धनियाँ खेतीबाट मनग्गे आम्दानी

म्याग्दी । दाल, तरकारी र मासुका परिकारलाई स्वादिष्ट तथा सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले एकै सिजनमा एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । म्याग्दीको बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको खेतमा व्यावसायिक रूपमा गरेको धनियाँ खेतीबाट एकै सिजनमा रू डेढ लाख पैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका हुन । कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खेती गरेका छन् । धनियाँका साथमा ब्रोकाउली, बन्दा, टमाटर, काउली, गाजर, केराउलगायत तरकारी खेती गरेका कार्कीले धनियाँ बेचेर मात्र वार्षिक तीन लाखभन्दा बढी आम्दानी भएको बताए । कृषक कार्कीले एक वर्षमा हिउँद र वर्षा गरी दुई सिजनमा तरकारीका साथै धनियाँ खेती गर्छन् ।

सात सयको बिउ र चार हजार बराबरको श्रम खर्चेर धनियाँ खेती गर्नुभएको कृषक कार्कीले एकै वर्षमा धनियाँ बिक्रीबाट तीन लाखभन्दा बढी आम्दानी भएपछि खेती विस्तार गर्ने योजनामा रहेको बताए । ‘बिउ र शारीरिक श्रम गरी कूल चार हजार ७०० को लगानी गरेको हुँ’, कार्कीले भने, ‘एक वर्षको अवधिमा रू तीन लाखभन्दा बढीको बिक्री भयो, अझै खेतका गह्राभरि धनियाँ छ ।’ म्याग्दीको पर्यटकीयस्थल लभ्ली हिल नजीकै कार्कीले पसल र तरकारी खेती गरेका छन् । लभ्ली हिलमा आन्तरिक पर्यटकहरूको वृद्धिसँगै कार्कीको कृषि उपजको पनि त्यतिकै बिक्री बढ्ने गरेको छ ।

लभ्ली हिलमा आएका युवायुवती, गृहिणी र लोग्नेमान्छेले समेत बारीबाट नै ताजा तरकारी आफैँ टिपेर लैजाने गरेका कार्कीले बताए । ‘अहिले अरू तरकारी सकिएको छ तर धनियाँ भने प्रशस्तै छ’, कार्कीले भने । कार्कीले धनियाँको एउटा मुठोलाई रू २० देखि ३० सम्ममा बिक्री गर्दै आएका छन् । कार्कीको खेतबाट नै दैनिक ५० देखि ८० मुठा धनियाँ बिक्री हुने गरेको उनले बताए ।

प्रतिक्रिया