साग महिला फुटबल : नेपाललाई स्वर्ण जित्ने अवसर

काठमाडौं । तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको लिग चरणको शनिबार नेपाल र भारतबीचको स्पर्धापछि ‘पोस्ट म्याच कन्फ्रेन्स’मा भारतीय टोलीका प्रशिक्षक मेयामल रकीले भनेका थिए, ‘आजको खेल ५०/५० को रह्यो हामीले पाएको अवसरलाई सदुपयोग ग¥यौँ र आफ्नो पक्षमा नतिजा ल्यायौँ ।’

भारतीय प्रशिक्षकको भनाइलाई नै आधार मान्ने हो भने पनि नेपाल र भारतबीचको खेल जहिले पनि प्रतिस्पर्धापूर्ण हुन्छ र जसले पाएको अवसरको राम्रोसँग सदुपयोग गर्छ उही टोली खेलमा विजयी हुन्छ । महिला तथा पुरुष दुवैको उमेर समूहदेखि राष्ट्रिय टोलीसम्मको स्पर्धाको नतिजामा नेपालमाथि भारत हाबी हुँदै आए पनि यी दुई देशबीचको खेल जहिले पनि रोचक र स्पर्धापूर्ण रहने गर्दछ ।

त्यसैले पनि जारी साग खेलकुदअन्तर्गत महिला फुटबलको स्वर्ण पदकका लागि सोमबार आयोजक नेपाल र भारतबीच पोखरा रंगशालामा हुने खेल अत्यन्त प्रतिस्पर्धापूर्ण रहने भनाइ दुवै टोलीका प्रशिक्षकको छ । खेल प्रतिस्पर्धापूर्ण रहने भएकाले स्वर्ण पदकको हकदार को बन्छ भन्नेमा खेलअघि नै अनुमान लगाउन कठिन हुन्छ । सोमबारको खेलमा नेपाल अघिल्लो संस्करणको फाइनल तथा दुई दिनअघि लिग चरणको खेलमा १–० को नतिजामा भएको हारको बदला लिएर स्वर्णपदक जित्दै इतिहास रच्ने दाउमा रहनेछ । अन्तर्राष्ट्रिय स्पर्धामा जहिले पनि भारतसँग पराजित हुँदै आएको अवस्थालाई तोड्ने लक्ष्यसहित नेपाली टोली मैदानमा उत्रिने छ ।

घेरलु मैदान र दर्शकको बाक्लो उपस्थितिले टोलीको मनोबल उच्च बनाउने छ भने दुई दिनअघिको खेलमा भएको गल्तीलाई सुधार गर्दैै आफू अनुकूलको नतिजा ल्याउने अवसर नेपाललाई छ । नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले अघिल्लो खेलमा भएको गल्तीलाई सुधार गर्दै स्वर्ण पदकका लागि स्पर्धामा उत्रिने बताए । भारत नेपालका लागि नौलो प्रतिद्वन्द्वी नरहेको उल्लेख गर्दै उनले भने, ‘खेलमा हुने गल्तीलाई कम गर्दै विपक्षीको गल्तीलाई सदुपयोग गरेर स्वर्ण जित्ने गरी खेल्ने छौँ । घरेलु मैदानमा भारतलाई हराउन हामी सक्षम छौँ ।’

जारी सागमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ३–० तथा श्रीलंकालाई १–० गोल अन्तरले पराजित गरेको थियो भने भारतसँग १–० को अन्तरले पराजित भएको थियो । भारतले श्रीलंकालाई ६–०, माल्दिभ्सलाई ५–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया