आस्थाको आधार

काठमाडौं । गायिका आस्था राउतको दोस्रो एल्बम ‘आधार भाग २’ सार्वजनिक भएको छ । म्युजिक नेपालले उत्पादन गरेको एल्बमलाई राजधानीमा एक समारोहका बीच हास्यजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह), संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा सावित्री राउत लगायतले संयुक्तरूपमा विमोचन गरे ।

विमोचन कार्यक्रममा हरिवंशले आस्थासँग आफूले चलचित्र ‘छक्का पञ्जा २’ को एक गीत ‘झ्याम्म झ्याम्म’ मा सहकार्य गरेका बताए । उनले आस्थाको स्वर भिन्न र आकर्षक रहेको जिकिर गरे । उनले भने, ‘जोकोहीको गीत सुनिरहँदा त्यो गीत सोही गायक गायिकाको हो कि होइन भन्ने अन्यौल हुन्छ । किनकी त्यस्तै किसिमको स्वर अन्य गायक गायिकाको पनि हुन्छ । तर, आस्थाको स्वर सुन्दा उनको जस्तो स्वर अन्यमा पाइँदैन । त्यसकारण परबाटै यो गीत आस्थाले नै गाएको हो भन्नेमा ढुक्क भइन्छ ।’

त्यसैगरी, कलाकार मदनकृष्णले कम उमेरमै आस्थाले नेपाली सांगीतिक क्षेत्रमा गरेको प्रगति देखेर आफूलाई खुसी लागेको बताए । उनले भने, ‘सांगीतिक वातावरणमा जन्मेर, हुर्केर होला, आस्थामा गायकीको नयाँ फ्लेभर पाउन सकिन्छ ।’

गायिका आस्थाका संगीतगुरु सुरेश अधिकारीले आस्था जस्तोसुकै फ्लेभरको गीत गाउन सक्ने प्रतिभाशाली गायिका भएको दाबी गरे । उनले गायिकामा संगीतप्रतिको अथाह लगाव रहेको बताए । आस्थाका पिता हरिबहादुरले आपूmलाई आस्थाको पिता भनेर चिनाउन पाउँदा खुसी लाग्ने बताए ।

सार्वजनिक उक्त एल्बममा ‘दशैँ आयो तिहार आयो’, ‘कलधारा’, ‘हवाइजहाजको टिकट’, ‘सिमाना’, ‘राम साइली’, ‘नाकैमा फूली’, ‘को छ यहाँ र झलझल गर्ने’ बोलका गीत संग्रहित छन् । यी गीतमध्ये ‘को छ यहाँ’ बोलको गीतमा आस्थाकी आमा सावित्री राउतको शब्द रहेको छ । बाँकी ७ वटा गीतमा सुरेश अधिकारीको शब्द र संगीत छ ।

सो अवसरमा ‘नाकैमा फूली’ गीतको भिडियो पनि सार्वजनिक गरियो । शान थापाले निर्देशन गरेको भिडियोमा अभिनेत्री आँचल शर्मा र महेश खड्काको अभिनय छ । भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र अनिल के मानन्धरको छायांकन छ । ‘आधार भाग २’ मा रहेका गीतमध्ये ‘दशैँ आयो तिहार आयो’ बोलको गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानलका साथै मुभि एन्ड मस्ती र नेपाल अनडिमान्ड एपमा सुन्न र हेर्न सकिन्छ ।

आस्थाको पहिलो एलबम ‘आधार’ का गीतहरू ‘खै त मलाई झुम्के बुलाकी’, ‘चौबन्दी पटुकी’ निकै चर्चित गीत हुन् । आस्था हाल टेलिभिजन गायन रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल’ सिजन २ को निर्णायक पनि हुन् ।

प्रतिक्रिया