तौल घटाउन सिकेको कराँतेले जितायो स्वर्ण

काठमाडौं । तौल घटाउन सिकेको कराँतेले उदयपुरकी अनुपमा मगरलाई १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक दिएको छ । माओवादी युद्धकालमा जंगलमा ग्रिनेड र गोली बोक्दै हिड्ने उनी सौखले कराँतेमा आएकी भने होइन् ।

कक्षा ५ मा पढ्दा पढ्दै घरपरिवारको इच्छाविपरीत अनुपमा १४ वर्षकै उमेरमा माओवादीमा प्रवेश गरेकी थिइन् । त्यसमा उनले युद्धको लागि केही समय आवश्यक गोली, बारुद, ग्रिनेड बोकेर हिड्नि । शान्तिप्रक्रियामा आएपछि उनको तौल ६१ केजी पुग्यो । ब्यारेकमा बस्दा उनको तौल अझै बढ्ने देखेपछि उनले व्यायमका रूपमा कराँतेलाई रोजिन् । सिन्धुली शिविरमा रहेकी उनले कमल वाइवासँग कराँते सिकेर तत्कालीन माओवादीको पिएलएको खेलाडी भइन् । पाँचौँ राष्ट्रिय खेलकुदमा कांस्य पदक हात पारिन् ।

उनकी आमा बितेपछि घरलेखानी फर्किएर आमाको काम सकेपछि पुन शिविर फर्किन् । तर, त्यहाँ बस्न मन नभएपछि उनी काठमाडौं आएर बालाजु डोजोमा प्रशिक्षक ध्रुवबिक्रम मल्लसँग कराँतेलाई अझ निखारेर लगिन् । सातौँ राष्ट्रियमा रजत र आठौँ संस्करणमा स्वर्ण पदक जितिन् । कोरिया पुगेर पनि एसियाली खेलकुद (सन् २०१४) मा पहिलो चरणमै नकआउट भएकी अनुपमाले १३ औँ सागमा भने सनसनीपूर्ण प्रदर्शन गर्दै स्वर्णपदक चुमेकी छन् ।

उनले एसियाली खेलकुद २०१८ मा कांस्य जितेकी पाकिस्तानी हमिदुल्लाह नारगिसलाई फाइनलमा हराएर ६८ केजीमाथिको स्पर्धामा स्वर्ण कब्जा गरेकी हुन् । त्यसअघि उनले दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा पहिलो भएकी श्रीलंकाली खेलाडीलाई पराजित गरेकी थिइन् ।

फाइनल खेल्नुअघि उनको भेट श्रीलंकन खेलाडीसँग भयो, जोसँग हालै मात्र बंगलादेशमा भएको पाँचौँ साउथ एसियन च्याम्पियनसिपमा फाइनलमा पराजित भएकी थिइन् । सेमिफाइनल जित्न सके स्वर्ण जित्छु भन्ने लागेको उनले बताइन् । ‘बंगलादेशमा एक अंकले हारेकी थिएँ । त्यसैले डाउट थियो, तर सफल भएँ,’ उनले भनिन् । फाइनलमा पाकिस्तानकी खेलाडीसँग भेट भयो ।

उनीसँग यसअघि कहिल्यै खेलेकी थिइनन् । त्यसमाथि उनी एसियन गेम्सको पदकधारी खेलाडी पनि हुन् । ‘ऊसँग कहिल्यै खेलेको थिइनँ । कस्तो होला भन्ने थियो’ स्वर्ण जितेपछि खुसी हुँदै उनले सुनाइन्, ‘सेमिफाइनलमा श्रीलंकनलाई हराएपछि होप त थियो ।’ फाइनल आफूले सोचेभन्दा राम्रो भएको उनले सुनाइन् ।

२८ वर्षीया उनले यो स्वर्ण आफ्नी दिवंगत आमालाई समर्पण गरेकी छन् । आफूलाई परिवार र दाइको सहयोग रहेको भन्दै उनले अघि भनिन्, ‘अबको लक्ष्य भनेको ओलम्पिक हो ।’

प्रतिक्रिया