माल्दिभ्सविरुद्ध नेपालको पुनरागमन

काठमाडौं । नेपाली पुरुष फुटबल टोलीले माल्दिभ्सविरुद्ध उत्कृष्ट पुनरागमन गराउँदै स्वर्ण पदकको आशालाई कायमै राखेको छ । तीन खेलमा अपराजित रहेको नेपाल माल्दिभ्सविरुद्ध २–१ को जित निकाल्दै फाइनलको स्थान सुरक्षित गराउन अग्रसर भएको हो ।  दशरथ रंगशालामा शनिबार भएको लिग चरणको तेस्रो खेलमा नेपाल माल्दिभ्सविरुद्ध उत्रिएको थियो । केही अनुभवी र अधिकांश युवा अनुहार लिएर मैदान उत्रिएको नेपाल दबाबमा देखिएको थियो ।

केही सुनौला अवसर खेर फाले पनि माल्दिभ्सको सटिक पासका अगाडि नेपाली खेलाडी हडबडाएका देखिन्थ्ये । लामो पासमा विश्वास लिएको नेपाली टोलीका पासहरू प्रायः खेर गएका थिए । खेलको १९ औँ मिनेटमा पुग्दासम्म नेपालले एक गोल खान पुग्यो । कर्नर किकमा नेपाली खेलाडीलाई बल क्लियर गर्न नसक्दा अनमार्कमा रहेका इब्राहम हुसेनले गोल गरेर माल्दिभ्सलाई अग्रता दिलाएका थिए ।

पहिलो गोल खाएपछि ठूलो संख्यामा उपस्थित भएका नेपाली दर्शक केही निराश देखिन्थे । तर, बेला बेलामा नेपालले बुनेका आक्रमक प्रयासपछि दर्शकले खेलाडीलाई हौसला दिलाइरहन्थे । नेपालका दुई वटा आक्रमण विपक्षीको गोलपोस्टमा लागेर फर्किएको थियो । कप्तान सुजल श्रेष्ठको प्रहार गोल किपरलाई बिट भइसकेको अवस्थामा माथिल्लो पोस्टमा लागेर फर्किएको थियो ।

नेपालले त्यसपछि पनि निरन्तर दबाब भने दिइरहेको थियो । तर, माल्दिभ्सबाट हुने आक्रमणलाई भने किपर विकास कुथुले बचाएका थिए । तर, पहिलो हाफ सकिन २ मिनेट बाँकी छँदा अभिषेक रिजालले बराबरी गोल फर्काए । उनले ४२ औँ मिनेटमा डिबक्सबाट प्रहार गरेको बल उत्कृष्ट गोलमा परिणत भएको थियो । पहिलो हाफमा दुवै टोलीले एक एक गोलको बराबरी खेले ।

दोस्रो हाफमा भने नेपालले सुधारिएको प्रर्दशन गरेको थियो । नेपालले दोस्रो हाफको सुरूआतमै अग्रता लिन सफल भयो । एक गोलले पछाडि रहेको अवस्थामा नेपालले दुई गोलको अग्रता लिएपछि दर्शकले झनै हौसला थपे । अनन्त तामाङले ५२ औँ मिनेट गोल गरेका हुन् । उनले कर्नर किकलाई हेडमार्फत माल्दिभ्सको गोलपोस्टमा छिराएका थिए ।

२–१ ले अघि बढेपछि थप गोल हुन सकेन र नेपाल विजयी भयो । जितसँगै नेपालको फाइनल यात्रा सहज भएको छ । तीन खेलबाट ७ अंक जोडेको नेपाल तालिकाको दोस्रो स्थानमा छ । लिगचरणको अन्तिम खेलमा नेपालले आइतबार बंगलादेशको सामना गर्दैछ । यता, श्रींलकामाथि ३–० को सनसनी जित निकाल्दै भुटान शीर्ष स्थानमा उक्लिएको छ । चार खेलबाट ९ अंकका साथ भुटान शीर्ष स्थानमा उक्लिएको हो ।

प्रतिक्रिया