फ्रेन्डस् क्वार्टरफाइनलमा

काठमाडौं । एनआइबिएल फ्रेन्डस क्लब राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । फ्रेन्डसले आयोजक चन्द्रागिरि नगरपालिका माथि ५–० को फराकिलो जित निकाल्दै प्रतियोगिताको अन्तिम आठमा स्थान बनाएको हो ।

चन्द्रागिरि नगरपालिकास्थित नैकाप फुटबल मैदानमा आइतबार भएको खेलमा फ्रेन्डसको फराकिलो जितमा सन्जोक महर्जन, शक्ति राई, रुमेश बर्तौला, प्रिजेन तामाङ र निशान सुब्बाले गोल गरे । पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो । फ्रेन्डसले खेलको तेस्रो मिनेटमा नै सन्जोक महर्जनको गोलबाट अग्रता लिएको थियो । पाँचौँ मिनेटमा शक्ति राईले गोल गर्दै फ्रेन्डसलाई सुरुमै राम्रो सुरुआत दिलाएका थिए ।

२३ औँ मिनेटमा रुमेश बर्तौलाले फ्रि(किकमा सुन्दर गोल गरेपछि फ्रेन्डसले पहिलो हाफमा ३–० को आरामदायी अग्रता बनाएको थियो । पहिलो हाफमा आयोजकले केही मौका खेर फालेको थियो । प्रतिस्पर्धात्मक बनको दोस्रो हाफमा आयोजकले फ्रेन्डसलाई दबाबमा राखेपनि गोल गर्न भने सकेन ।

४३ औँ मिनेटमा घरेलु टोलीले गोल गर्ने सुन्दर मौका खेर फाल्यो । अविरल रिजालको प्रहार क्रसबारमा लागेर रिवाउन्डमा पाएको बललाई अनिल गुरुले प्रहार गरेपनि सुरज गुरुङले हेडमार्फत बचाएका थिए । ५१ औँ मिनेटमा प्रिजेन तामाङले बक्स बाहिरबाट उत्कृष्ट गोल गरेपछि फ्रेन्डस फराकिलो जिततर्फ अग्रसर बनेको थियो । ७०औँ मिनेटमा निशान सुब्बाले गोल गर्दै फ्रेन्डसलाई ५–० को फराकिलो जित दिलाए । निशानको फितलो प्रहार गोलरक्षक रोशन नेपालले रोक्ने कुनै मौका नै पाएन । फ्रेन्डसका सन्जोक महर्जन खेलको म्यान अफ दि म्याच घोषित भए ।

तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ । सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतिक्रिया