खोइ राष्ट्रियताको नारा ?

भारतले गत आइतबार जारी गरेको राजनीतिक नक्सामा सो क्षेत्र आफ्नो सीमामा समेटेपछि यसले नेपालीबीच अनेक आशंका उत्पन्न भएको छ । भारतने जारी गरेको नक्साले दुई देशबीच पुनः सीमा विवाद सतहमा आउने देखिएको छ । त्योभन्दा अघि नै यसको सामाधान खोजिनुपर्छ 

‘महाकाली साझा हो, पानी आधाआधा हो’ यस्ता नारा खास गरी नेपालका कम्युनिस्ट पार्टीका युवा विद्यार्थीले निकै लगाए । तर, आज त्यही महाकालीको शिरलाई भारतले आफ्नो नक्सामा गाभेर नयाँ नक्सा सार्वजनिक गरेको छ । खोइ त्यो राष्ट्रियताको नारा लागेको ? अब आवश्यक छैन राष्ट्रियताका बारेमा बोल्न ? इतिहासलाई हेर्ने हो भने टिष्टा, काँकडादेखि नालापानीसम्म थियो नेपालको सिमा । गुमाउदाँ गुमाउँदा मानेभञ्ज्याङ, सुस्ता, महेशपुर, ठोरी लगायतका कति जमिन गुम्यो सिमा छैन । कति सिमास्तम्भ गायव भए लेखाजोखा छैन ।

भारतलाई हेर्ने नेपालका कम्युनिस्ट पार्टीहरूको धारण फोरिएको छ । केही वर्ष अघिसम्म भारतलाई क्षेत्रीय प्रभूत्ववादका नाइके भन्नेहरू अहिले भन्न छाडेका छन् । तर, नेपालको भूभागमाथि भारतीय गिद्देदृष्टि भने हटेको छैन । हालै भारतले सार्वजनिक गरेको नक्सामा कालापानीको ६२ वर्ग किलोमिटर क्षेत्र परेको छ । यस्तै, लिपुलेकबाट आएको नदीदेखि लिम्पियाधुरातर्फबाट आएको नदी क्षेत्रको झन्डै ३ सय १० वर्ग किलोमिटर क्षेत्र पनि नक्साभित्र समेटेको देखिन्छ ।

कुनै पनि देसभक्त नागरिकका लागि आफ्नो एक इन्च भूमि पनि गुमाउन सह्य हुँदैन । तर, लिपुलेक र कालापानी नेपालको हुँदा हुँदै पनि भारतले सो भूभाग आफ्नो भएको सन्देश दिन हालै सार्वजनिक गरेको नक्सामा समेटेको छ । भारतले गत आइतबार जारी गरेको राजनीतिक नक्सामा सो क्षेत्र आफ्नो सीमामा समेटेपछि यसले नेपालीका बिचमा अनेक आशंका उत्पन्न भएको छ । भारतने जारी गरेको नक्साले दुई देशबीच पुनः सीमा विवाद सतहमा आउने देखिएको छ । त्योभन्दा अघि नै यसको सामाधान खोजिनुपर्छ ।

जम्मु–कश्मीर औपचारिक रूपमा दुईवटा केन्द्रशासित राज्यमा विभाजित भएसँगै भारत सरकारले नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेको छ । जम्मू–कश्मीरको समस्यासँग लिपुलेक र कालापानीको कुनै साइनो छैन । नेपालको सो भूभागलाई वर्षोैँदेखि भारतले अतिक्रमण गरेर राखेको थियो अहिले औपचारिक रुपमा राजनीतिक नक्सामा समेटेको छ यसले भारतको हेपाहा प्रवृद्धि नांगिएको छ ।

सन् १९६२ मा भारत र चीनबीच भएको युद्धको समयमा इन्डो–तिब्बतीय बोर्डर स्क्युरिटी फोर्सले कालापानीमा एक सैन्य अखडा निर्माण गरेको थियो । उसले त्यहाँबाट युद्ध नगरे पनि आफ्नो अखडा खडा गरेको थियो । त्यही समयमा भारतले पनि त्यहाँ आफ्नो सैन्य ब्यारेक बनाएको थियो । उति वेला नेपालले दुईदेशबीच समुधुर भएको भन्दै भारतीय सैन्य ब्यारेकको विरोध जनाउन उचित ठानेनन् ।

नेपालको विभिन्न राजनीतिक परिवर्तनपछि नेपालले गुमाएको भूमिका विषमा वेला वेला कुरा उठने गरेको छ । तर, जति जोडका साथ उठाइनुपर्ने थियो त्यो भने भएको छैन । भारतको हेपाहा प्रवृत्तिले अहिले सीमा नाघेका प्रष्ट हुन्छ । आफ्नो देशको नक्सामा अरूको देशलाई समेटेर सार्वजनिक गर्नु भनेको कतिसम्म दादागिरी ? भारतले इमान्दारितापूर्वक कालापानीलगायत नेपालको भू–भाग जहाँ–जहाँ कब्जा जमाएर बसेको छ निशर्त छोडनु पर्छ ।

यो विषय ०५३ सालमा महाकाली एकीकृत सन्धि संसद्बाट पारित हुँदा पनि उठेको थियो । उति वेला नदीको उद्गमस्थलको पहिचानविनै त्यो सन्धि पारित गरियो । यसविषयमा कुरा उठदा उतिवेला भारतीय राजदूत केभी राजनले नेपालको भूभाग भए फिर्ता गर्छौं भनेका पनि थिए । तर, सीमा विवाद समाधान गर्नेतर्फ दुवै देशले खासै चासो दिएको पाइन र त्यो विषय त्यतिकै सेलायो । यो सामान्य विषय पनि होइन एउटा देशको सीमा अर्को देशको नक्सामा गाभिनुको कारण के हो ? प्रष्ट हुनुपर्छ ।

कालापानी, लिपुलेक नेपालको अविभाज्य भूमि हो । भारतले सो भूभाग अनधिकृतरूपमा कब्जा गरेकोमा नेपालले निरन्तर विरोध गर्दै आएको छ । तर, कालापानी क्षेत्रमा रहेको नेपालको सीमा विवाद कुनै नयाँ होइन । नेपाल र भारत सो सीमाका बारेमा एकमत छैनन् । फरक यति मात्रै हो पहिला अतिक्रमण गरेर बसेका थिए, अहिले सिमाना नै फरक देखाउँदै छन् । रोग जति पाल्यो उति जटिल हुन्छ त्यसैले यो विषयलाई टुंग्याउनु पर्छ ।

कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालको भू–भाग हो । यसमा कुनै विवाद छैन र त्यहाँ गरिएको र गर्न खोजिएको भारतीय अतिक्रमण तुरुन्त हटाइनुपर्छ । यसबारेमा आएका सबै भ्रम तुरुन्त बन्द गरी वास्तविकता के हो ? यस सम्बन्ध नेपाल सरकारले जनतालाइ स्पष्ट पार्नु पर्दछ । यसका साथै कुटनीति माध्यमबाट आफ्नो भुगोल रक्षा गर्न तत्काल पहल गर्नु पर्दछ । फेरी पनी कालापानी, लिम्पियाधुरा, लिपुलेक, सुस्ताजस्ता विवादित अन्तर्राष्ट्रिय सीमामा हुने त्रुटिले राष्ट्रियताजस्तो संवेदनशील विषयमा हेलचेक्र्याइँ गर्नु राष्ट्रप्रति गरिएको बेइमानी ठानिनेछ ।

५ हजार ५ सय ३२ मिटर उचाइमा रहेको लिम्पियाधुरालाई महाकाली नदीको प्रमुख जलाधार र उद्गम विन्दुका रुपमा रहेको बताइन्छ । जुन लिपुलेकभन्दा अझै पश्चिम–उत्तरमा पर्छ । जंगे पिल्लर हराएको, सीमा मिचिएको जस्ता विषयमा नेपाल भारतका बीचमा हुँदै आएको विवादलाई सामान्यरूपमा लिएर हुँदै रहन्छ भन्ने धारणाको अन्त्य गरिनु पर्छ ।

भारत वा अरू कुनै पनि छिमेकी मुलुकले नेपालको कुनै पनि भूभाग कब्जा गरेमा सारा नेपाली एक ठाउँ उभिएर प्रतिकार गर्नुपर्छ यो राजनीतिक प्राप्ति वा अरू विषय होइन । भारतको पछिल्लो प्रयास आपत्तिजनक र अस्वीकार्य हो । नेपालमा सुतेको मान्छे बिहान उठदा भारतीय भूमिमा भएको धेरै उदाहरण छन् । ती सबै प्रकारका समस्यालाई अन्तै गरी नेपालप्रतिको भारतीय गिद्देदृष्टिलाई समाप्त पारिनुपर्छ ।

सन् २०१५ मे १५ मा नेपाललाई थाहै नदिई भारत सरकार र चीन सरकारले लिपुलेक भञ्ज्याङलाई दुई देशबीचको व्यापारिक नाका बनाउने सम्झौता गरका थिए । उक्त सम्झौता नेपालको सार्वभौमिकता एवं अखण्डतामाथिको हस्तक्षेप भएको भन्दै संसद र सडकमा पनि कुरा उठ्यो । संसद्बाहिर सरोकारवालाहरूले बहस÷छलफल चलाए । तैपनि ठूला देशहरूले नेपालको आपत्तिलाई चासो दिएनन् र नेपालको तर्फबाट प्रभावकारी रूपमा विरोध जनाइएन जसका कारण यो विषय त्यतिकै सेलाएर गयो ।

नेपालको नक्सा दिनदिनै मरिच चाउरिएजस्तै चाउरीएर सानो भएको छ । यो सारा स्वाभिमानी नेपालीका लागि दुःखको कुरो हो । अबका दिनमा नेपालको कुनै पनि भाग कसैले खोस्ने वा लुट्ने प्रयासबाट बचाउनुपर्छ । भारत आफ्नो देशको सीमामा बस्नु र हामीले आफ्नो सिमामा कसैलाई अनाधिकृत रूपमा प्रवेश हुन नदिने गरी आफूलाई मजबुद बनाउनु जरुरी छ । यसका लागि राजनीतिक तह र राज्यसञ्चालकको तहमा इमान्दारीता चाहिन्छ । यसलाई कुटनैतिकरूपमा समाधान गरी समस्याको अन्त्य गरिनुपर्छ ।

प्रतिक्रिया