महिला फुटबल टोली घोषणा

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउने नेपाली महिला फुटबल टोलीको घोषणा भएको छ । प्रतियोगिता सुरु हुने तीन साताको समय बाँकी रहेको अवस्थामा प्रशिक्षक हरि खड्काले २० सदस्यीय टिमको नामावली सार्वजनिक गरेका हुन् । दक्षिण एसियाली खेलकुद डिसेम्बर १ देखि १० तारिखसम्म काठमाडांै र पोखरामा आयोजना हुनेछ ।

महिला फुटबल पोखरामा सञ्चालन हुने बताइएको छ । नेपाली टिममा रहेका अधिकांश सदस्य गत वर्ष विराटनगरमा भएको साफ च्याम्पियनसिप खेलेका रहेका छन् । अन्तिम ३२ मा स्थान बनाएका गोलरक्षक रविता राई, रोजिना श्रेष्ठ, सविता राना मगर र रश्मी कुमारी घिसिङले नेपाली टिममा स्थान बनाउन असफल रहे ।

त्यसैगरी, एपिएफकी निशा थोकर र रेखा पौडेल, आर्मीकी बिमला विक, शर्मिला थापा र सपना लामा, पुलिसकी घिमकुमारी गुरुङले स्थान बनाउन सकेनन् । सन् २०१० को ११औँ सागबाट महिला फुटबलसमेत समावेश गरिएको छ । जसको अघिल्ला २ वटा संस्करणमा नेपाल भारतसँग पराजित बन्दै रजत पदक प्राप्त गरेको थियो ।

घरेलु भूमिमा पहिलो पटक स्वर्ण जित्ने लक्ष्यका साथ झन्डै ४ महिनादेखि नेपाली टोली अभ्यास गरिरहेको छ । सागको महिला फुटबल आयोजना स्थल पोखरामै टोलीले अभ्यास गरिरहेको हो । राष्ट्रिय महिला फुटबल टोलीको गोलकिपरमा अञ्जिला तुम्बापो सुब्बा, अन्जना रानामगर र उषा नाथ छिन् ।

डिफेन्डरमा गीता राना, पुनम जर्घा मगर, अमृता जैसी, हिराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु, पूजा राना मिडफिल्डर रेणुका नगरकोटी, दीपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मन्जली कुमारी योन्जन, बिमला चौधरी तथा फरवार्डः सवित्रा भण्डारी, निरु थापा (कप्तान) र अनिता केसी छन् ।

प्रतिक्रिया