बैंकसँग युवा परिषदकाे सम्झौता

काठमाडौं । युवाहरूलाई सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान दिन तीन वटा बैंक सहमत भएका छन् । बुधबार राष्ट्रिय युवा परिषद्् र बैंकहरूको सयुंक्त आयोजनामा भएको कर्जा घोषणा कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले युवाहरूलाई सहुलियतपूर्ण कर्जा दिन सहमति जनाएका हुन् । उनीहरूले नेपाल सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यक्रममा सहमति जनाउँदै राष्ट्रिय युवा परिषद्सँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा परिषद््का उपाध्यक्ष माधव ढुंगेलसँग राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकरी अधिकृत किरणकुमार कार्की, नेपाल बैंकका सिइओ कृष्णबहादुर अधिकारी र कृषि विकास बैंकका सिइओ अनिलकुमार उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

युवाहरूलाई स्वरोजगार तथा उद्यमी बनाउनका लागि सरकारले गत वर्ष ल्याएको यो कार्यक्रम प्रभावकारी रूपमा अगाडि नबढेपछि परिषद्ले पुनः कार्यविधि संशोेधनको माग गरेको थियो । अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि संशोधन भएसँगै कार्यक्रम प्रभावकारी बनाउन परिषद्ले कदम चालेको बताइएको छ ।

कृषि तथा पशुपक्षीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धनगरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न, शिक्षित बेरोजगार युवालाई मुलुकभित्र रोजगारीका अवसरहरू सिर्जना गर्न, विदेशबाट फर्केका युवाको विदेशमा आर्जन गरेको सीप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिला उद्यमशील क्षमताको विकास गर्न सरकारले गत वर्ष युवा सहुलियतपूर्ण कर्जा कार्यक्रम घोषणा गरेको थियो । अब यि तीन बैंकले कार्यविधिमा उल्लेख भएका नौ प्रकारका कर्जा लक्षित समूदायलाई प्रवाह गर्ने बताइएको छ । यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन परिषद्ले एनएमबी बैंकको सहकार्यमा युवाहरूलाई साक्षरताको तालिम र परामर्श प्रदान गर्ने बताइएको छ ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद््का कार्यकारी उपाध्यक्ष ढुंगेलले यस सम्झौताले कार्यविधिको ढोका खुलेको बताए । जतिलाई ऋण दिने हो त्यो भन्दा बढीलाई दिन्छौँ भनेर बैंकले अगाडि आउने अवस्थाका लागि आफूहरू लागि रहेको समेत सुनाए ।

ग्राहकलाई सानो–ठूलोभन्दै हेप्न हुँदैन : खतिवडा
परिषद्् र बैंकहरूको सयुंक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले बैंकहरूले ग्राहकलाई सानो ठूलो भनेर विभेद गर्न नहुने बताए । उनले कर्जा लिने ग्राहकहरूको स्तर हेरेर विभेद गर्न नहुने बताएका हुन् । उनले बैंकहरूले त्यस्तो विभेद गरे मन्त्रालयको हट इमेलमा सम्पर्क गरे तत्कालै बैंकलाई कारबाही गर्ने समेत सुनाए । ‘यो सहुलियतपूर्ण कर्जा सम्झौता कार्यक्रममा म पनि साक्षी छु’ उनले भने यो पुरा गर्नु मेरो पनि दायित्व हुन्छ, कर्जा विभेद मात्र होइन बैंकहरूले सहुलियतपूर्ण कर्जा नदिएपनि कारबाही गर्नेछु ।’ उनले युवाहरूलाई स्वरोजगार र उद्यमी बनाउन बैंकहरूको महत्वपूर्ण भूमिका हुने भएकोले सहुलियतपूर्ण कर्जा दिन समेत आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठले बैंकले हालसम्म ६ हजार ३ सय १४ जनालाई ६ अर्ब ८१ करोड ६० लाख रुपैयाँ सहुलियतको कर्जा वितरण गरेको बताए । राष्ट्रिय वाणिज्य बैंक सधैं युवाको पक्षमा भएको उनले बताए । उनले बैंकले विभिन्न संघसंस्थासँग मिलेर सहुलियत कर्जा प्रवाह गरिरहेको पनि जनाए । यस्तै नेपाल बैंकका सिइओ अनिलकुमार उपाध्यायले पनि कृषि बैंकले ७ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह गरेको बताए । उनले बैंकहरूले उत्पादन क्षेत्रमा लगानी गर्नु सकरात्मक भएको बताए । नेपाल बैंकका सिइओ कृष्णबहादुर अधिकारीलेले पनि नेपाल बैंकले ३ हजार युवालाई ३ अर्ब ३१ करोड सहुलियतपूर्ण कर्जा प्रवाह गरेको बताए । त्यस्तै राष्ट्रको पुरानौ बैंक भएकाले राष्ट्रिय हितको लागि नै काम गर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै एनएमबी बैंकका अध्यक्ष पवन गोल्याणले आफू पनि कृषिमा लागेको भन्दै अर्गानिक खेतीमा युवाको आकर्षण हुनुपर्ने बताए । उनले नेपाली सबै आर्थिकरूपमा सम्पन्न हुनको लागि आयातमा कम गर्दै नेपाली हौँ, नेपाली लगाऊँ, नेपाली खाउँ भन्ने अभियानमा लाग्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले परिषद्् र बैंकले गरेको सम्झौताले सकारात्मक परिणाम दिने बताए । एक वर्षअघिदेखि सुरु भएको कार्यक्रम भएपनि अब भर्खरै सुरु भएको भनि परिपूरण गर्दै लैजानुपर्ने र यसलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए । विशेषतः युवालाई उद्यमी बनाउनको निमित्त सबैभन्दा ठूलो भूमिका बैंकको भएको भन्दै उनले प्रक्रिया सहज बनाउन आग्रह गरे । कार्यक्रममा युवा उद्यमी लोचन बस्नेतले युवाहरूलाई स्वदेशमा नै रोजगारी बनाउन बैंकहरूको महत्वपूर्ण भूमिका हुने बताए ।

प्रतिक्रिया