अर्थबजार

साँफे–मार्तडी सडकमा नयाँ भाडादर कायम

सौर्य अनलाइन २०७६ मंसिर २३ गते १०:१९ मा प्रकाशित

बाजुरा । मार्तडीदेखि अछामको साँफे बगरसम्मको नयाँ भाडादर निर्धारण गरिएको छ । कूल ५७ किलोमिटर सो सडक खण्डको भाडादर १६५ रुपैयाँ कायम गरिएको छ यस अघि जीपले रु ६०० र बसले रु ५०० भाडा लिँदै आएका थिए ।

यातायात व्यवस्था विभागकै परिपत्रअनुसार नयाँ भाडादर कायम गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिए । उनले भने, ‘अब यात्रुले मार्तडीदेखि साँफेबगरसम्म रु १६५ भाडा तिरे पुग्छ । नयाँ भाडादरअनुसार यात्रु नबोकेमा र भाडा पुरानै लिइएको पाइएमा कारवाही गर्छौ ।’

जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण व्यवसायी सम्बद्ध संस्थाका प्रतिनिधिलाई भाडादरबारे जानकारी गराई कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ । बाइस वर्षपछि निर्माण सम्पन्न भएको सो सडकमा कालोपत्रे भइसक्दा पनि महँगो भाडा तिर्न बाध्य थिए । अव साँफेसम्मको भाडा घटेसँगै एक हजार ३०० रहेको धनगढीसम्मको भाडामा ३३५ झर्ने भएको छ ।

मार्तडी साँफेसम्मको ५७ किलोमिटर र साँफेदेखि धनगढीसम्मको २६० किलोमिटर सडकमा बराबरी भाडा थियो । कच्ची बाटोकै बाहनामा व्यवसायीले मार्तडी कोल्टी ४३ किलोमिटरमा ८००, मार्तडी डोगडी करिब ३६ किलोमिटरमा ७०० भाडा उठाउँदै आएका छन् ।

प्रतिक्रिया