‘दबंग ३’ राम्रो चलचित्रः अक्षयकुमार

मुम्बई । डिसेम्बरको अन्त्यतिर बलिउडमा दुई चलचित्रबीच कडा टक्कर हुने भएको छ । बलिउडमा पछिल्लो समय सफल चलचित्र दिँदै आएका बलिउडका दुई अभिनेता सलमान खान र अक्षयकुमारका चलचित्रबीच भिडन्त हुने भएको हो ।

सलमान अभिनीत बहुचर्चित ‘दबंग ३’ र अक्षकुमार अभिनीत ‘गुड न्युज’ डिसेम्बरबाट सार्वजनिक प्रदर्शनमा आउने पक्का भएको छ । ‘दबंग ३’ डिसेम्बर २० र ‘गुड न्युज’ डिसेम्बर २७ बाट प्रदर्शनमा आउने तयारीमा छन् ।

यी दुवै चलचित्रबीचको टक्करलाई लिएर बलिउडमा विभिन्न अड्कलबाजी गरिन थालेको छ । तर, सलमानको ‘दबंग ३’ लाई लिएर ‘गुड न्युज’ अभिनेता अक्षयकुमारले सकारात्मक प्रतिक्रिया दिएका छन् । उनले ‘दबंग ३’ राम्रो चलचित्रको र यसलाई दर्शकले मनपराउने प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘दबंग एक राम्रो चलचित्र हुनेछ । यो पक्का छ कि यो खराब हुनेछैन । किनभने मैले प्रभु देवासँग पनि काम गरेँ । उनले राम्रा फिल्म बनाउँछन् र यो फिल्म पनि राम्रो छ ।’

दबंग ३ प्रदर्शनमा आएको एक हप्तामै गुड न्युज प्रदर्शनमा आउँदै छ । सो दिन अभिनेता खानको जन्मदिन पनि हो । अर्को कुरा अक्षयले अभिनेत्री सोनाक्षी र प्रभु देवासँग ‘राउडी राठौर’ मा काम गरिसकेका छन् । सोनाक्षी, प्रभु देवा र सलमानले ‘दबंग ३’ मा काम गरेका छन् ।

त्यस्तै सलमान र अक्षयले ‘मुझसे सादी करोगी’, ‘जानेमन’ लगायतका केही चलचित्रमा सँगै काम गरिसकेका छन् । अक्षय कुमारको ‘गुड न्युज’ मा अभिनेत्री करिना कपूर, दिलजीत दोसाझ, कियारा आडवाणी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । ‘दबंग ३’ मा अभिनेत्री सोनाक्षी सिन्हा, साई मांजरेकर, महेश मांजरेकर र किचा सुदीप लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

प्रतिक्रिया