नेपाल १० विकेटले पराजित

पोखरा । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) महिला टि ट्वान्टी क्रिकेटअन्तर्गत दोस्रो खेलमा नेपाल बंगलादेशसँग १० विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको ५१ रनको सामान्य लक्ष्य बंगलादेशले ७ दशमलव ४ ओभरमा कुनै विकेट नगुमाई पूरा ग¥यो । बंगलादेशकी ओपनर मुर्सिदा खातुन २३ र आयशा रहमान २६ रनमा अविजित रहिन् । यो जितसँगै बंगलादेश फाइनल नजिक पुगेको छ । पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ७ विकेटले हराएको थियो । त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको नेपाल १९ दशमलव २ ओभरमा ५० रनमा अल आउट भएको थियो ।

नेपालले पहिलो ओभरको पाँचौ बलमा ओपनर काजल श्रेष्ठलाई शून्यमा गुमाएको थियो । काजललाई जहानारा आलमलले बोल्ड आउट गरिन् । जहानाराले पाँचौँ ओभरको पहिलो बलमा अर्की ओपनर सिता राना मगरलाई ३ रनमा बोल्ड आउट गरिन् । तेस्रो विकेटका लागि कप्तान रुबिना क्षेत्री बेलबासे र सोनु खड्काले २० रनको साझेदारी गरेका थिए । नवौँ ओभरको तेस्रो बलमा सोनुलाई फहिम खातुनले १२ रनमा रबेया खानबाट क्याच आउट गराइन् । रबेयाले रुबिनालाई १४ ओभरको दोस्रो बलमा १३ रनमा आउट गरेपछि नेपाल संकटमा परेको थियो ।

नेपालको विकेट पतन निरन्तर गुमि रह्यो । इन्दु बर्मा १०, ममता चौधरी १, करुण भण्डारी सरिता मगर र अञ्जली चन्दले खाता खोल्नै सकेनन् । अप्सरी बेगम ५ रनमा आउट भइन् । बंगलादेशकी रबेया खानले ४ ओभरमा २ मेडन सहित ८ रन खर्चेर ४ विकेट लिइन् । जहानारा आलमले ३ ओभरमा १ मेडन सहित ३ रन खर्चेर २ विकेट लिइन् । सलमान खातुन, नैहिदा अख्तर र फहिम खातुन १–१ विकेट लिए । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १० विकेटले हराएको थियो । नेपालले तेस्रो तथा अन्तिम खेल शुक्रबार श्रीलंकासँग खेल्ने छ ।

प्रतिक्रिया