खोला नै मोडेर क्रसर उद्योग

धादिङ । बेनिघाटमा रहेको खानीखोला नै मोडेर अवैधरूपमा क्रसर सञ्चालन भईरहेको खुलेको छ । राजनीतिक शक्तिको आडमा बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीस्थित खानीखोलामा सञ्चालित युनाइटेड क्रसर उद्योगले खोला नै मोडेर क्रसर सञ्चालन गरेको हो ।  गाउँपालिकाले सो क्रसर सञ्चालनका लागि कानुन विपरीत अनुमति समेत दिएको खुलेको छ । क्रसर उद्योग सञ्चालन (घरेलु तथा साना उद्योग विभाग, कार्यविधि दिग्दर्शन २०७२) अनुसार क्रसर उद्योग सञ्चालन गर्न प्रारम्भिक वातावरणीय परीक्षण (आइई) प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था छ । तर, गाँउपालिकाले आइई प्रतिवेदन बिना नै उद्योग सञ्चालनका लागि अनुमति दिएको छ । अवैधरूपमा क्रसर सञ्चालन भएको थाहापाएपछि जिल्ला समन्वय समिति (जिसस)ले अनुगमन गरेको छ । जिससका संयोजक जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी आशमान तामाङ सहितको टिमले शुक्रबार स्थलगत निरीक्षण गरेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी (प्रहरी उपरिक्षक) राजकुमार बैदवारसहित चार वटा गाडीमा पुगेको अनुगमन टोलीले अवैधरूपमा सञ्चालन भइरहेको क्रसर हेरेर फर्किएका छन् ।

बेनिघाट रोराङ गाउँपालिकाले कानुन विपरीत युनाइटेड क्रसर उद्योगलाई २०७५ साल कार्तिक २० गतेदेखि नै सञ्चालनका लागि अनुमति दिइएको थियो । बेनिघाट रोराङ गाउँपालिका २ ताल्तीस्थित मलेखु खोलामा निर्माणाधीन ह्वासिन सिमेन्ट नारायणी प्रालिमा समेत कार्यरत रोल्पा लिवाङ घर भएका डिल्लीराज पोखरेल र स्थानीय राजनीतिक नेतृत्वको आफन्तद्वारा सञ्चालित उक्त क्रसर क्रसर उद्योग विवादास्पदरूपमा सञ्चालनमा छ । स्थानियबासीका अनुसार क्रसरले खानी खोलाको बगरमै जेनेरेटर राखेर अवैधरूपमा खोला दोहन गरिरहँदा समेत स्थानीय प्रशासन मौन बसेको आरोप लगाउँदै आएका थिए । तर, सार्वजनिकरूपमै प्रश्न उठ्न थालेपछि प्रजिअ सहितको टोलीले शुक्रबार भने अनुगमन गरेको छ ।

अनुगमन स्थलमा पुगेका प्रजिअ तामाङले आपूm स्थलगत अनुगमनमा पहिलो पटक उक्त क्षेत्रमा पुगेको बताए । प्रहरी सहितको अनुगमन टोली त्यहाँ पुग्दा क्रसर सञ्चालक भने फरार थिए । सञ्चालक मध्येका पोखरेल र समिर अधिकारी फरार रहेको बताइएको छ । जिसस प्रमुख जगन्नाथ नेपालले वडा नम्बर २ का वडाध्यक्ष टंक थापाका छोरा तुलसी जंग थापालाई सम्पर्क गरेका थिए । थापाले आफू उक्त क्रसरमा संलग्न नभएको तर काजपत्र भने आफूसँग रहेको बताएका थिए । नेपालले ३ दिन भित्र कागजातसहित जिल्ला समन्वय समितिमा हाजिर हुन थापालाई निर्देशन दिएका छन् । यद्यपि थापाले भने उक्त क्रसरको सञ्चालक डिल्लीराज पोखरेल रहेको र उनी काभ्रेतिर गएको बताए ।


क्रसर सञ्चालनको अनुमति दिने बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष हरी डल्लाकोटी भने अनुगमनमा सहभागी भएका थिएनन् । प्रजिअ आसमान तामाङले आफूहरूले अनुगमन गरेको स्वीकार गरे । ‘हो हामी गएर हेरेका हौँ । हामी जाँदा कोही मान्छे रहेनछन् । क्रसर हेरेर फोटो पनि खिचेका छौँ । तुल्सी भन्ने मान्छेलाई जेजे डकुमेन्ट छ त्यो डकुमेन्ट सोमबारभित्र जिल्ला समन्वय समितिमा पेश गर्न भनेका छौँ,’ प्रजिअ तामाङले भने,‘त्यो डकुमेन्टको अवस्था हेरेर हामीले निर्णय गर्छौं ।’

प्रमुख जिल्ला अधिकारीलाई के उक्त उद्योगमा मापदण्ड पुगेको थियो ? भन्ने प्रश्नमा उनले हाँस्दै भने,‘हामी सबैलाई थाहा छ सर मापदण्ड के भनौँ । तपाईंहरू सबै जानकार हुनुहुन्छ । त्यहाँ खोला रहेछ । त्यो खोलालाई पुरै डाइभर्ट गरेको रहेछ ।’ उक्त क्रसर उद्योगले क्रसर सम्बन्धी कार्यविधि नै मिचको स्थानीयको आरोप छ । बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरी डल्लाकोटी, नेकपा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलको संलग्नतामै उक्त क्रसर खोलेको स्थानियको दाबी छ ।

क्रसर सञ्चालनका लागि जग्गा भाडामा लिने सम्बन्धी सम्झौतामा वडाध्यक्षकी बुहारी अम्बिका खड्का प्रथम पक्षबाट र दोस्रो पक्ष तथा उद्योगको तर्फबाट भने समिर अधिकारी र डिल्लीराज पोखरेलले हस्ताक्षर गरेका छन् । साक्षीमा भने वडाध्यक्षकै छोरा तुलसीजंग थापाले हस्ताक्षेर गरेका छन् । जिल्लास्थित घरेलु विकास कार्यालयले २०६६ साल देखि कुनै पनि क्रसर उद्योगको नवीकरण गरेको छैन । नयाँ उद्योग दर्तासमेत नभएको अवस्थामा गाउँपालिकाले क्रसर खोल्न अनुमति दिएको पाइएपछि छानबिन सुरु भएको हो ।

प्रतिक्रिया