपनी क्षेत्रफलमा चक्लाबन्दी कार्यक्रम सम्झौता भई सामूहिक खेती प्रणाली सुरु भएको छ । वालिङ–९ भुम्रेमा रहेको सप्तरंगी कृषि सहकारी संस्थाले वालिङ–१४ को पेखु ठानामा १५ वर्षका लागि ३५५ रोपनी जग्गा भाडामा लिए पनि ५० रोपनी स्वीकृति भई कार्यक्रम सुरु भएको संस्थाका अध्यक्ष ताराप्रसाद भुसालले बताए ।

प्रतिक्रिया