सिर्जना संवादमा गणेशमान

काठमाडौं । लेखक हरि गौतमले लेखेको ‘नेपाली क्रान्ति र गणेशमान सिंह’ पुस्तकमाथि अन्तरक्रिया गरिएको छ । काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटीमण्डपद्वारा आयोजित ‘सिर्जना संवाद’ मा कार्यक्रममा गौतमको उक्त पुस्तकमाथि चर्चा गरिएको हो । नेपाली राजनीतिका चर्चित पात्र गणेशमान सिंहका बारेमा लेखिएको उक्त पुस्तकमाथि प्रमुख अतिथि पत्रकार माथवरसिंह बस्नेतले लौहपुरुष गणेशमानसँग जोडिएका केही रोचक प्रसंग सुनाए ।

उनले नेपालको राजनीतिलाई अहिलेको अवस्थासम्म ल्याइ पु¥याउन गणेशमानको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले यो पुस्तक निकै उपयोगी रहेको बताए । बस्नेतले पुस्तक लेखेर राम्रो काम गरेको भन्दै गौतमको प्रशंसा गरे ।पत्रकार होमनाथ दाहालले नयाँ पुस्ताका लागि लेखक गौतमले गणेशमानलाई बुझ्ने किसिमको पुस्तक प्रकाशन गरेको भन्दै धन्यवाद दिए । उनले भने, ‘गणेशमान सिंहलाई अलग राखेर नेपाली प्रजातन्त्रको इतिहास पूरा हुन सक्दैन ।’

कार्यक्रममा प्राडा. गोविन्दराज भट्टराईले पुस्तक सबैले पढनुपर्ने भएको बताउँदै नेपालको राजनीति र यसको आयामलाई बुझ्न पनि पुस्तक उपयोगी रहेको जिकिर गरे । त्यस्तै, प्रा. कृष्ण खनालले गणेशमानका विषयमा अरू पनि थप अनुसन्धान हुन बाँकी रहेको बताए । उनले नेपाली समाजलाई परिवर्तनको दिशामा लैजान गणेशमानले नेतृत्वदायी भूमिका खेलेको जिकिर गरे । प्रा. तीर्थराज वन्तको सभापतित्व तथा प्राडा. सनतकुमार वस्तीको सहजीकरणमा भएको कार्यक्रममा डा. तुलसी भट्टराई, प्राडा. कुमार कोइराला, प्राडा. हेमचन्द्र नेपाल, हरिविनोद अधिकारी, पत्रकार तारानाथ दाहाल, नारायण ढकाल, गणेशमान सिंहका भतिजा महेन्द्रमान सिंह, ज्ञानु अधिकारी, रामु पाण्डे, हरि गौतमलगायतले पुस्तकमाथि चर्चा गरेका थिए ।

प्रतिक्रिया