उपनिर्वाचनः साढे ६५ प्रतिशत मत खस्यो

काठमाडौं । ५२ पदका लागि शनिबार भएको निर्वाचनको मत परिणाम आउन थालेको छ । कम मत खसेको वडाका मतपरिणाम शनिबार साँझदेखि नै आउन थालेको हो ।

निर्वाचन आयोगका अनुसार अघिल्लो निर्वाचनभन्दा यसपटक कम मत खसेको छ । शनिबारको निर्वाचनमा ६५.४३ प्रतिशत मत मात्र खसेको छ । रौतहट र हुम्लामा ८५ प्रतिशत मत खसेको छ भने रोल्पाको थवाङमा वडाध्यक्षका लागि भएको मतदानमा १६.४ प्रतिशत मात्रै मत खसेको छ । ३७ जिल्लाका विभिन्न ५२ पदका लागि शनिबार भएको निर्वाचनमा उत्साहजनक मत खसेको दाबी भने आयोगले गरेको छ । तीनै तहका रिक्त पदका लागि चार लाख ५४ हजार मतदाता थिए । तीमध्ये दुई लाख ९७ हजार मत खसेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शनिबार साँझ पत्रकार सम्मेलन गर्दै उपनिर्वाचनमा मतदाताको उत्साहपूर्ण सहभागिता रहेको दाबी गरे । ‘मतदाताको व्यापक उत्साहपूर्ण सहभागिता रह्यो,’ उनले भने । मतदानका क्रममा कास्की, लम्जुङलगायत ठाउँमा बम बिस्फोट भए पनि खासै असर नपरेको उनको भनाइ छ । आयोगले मतदाता परिचय पत्र नभए पनि अन्तिम मतदाता नामावलीमा नाम भएका मतदातालाई नागरिकता वा राहदानीलगायत परिचय पत्रबाट पनि मतदान गर्न दिएको थियो । ‘७० प्रतिशत मत खस्छ भन्ने आँकलन थियो,’ उनले भने ।

स्थानीय तहका सदस्यतर्फ धरान उपमहानगरपालिकाको प्रमुखका लागि भएको मतदानमा ५९ प्रतिशत, फाल्गुनन्द गाउँपालिकामा ६६ प्रतिशत, मकालु गाउँपालिकामा ६५, पिपरा गाउँपालिकामा ६० प्रतिशत मत खसेको आयोगले जनाएको छ । यी तीन गाउँपालिकामा अध्यक्षका लागि मतदान भएको थियो । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भएको मतदानमा ८५ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

कास्कीमा ६५ प्रतिशत मतदान
प्रतिनिधिसभाको एक मात्र सदस्यको लागि भएको उपनिर्वाचनमा कास्कीमा ६५ प्रतिशत मतदान भएको छ । ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।

यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ जना मतदाता थिए । ०७४ सालको निर्वाचनमा ७० हजार ६ सय ५१ मतदाता थिए । गत निर्वाचनमा ६८ प्रतिशत अर्थात ४९ हजार ९ सय १३ मत खसेको थियो । १ हजार ४ सय ६४ मत बदर भएको थियो । ४८ हजार ४ सय ४९ मत सदर भएको थियो ।

यसपटक ६५ प्रतिशतले मात्रै मतदान गरेकाले ४६ हजार पाँच ७५ मत खसेको आयोगले जानकारी दिएको छ । यो भनेको गत चुनावभन्दा करिब ३ हजार कम मत हो । बिहान र अपराह्नभन्दा मध्याह्न मात्र मतदाता बढी सहभागी भएका थिए । दिउँसो १२ बजेसम्म जम्मा २५ प्रतिशत मात्र मत खसेको थियो । जब कि अघिल्लो निर्वाचनमा बिहान १० बजेभन्दा अघि नै यति मत खसिकेको थियो । यो निर्वाचन क्षेत्रमा ११ वडा छन् । ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमध्ये अधिकांशमा शान्तिपूर्ण रूपमा मतदान भयो भने केहीमा बिस्फोट र केही विवाद भए । पोखरा महानगरपालिका–१६ को दीप चण्डिका मतदानस्थल, पोखरा–३३ भरतपोखरीस्थित शान्ति उदय मावि, पोखरा–१६ शान्ति मावि जुम्लेटी मतदान स्थलमा नजिकै बम बिस्फोट भएको छ भने नयाँबजारको नवप्रभात मतदानस्थलभित्रै बिस्फोट भएको थियो ।

पोखरा–१६ शान्ति मावि, पोखरा–३३ शान्ति उदय मावि र पोखरा नयाँबजारस्थित महेन्द्र मावि मतदानस्थलमा सामान्य विवाद भएको छ । शान्ति माविमा नेकपा र कांग्रेसबीच ढुंगा हानाहान नै भयो भने महेन्द्र माविमा पनि यिनै पार्टीबीच विवाद भएको थियो । पोखरा–३३ शान्ति उदय माविमा मतदान अधिकृतको हस्ताक्षर बिनाको मतपत्र भेटिएपछि केहीबेर मतदान नै रोकिएको थियो ।

कास्कीमा ११ दल र १० स्वतन्त्र गरी २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेकपा उम्मेदवार विद्या भट्टराई र कांग्रेस उम्मेदवार खेमराज पौडेललाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ । अघिल्लो चुनावमा रवीन्द्र अधिकारीले २७ हजार २ सय ७ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए । यसपटक जसले जिते पनि मतान्तर कम हुने अनुमान गरिएको छ ।

भक्तपुरमा ७१ प्रतिशत मत
भक्तपुर–१ ‘क’मा करिब ७० प्रतिशतमात्रै मत खसेको छ । प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनका लागि २१ हजार ९ सय ३५ पुरुष र २३ हजार ८० महिला गरी कुल ४५ हजार १५ मतदाता रहेको छ । तीमध्ये १५ हजार ६ सय ६५ पुरुष र १६ हजार ३ सय ७२ महिला गरी कुल ३२ हजार ३७ मतदाताले मतदान गरेका छन् । यो कुल खसेको मतमध्ये ७१ दशमलव १७ प्रतिशत रहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

अघिल्लो निर्वाचनमा ७५ दशमलव १७ प्रतिशत मत खसेकोमा यसपटकको उपनिर्वाचनमा ४ दशमलव ४ प्रतिशत कम मत खसेको छ । उपनिर्वाचनमा प्रदेश (क) मा चाँगुनारायण नगरपालिकाको नौ वटा वडा र भक्तपुर नगरपालिकाको वडा नं. १० मा गरी १० वटा वडामा कुल २२ मतदानस्थल र ५४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ ।

दाङमा ६७ प्रतिशत मतदान
दाङ ३ (ख) को प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा ६६.५२ प्रतिशत मत खसेको छ । महिलाहरूले बढी मत हालेका छन् । शान्तिपूर्ण र सहज वातावरणमा उत्साहका साथ मतदान भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।

दाङ क्षेत्र नम्बर ३ (ख) का कुल ६८ हजार ७ सय १९ मतदातामध्ये ४५ हजार ७ सय १८ ले मतदान गरेका छन् । यो ६६.५२ प्रतिशत मत हो । जसमा महिला २५ हजार ५ सय ९० र पुरुष २० हजार एक सय २८ ले मतदान गरेका छन् । यस क्षेत्रमा महिला ३४ हजार ९ सय ४०, पुरुष ३३ हजार ७ सय ७८ र एक जना तेस्रोलिंगी मतदाता थिए । प्रदेशसभा सदस्यका लागि ३२ निर्वाचन स्थल र ७७ मतदान केन्द्रमा मतदान भएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

बागलुङमा ६३ प्रतिशत मतदान
बागलुङ क्षेत्र नम्बर २ (ख) मा प्रदेश सभा सदस्य पदका लागि भएको उपचुनावमा ६३ प्रतिशत मत खसेको छ ।

३५ हजार एक सय ८४ मतदाता रहेको बागलुङमा यस पटक २२ हजार ५ सय ३४ मत खसेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिए । मतदान सकिएलगत्तै जिल्लाका प्रदेश क्षेत्रअन्र्तगतका ४३ वटा मतदान केन्द्रबाट मतपेटिका शनिबार राति नै ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा ल्याइएको छ । आइतबार सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने जिल्ला निर्वाचन अधिकारी शर्माले जानकारी दिए ।

प्रतिक्रिया