काठमाडौँ । सांगीतिक जोडी अस्मिता अधिकारी र महेश काफ्ले अमेरिकाका २० बढी सहरमा गुञ्जिने भएका छन् । उनीहरूको संयुक्त सांगीतिक कार्यक्रम ‘सोलफुल युएसए यात्रा’ घोषणा भएको हो । सो सांगीतिक यात्रा आगामी अगस्टदेखि अक्टोबरसम्म संयुक्त राज्य अमेरिकाका २० भन्दा बढी विभिन्न सहरमा आयोजना हुनेछ ।
ओनेस्ट रियल इस्टेटुको प्रस्तुति र थ्रीई इन्टरटेन्मेन्टुको व्यवस्थापनमा यो यात्रा कोलम्बस, ओहायो, मियामी, फ्लोरिडा, ब्रानफोर्ड, कनेक्टिकट, एसबर्न, भर्जिनिया, ल्यान्कास्टर, पेन्सिलभेनियालगायत अमेरिकाका २० भन्दा बढी सहरमा हुनेछ ।
महेश र अस्मिताको राम्रो डिमान्ड भएकाले यो सांगीतिक यात्रा आयोजना गर्न लागिएको थ्रिई इन्टरटेन्मेन्टका नेपाल प्रतिनिधि अन्जान बुढाथोकीले जानकारी दिए । महेश र अस्मिताले आफूहरू यो सांगीतिक यात्राका लागि निकै उत्साहित रहेको बताए । अमेरिकामा रहेका नेपालीमाझ आफ्ना गीत सुनाउने मौका भन्दै उनीहरूले खुसी व्यक्त गरे ।
महेश र अस्मिताको संयुक्त गायनमा रहेका ‘लज्जावती झार’, ‘नाच फिरिरि’ र ‘लाइटरले बिडी सल्केको’जस्ता गीत हिट छन् । थ्रिई इन्टरटेन्मेन्टले धेरै ठुला कन्सर्ट, टुर र सांस्कृतिक कार्यक्रम आयोजना गर्छ ।
थ्रिईले यसअघि आनी छोइङ डोल्मा, अभया एन्ड द स्टिम इन्जिन्स, कालीप्रसाद बाँस्कोटा, इन्दिरा जोशी, प्रमोद खरेल र अञ्जु पन्तजस्ता चर्चित नेपाली कलाकारलाई पनि सांगीतिक प्रस्तुतिका लागि अमेरिका टुर गराइसकेको छ ।
प्रतिक्रिया