विप्लवकी जिल्ला सेक्रेटरी पक्राउ

काभ्रे । विप्लवकी काभ्रे जिल्ला सेक्रेटरी सुन्तली थोकर पक्राउ परेकी छन् । नेत्र विक्रम चन्द (विप्लव) माओवादीका काभ्रे जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई प्रहरीले बुधबार राती घरबाटै पक्राउ गरेको छ ।

प्रहरीचौकी पनौतीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक हरिशरण बस्नेत नेतृत्वको टोलीले पनौतीबाट पक्राउ गरेको हो । रोसी गाउँपालिकाको शिसाखानीबाट पनि बुधबार राती दुई जना पक्राउ परेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए । चन्दा असुली र गतिविधी बढाएपछि प्रहरीले चन्द समूहका कार्यकर्तामाथि निगरानी बढाउँदै आएको थियो ।

केही दिनअघि चन्द समूहका कार्यकर्ताले महाभारत र रोसी गाउँपालिकाका विभिन्न चार स्थानमा सिलिन्डर विस्फोट गराएका थिए । चन्द समूहले व्यापारी व्यवसायीलाई चन्दा आतंक तीव्र पारेको प्रहरीले जनाएको छ । पक्राउ परेकी सुन्तलीलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया