बिबिसी चन्द्रागिरि गोल्डकपको क्वार्टरफाइनलमा

काठमाडौं । आयोजक दीपशिखा युवा समूहमाथि सहज जित निकाल्दै ‘ए’ डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लब (बिबिसी) तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरि नगरपालिकास्थित नैकाप फुटबल मैदानमा शनिबार भएको उद्घाटन खेलमा बिबिसीले ९ खेलाडीमा समेटिएको दीपशिखामाथि ३–० को सहज जित हात पार्दै अन्तिम आठको यात्रा तय गरेको हो । बिबिसीको जितमा रितिक खड्का, शिशिर लेखी र मलिना आङथापोले गोल गरे ।

खेलको २९औँ मिनेटमा रितिकको गोलबाट बिबिसी खेलमा अघि बढेको थियो । पहिलो हाफमा आयोजक दिपशिखा १० खेलाडीमा समेटिएको थियो । साइल अधिकारी दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । ४९औँ मिनेटमा शिशिर लेखीले अग्रता दोब्बर बनायो । ७६औँ मिनेटमा मलिनाले गोल गर्दै बिबिसीलाई ३–० को सहज जित दिलाए ।

विपक्षी खेललाई हात हालेपछि मिलन गोले सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा बिबिसी विजयी हुन सफल भयो । प्रतियोगिताको काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठ, चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, उपमेयर, चन्द्रागिरिका नगरका सबै वडा अध्यक्ष र क्लबका पदाधिकारीलगायतले उद्घाटन गरे ।

प्रतियोगितामा आइतबार आयोजकको चन्द्रागिरि नगरपालिका र फ्रेन्डस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल २ः३० बजेपछि हुनेछ । तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा आयोजक दिपशिखा युवा समूह, ब्रिगेड ब्वाइज क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब र च्यासल युथ क्लब रहेका छन् ।

समूह ‘बी’ मा चन्द्रागिरि नगरपालिका, फ्रेन्डस क्लब, रुस्लान थ्री स्टार क्लब, संकटा क्लब, नेपाल एपिएफ क्लब र सरस्वती युथ क्लब रहेका छन् । १० र ११ मंसिरमा सेमिफाइनल तथा १४ मंसिरमा फाइनल खेल हुनेछ । विजेताले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।

सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताको अनुमानित लागत झन्डै ५० लाख रुपैयाँ रहेको छ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया