मच्छिन्द्रसहित १० क्लब माइभ्यालीमा

इलाम । पूर्वी पहाडको सवैभन्दा बढी राशिको माइभ्याली गोल्डकपको छैटौँ संस्करणमा ए डिभिजन लिग च्याम्पियन मछिन्द्र र उपविजेता त्रिभुवन आर्मीसहित १० टिम भिड्ने भएका छन् । आगामी फागुन १५ देखि २५ गतेसम्म हुने प्रतियोगिताको लागि तीन ’ए’ डिभिजन क्लब र चार विदेशीसहित १० टिम सहभागी गराइने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिइसकेको थियो । यद्यपि सहभागी सबै टिमको नाम भने सार्वजनिक भएको थिएन ।

माइभ्यालीको छैटौँ संस्करणमा शहिद स्मारक ’ए’ डिभिनज लिग विजेता मछिन्द्र र उपविजेताको आर्मीका अतिरिक्त ’ए’ डिभिजनको क्लब संकटा र रुपन्देहीको गोर्खा ब्वाइज क्लब सहभागी हुने माइभ्याली फुटबल क्लबका अध्यक्ष धीरेन चेम्जोङले बताए । यस वर्षको संस्करणमा विदेशी टोलीको रूपमा भारतका चारवटा क्लब सहभागी हुँदैछन्। अघिल्लो संस्करणमा सहभागिता जनाएको दार्ज्लििङसहित केरला, नागाल्यान्ड र कोलकत्ता प्रिमियर लिग क्लब मोहम्मडेन स्र्पोटिङ सहभागी हुनेछन् ।

घरेलु टोली माइभ्याली र झापा ९११ ले प्रतिस्पर्धा गर्नेछन् । आयोजकले विदेशी टोलीको रुपमा जापानीज युनिभर्सिटी र भुटानको लिग च्याम्पियन पारो एफसीलाई सहभागी गराउने चाहेपनि कोरोना भाइरसका कारण उनीहरुलाई देश बाहिर जान नदिएको चेम्जोङले बताए । यो वर्ष माइभ्याली गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । गोल्डकपको टाइटल स्र्पोन्सरको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकलको सट्टामा नगद १ लाख २५ हजार प्रदान गरिने भएको छ ।

यसअघिका ३ संस्करणबाट मोटरसाइकल वा स्कुटर प्रदान गरिँदै आएको थियो । हालसम्म सो पुरस्कार आर्मीका विङगर विवेक बस्नेत, मनाङका कप्तान विराज महर्जन र हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीले पाएका थिए । २०७१ सालदेखी निरन्तर संचालन हुँदै आएको माईभ्याली गोल्डकपको उपाधी झापा–११ ले २ संस्करण जितेको थियो । त्यसैगरी त्रिभुवन आर्मी, थ्रीस्टार र क्यामरुनी क्लब दाफिन्सले १र१ संस्करण जितेका थिए । आयोजकले प्रतियोगिताको लागि १० हजार बढी दर्शक अटाउने बासको प्यारापिट बनाउने कामलाई तीव्र पारिएको छ ।

प्रतिक्रिया