जातीय मुक्ति कि घृणाको खेती ?

नेपालमा आफूलाई ‘मार्क्सवादी’ वा ‘‘मार्क्सवादी–लेनिनवादी’ वा ‘मार्क्सवादी–लेनिनवादी–माओवादी’ वा ‘‘मार्क्सवादी–लेनिनवाद–माओविचारधाराको अनुयायी’ भन्ने र ‘अन्तर्राष्ट्रियतावादी’ भएको चर्को दाबी पनि गर्ने कम्युनिस्टहरूले एक सिंगो नेपाली राष्ट्रियतामा समेत नअटाएर जातीय र क्षेत्रीय खिचडी पकाउनमा बढी जोड दिनु विडम्बनापूर्ण त छँदैछ, उनीहरूका हकमा हास्यास्पद र राष्ट्रका निमित्तचाहिँ घातक छ । कतीपय अवस्थामा क्षणिक फाइदाकोनिम्ति पूर्णरूपेण जातीवादी व्यक्ति वा संगठनलाई पनि कम्युनिस्टहरूले काँध चढाउने गरेको उदाहरण छ ।

जस्तो कि खम्बुवानको नाममा खोलिएको ‘मोर्चा’ कुनै पनि दृष्टिकोणबाट ‘कम्युनिस्ट’ थिएन, बरु अत्यन्त संकिर्णतावादी संगठन थियो, यस तथ्यलाई जान्दाजान्दैपनि नेकपा माओवादीले आफ्नो ‘छाता’ प्रदान गरेको उदाहरण छ । एमाले र अन्य पार्टी पनि यस्ता कार्य गर्नबाट चोखा छैनन् । सिद्धान्तले अर्ध–कम्युनिस्ट अर्ध–मार्क्सवादी र व्यवहारले मध्यमार्गी राजनीतिक दल नेपाली कांग्रेस र गैर–कम्युनिस्ट राप्रपा पनि चुनावी फाइदा हुनेभएमा जोकसैलाई जेसुकै छुट दिन तयार रहने गरेको कुरालाई पनि यहाँनेर सम्झनुपर्ने हुन्छ । यस्तै किसिमका गलत नीतिका कारण देश नितान्त जातिवादी भासतिर धकेलिने खतरा कायमै छ ।

संक्षेपमा भन्दाखेरीमा, ‘संघीय–व्यवस्था’ तथा ‘स्वशासनको व्यवस्था’का पक्षधरहरू दुवैखालेले पृथ्वीनारायण शाहको नेतृत्वमा गरिएको राष्ट्रिय एकीकरणको मूल मर्मलाई विकृत पार्ने र त्यसलाई प्रत्यक्षतः वा परोक्षतः अस्वीकार गर्दै नेपाललाई पुनः टुक्रा–टुक्रामा बाँडचुँड गर्ने नीति लिएका छन्। जबकि, माक्र्र्सीय अवधारणा अनुसार नै हेर्ने हो भनेपनि पृथ्वीनारायण शाहको महान् नेतृत्वमा सञ्चालित एवं सम्पन्न महान् एकीकरण अभियानको विरोध गर्नु गलत कार्य हो 

संक्षेपमा भन्दाखेरीमा, ‘संघिय–व्यवस्था’ तथा ‘स्वशासनको व्यवस्था’का पक्षधरहरू दुवैखालेले पृथ्वीनारायण शाहको नेतृत्वमा गरिएको राष्ट्रिय एकीकरणको मूल मर्मलाई विकृत पार्ने र त्यसलाई प्रत्यक्षतः वा परोक्षतः अस्वीकार गर्दै नेपाललाई पुनः टुक्रा–टुक्रामा बाँडचुँड गर्ने नीति लिएका छन्। जबकि माक्र्र्सीय अवधारणा अनुसार नै हेर्ने हो भने पनि पृथ्वीनारायण शाहको महान् नेतृत्वमा सञ्चालित एवं सम्पन्न महान् एकिकरण अभियानको विरोध गर्नु गलत कार्य हो । नेपालको तत्कालीन अर्थ–राजनीतिक, भू–राजनीतिक तथा ऐतीहासिक आवश्यकताको कारणले नै उक्त महान् एकीकरण सम्पन्न भएको हो । तर, यस तथ्यलाई बुझपचाएर गलत किसिमबाट व्याख्या गर्ने र जातीय आन्दोलनलाई राष्ट्रिय एकीकरणको विरुद्धमा लान खोज्ने प्रवृत्ति बढेको छ । यो पनि नेपालमा जातीय सवालको आडमा मौलाएको विकृति हो ।

जातीय सवालमा तुच्छ राजनीतिक स्वार्थ एवं जातीय–संकिर्णताको घेराभन्दा परै रहेर इमान्दारीपूर्वक चिन्तन गर्नेहरू पनि नभएका होइनन् । व्यक्तिगत रूपमा हामी स्वयं तथा थुप्रै अन्य विद्वानहरू र संस्थागत रूपमा ‘नेपाली भाषा–संस्कृति परिषद्’ र ‘युग निर्माण अभियान’ तथा अन्य कतीपय संस्थाले सकारात्मक पहल गरिरहेको कुरा यहाँ उल्लेखनीय छ । ‘नेपाली भाषा–संस्कृति परिषद्’को प्रथम राष्ट्रिय सम्मेलन ०५५ सालमा मैले संस्थापक महासचिवको हैसियतले प्रस्तुत गरेका प्रस्तावहरूलाई पारित गरिएको थियो, जसमा अन्य प्रस्तावहरूका साथसाथै जातीयनीति बारेको प्रस्ताव पनि रहेको थियो ।

उक्त राष्ट्रिय सम्मेलनमा पारित जातीयनीति अनुसार परिषद्ले ‘जाति’ र ‘जनजाति’को विवादभन्दा माथि उठेर ‘एक नेपालीजाति’को बृहद् अवधारणालाई स्वीकार गरेको थियो जसको मूलपाठ यसअघि नै सम्पूर्ण रूपमा सार्वजनिक भइसकेको छ । यसपछि विसं ०५७ मा मैले प्रस्तुत गरेको ‘नेपालमा जातीय समस्याको सवाल र समाधान’ शीर्षक प्रस्तावना (कार्यपत्र)लाई नेपाली भाषा–संस्कृती परिषद्को आधिकारिक जातीय नीतिको रूपमा पारित गरिएको थियो यसको मूलपाठ पनि सम्पूर्णरूपमा यसअघि नै पटक–पटक प्रकाशित भइसकेको छ । युग निर्माण अभियान, नेपालले पनि सोही जातीय नीतिलाई आफ्नो आधिकारिक नीतिको रूपमा स्वीकार गरेको यहाँ स्मरणीय छ ।

नेपाल तथा एवं सम्पूर्ण ‘नेपालीजाती’को लागि हितकारी, सही किसिमको जातीयनीति त्यसमा निहित छ । अहिले यतीखेर यी पंक्तिहरू लेख्नु’को उद्देश्य पनि जातीय सवालमा तुच्छ राजनीतिक स्वार्थ एवं जातीय(संकीर्णताको घेराभन्दा परै रहेर इमान्दारीपूर्वक चिन्तन गर्ने, त्यस्तो चिन्तन गर्ने परिपाटीलाई बल पु¥याउने र आफ्नो गच्छेअनुसार यसको समाधानमा योगदान पु¥याउने हो। दुबै किसिमका अतीवादीहरू र जिम्मेवार निकायको ध्यान यस समस्याको सही समाधानतर्फ आकृष्ट गर्न सकेमा र बहस, अन्तक्र्रिया, छलफलले एउटा सही दिशा–निर्देश गर्न सकेमा त्यसले राष्ट्र एवं समाजलाई फाइदै पुग्नेछ ।

समस्या के हो ?

यदि, कसैले नेपालमा जातीय समस्या नै छैन भन्छ भने कि त त्यो अयथार्थवादी, कि एक किसिमको ‘अतिवादी’ नै हो । अनि, जसरी नेपालमा जातीय समस्या छँदै छैन भन्नु एकखालको अतिवाद हुन जान्छ । त्यसरी नै नेपालमा जातीय समस्या एकदम बढी मात्रामा छ र त्यो जातीभेदको स्तरकै छ भनेर भन्नु झन् अतिवाद हुन्छ । यथार्थवादी कुरा के हो भने जब नेपालमा जाति–जनजातिको यत्रो गाइँगुइँ छ भने समस्या त पक्कै छ, तर उत्पातै ठूलो र असाध्य समस्या यो होइन ।

जेहोस्, यदि समस्या छ भने त्यसलाई सुल्झाउनु नै बुद्धिमानी कुरा हो । तर्सथ जातीय सवाललाई जतिसक्दो चाँडो समाधान गर्नुपर्छ । यदि समस्या समाधान गर्ने हो भने र्सवप्रथम त समस्याको जरो पत्ता लगाउन सक्नु सर्वाधिक महत्वको कार्य हो। समस्या कहिले पनि एक–आयामी हुँदैन र यसका पछाडि विभिन्न कारणहरू हुन्छन् । तसर्थ नेपालमा जातीय समस्याका पनि विभिन्न पाटाहरू छन् भन्ने तथ्य स्पष्ट छ ।

नेपालको राष्ट्रिय एकीकरण अभियानमा प्रायः सबै जात–जाती–समुदायले सक्रिय योगदान गरेका थिए । नेपाली जातीका घटक जात–जाती र समुदायमध्ये शायदै कुनै भेटिएला जसले कि राष्ट्रिय एकता अभियानमा गच्छे अनुसारको योगदान नगरेको होस् । एकीकरण पूर्वको ऐतिहासिक अध्ययन गर्दा के देखिन्छ भने त्यतिवेला सस्याना भुरे–टाकुरे राज्य र राजा–रजौटाको अस्तित्व रहेको भएता पनि जनस्तरमा सामाजिक एकीकरण भइसकेको थियो र लामो कालखण्डको सांस्कृतीक एकीकरणको भौतीक प्रकटीकरण हुन मात्र बाँकी थियो । कसै न कसैले त्यो अभियानको आरम्भकर्ताको औपचारिक भूमिका निर्वाह गर्नैपर्ने र युगसापेक्ष नेतृत्व लिनैपर्ने अवस्थामा ‘एकताका महानायक’का रूपमा पृथ्वीनारायण शाहको उदय भएको थियो ।

अर्थात्, पृथ्वीनाराण शाह ऐतीहासिक आवश्यकताले विकसित गराएका ‘महान् नेता’ हुन्, जसको कुशल एवं सही नेतृत्व पाउनाले राष्ट्रिय एकीकरण महाअभियान सफलतापूर्वक सम्पन्न हुनसक्यो । तर, ख्याल राख्नै पर्ने कुरा के होभने एकीकरण अभियान केवल पृथ्वीनाराण शाह अथवा गोर्खा राज्यको कारणले मात्रै सम्पन्न भएको होइन । उक्त महायज्ञमा यस भू–खण्डमा बसोवास गर्ने प्रायः सबै तह, तप्का, वर्ग, समुदाय, जात–जाति आदिको सामूहिक इच्छाशक्ति कारकतत्वका रूपमा रहेको थियो ।

प्रायः सबैथरीको साथ पाएको र आमजनताको सक्रिय सहभागिता रहेको हुनाले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहद्वारा अगुवाइ गरिएको राष्ट्रिय एकीकरण महाअभियान वास्तवमै युगको आवश्यकता रहेको प्रमाणित हुन्छ । त्यसैले, उनले नेपाललाई ‘सबै जातको फूलबारी’ भन्न सकेका हुन् । निकै महत्वपूर्ण पक्ष के छ भने पृथ्वीनारायणको महान् अभियानका क्रममा प्रत्येकले आ(आफ्नो ल्याकत, हैसियत अनुसारको काम, स्थान तथा मान पाएको हुँदा जातीय(विद्वेष र विद्रोह र विखण्डन थिएन ।

यदि एकीकरण अभियानका क्रममा जातीय विद्वेष र विद्रोह र विखण्डन अस्तित्वमा रहेको भए उक्त अभियान सफल हुने पनि थिएन । विजित राज्यका सेनापतिहरूले पूर्ण निष्ठाका साथ गोर्खाली (नेपाली) फौजमा सामेल भएर काम गरेको तथ्यले पनि एकीकरण अभियान र उक्त अभियानका महानायक पृथ्वीनारायण शाहको सर्व्प्रिय छविको पुष्टि हुन्छ । थुप्रै राज्यका जनताले स्वयं नै उनलाई आमन्त्रण गरेको तथ्य पनि यहाँ स्मरणीय छ । उनले नेपाल अधिराज्यको राजधानीका रूपमा काठमाडौंलाई निर्धक्कसँग चयन गर्न सक्नुले पनि धेरै हदसम्म कुरा स्पष्ट हुन आउँछ ।
(डा. अधिकारीको अभिलेखबाट)

प्रतिक्रिया