बस्ती सुनसान, संस्कृति जोगाउन हम्मे

हुम्लाका उच्च हिमाली क्षेत्रका लामाबस्ती यतिवेला सुनसान हुन थालेका छन् । चिसो अत्यधिक बढेपछि नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका लामा समुदाय बसोबास गर्दै आएका बस्तीहरू सुनसान भएका हुन् । उत्तरी नाम्खा गाउँपालिकाको वडा ६ का तिल जांघ, हल्जि र लिमीका बासिन्दाहरू चिसो छल्न र व्यापार व्यवसाय गर्न जिल्लाबाहिर निस्किएका हुन् ।

जिल्लाका उत्तरी सीमा क्षेत्रमा रहेका प्रहरी चौकी सदरमुकाम सिमकोट सारिएका छन् । नाम्खा गाउँपालिकाका हिल्सा प्रहरी चौकी र लिमी प्रहरी चौकी जिल्ला सदरमुकाम सिमकोट आइपुगेका छन् । हिल्सामा होटेल व्यवसाय गर्दैआएका व्यवसायीहरू पनि चिसो छल्न बेंसीतिर झरेका जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । उत्तरी नाम्खा गाउँपालिकाका तिल, जाङ्ग, हल्जि गाउँमा हिमपात भएको छ । लेकमा रहेका भेडीगोठ बेंसी सारिएका छन् ।

तिब्बतबाट बहने चिसो सिरेटोका कारण बिहान, बेलुका, घाम नलागेको दिन र रातको समयमा बढी चिसो हुने गरेको त्यहाँका स्थानीय बासिन्दाले बताउने गरेका छन् । हरेक वर्ष मंसिरको दोस्रो सातासम्म उपल्लो हुम्लीहरू सबै बेंसी झर्ने गर्दछन् । चिसो छल्न निस्किएका यहाँका स्थानीय बासिन्दा र प्रहरी चौकी कार्यालय फागुन, चैततिर पुनः गाउँ फिर्ता हुने गर्दछन् ।

लिमाटाङ गाउँ नै सुनसान
सिमकोट गाउँपालिका वडा नं ३ (साविक ७, ८ र ९) मा पर्ने लिमाटाङ गाउँ सुनसान बनेको छ । कुल ४५ घरधुरी रहेको लिमाटाङ गाउँमा एक जना घर कुरुवाबाहेक दुई÷तीन वर्षयतादेखि अरु कोही पनि नबसेको स्थानीयवासी ज्याम्फाल लामाले बताए । वृद्ध लामाका अनुसार आफ्नो परिवारका सबै सदस्य सहर पसेपछि उनी एक्लो घर कुरेर बसिरहेका छन् । धार्मिक आस्था र परम्परालाई भुल्न नसकेर र घर, जग्गा एवं पशुवस्तुको मायाले गाउँ छोड्न नसकेको उनले बताए ।

आफू जवान हुँदा ५० देखि ६० वटासम्म चौरी पालेको अनुभव सुनाउने लामाले यतिवेला गाउँमा चौंरीको नाम लिने मान्छे नै नभएको बताए । लिमाटाङ गाउँका अधिकांश स्थानीय बासिन्दाले चौरी, भेँडा, घोडा, खच्चर पाल्न छाडेका छन् ।

उच्च हिमाली क्षेत्रमा बस्दैआएका लामाहरू भेँडाबाख्रा पाल्ने र मंसिर महिनातिर अछाम झरेर चामल, गहुँ, भटमास जस्ता खाद्यान्न खरिद गरेर लैजाने गर्छन् । उनले भने– ‘हाम्रो पालामा सबैका घरमा भेँडाबाख्रा हुन्थे र अहिले सबैले बिक्री गर्दै गाउँ छाडेका कारण भेँडाबाख्रा देखिन छोडेका छन् ।’ कतिपय हिउँदको समयमा भोट जान्थे र भोट जाने भोटे भएकाले उनीहरूले भोटे भनेर सम्बोधन गरिन्थ्यो ।

लामाले भने– ‘सबैले सहर रोजेपछि अहिले गाउँमा रहेका जग्गा र अधिकांश घर दलित समुदाय र छिमेकी गाउँका बासिन्दाले चर्चेर आएका छन् । उहिले हामी पढाइभन्दा पनि सम्पत्ति कसरी आर्जन गर्न सकिन्छ भन्ने सोच्थ्यौँ, त्यही बाउबाजेको पेसालाई अँगाल्याँै । अहिले सबैका छोराछोरी पढलेख गरेर शिक्षित बने । हामीले जस्तो दुःख गर्न चाहेन र सहर पसे ।’

संस्कृति जोगाउन मुस्किल
लामा समुदायको पहिचान काम्लो, रातो काम्लो, बोख्खु, खुट्टामा पुरुषले लगाउने दोच्छा, महिलाले लगाउने लाम, मोजासमेत गाउँमा देखिन छोडेको छ । भेँडाबाख्राको ऊनबाट हातले आफैँले बुनेका यी सामग्रीको अहिले महँगो मूल्य पर्ने गरेको लामाले बताए । लामाले भने– ‘हिउँदको समय सुरु भएपछि पुरुषहरू ऊन कात्ने र महिलाहरू चान बुन्ने गर्दथे तर, अहिले यो परम्परा हराएको छ ।’ सहरबाट भित्रिने कपडाले स्थानीय उत्पादनलाई विस्थापित गरिसक्यो ।

लिमाटाङ गाउँमा हुने गहुँ, जौ, तीतो फापर, फापर, कालो जौ, आलु, कोदोका बालीहरू पनि लगाउन छाडिए । गाउँमा खनजोत गर्ने मान्छे नै भेटिन छाडेका छन् । आफूहरूले प्रयोग गर्ने काठका भाँडाकुँडासमेत हराउन थालेको उनले बताए । उनले भने– ‘एक चिण्डो जाँड, टसि खादक लिएर मागी बिहे गर्ने चलन पनि हराइसक्यो ।’

प्रतिक्रिया