‘१० नम्बर’ जर्सीको सम्मान भएन : रिभाल्डो

एजेन्सी, ब्राजिल । एसी मिलानका युवा मिडफिल्डर लुकास प्याकुएटालाई अर्जेन्टिनाविरुद्धको खेलमा १० नम्बरको जर्सी दिइएकोमा ब्राजिलका पूर्वखेलाडी रिभाल्डोले आपत्ति जनाएका छन् । नेयमार घाइते हुँदै टोलीबाहिर रहेको समयमा ब्राजिलको सिनियर टोलीका लागि मात्र १० खेलेका प्याकुएटालाई १० नम्बरको जर्सी लगाउन दिइएको थियो । आफँै १० नम्बरको जर्सी लगाइसकेका रिभाल्डोले युवा र अनुभवविहीन खेलाडीलाई यति चाँडो उक्त जर्सी लगाउन दिन नहुने जिकिर गरेका हुन् ।

प्याकुएटाको क्षमताप्रति आफूलाई कुनै शंका नरहे पनि १० नम्बरको जर्सी लगाउन पहिले एक तहको सम्मान हासिल गर्नुपर्ने उनको तर्क थियो । ‘ब्राजिल र अर्जेन्टिनाविरुद्धको खेल हेरेँ, १० नम्बरको जर्सीलाई जे गरियो, त्यो देख्दा मलाई निकै दुःख लाग्यो,’ रिभाल्डोले इन्सटाग्राममा लेखेका छन् ।

‘उनीहरूले प्याकुएटालाई उक्त जर्सी दिए । त्यो जर्सी जसलाई विश्वभर सम्मान गरिन्छ । त्यो जर्सी बेन्चमा बस्न लायक होइन न त हाफ टाइममा मैदानमा छिर्न । किनभने यो जर्सीलाई विश्वले चिन्छ र सम्मान गर्छ । यसलाई पेले, रिभेलिनो, जिको, रिभाल्डो, काका, रोनल्डिन्हो र नेयमार जस्ता खेलाडीले लगाएका छन् ।’

 

‘यसमा खेलाडीको कुनै दोष छैन । तर, कोचिङ स्टाफलाई थाहा हुुनुपर्ने हो यो जर्सीको महत्व कति छ भनेर,’ उनले भनेका छन् । खेलमा ब्राजिल अर्जेन्टिनासँग १–० गोलअन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया