हिमालय एयरलाइन्सले बेइजिङ उडान गर्ने

काठमाडौं । नेपाल र चीनको संयुक्त लगानी रहेको अन्तरराष्ट्रिय उडान भर्ने निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आगामी कात्तिक १० गतेदेखि चीनको राजधानी बेइजिङमा सिधा उडान गर्ने भएको छ । बेइजिङस्थित नवनिर्मित डाक्सिन इन्टरनेशनल विमानस्थलमा हिमालयले उडान शुरु गर्ने सम्पूर्ण तयारी गरेको कम्पनीले जनाएको छ । ‘बेइजिङ उडानका लागि हामीले सबैखाले तयारी गरेका छौँ, एक÷दुई दिनभित्रै उडानबारे सार्वजनिक गर्नेछौं’, हिमालय एयरलाइन्सका एक उच्च अधिकारीले बताए । कम्पनीले एयरबस ए–३२० जहाजबाट बेइजिङ उडान गर्नेछ । यो गन्तव्यमा सातामा तीन उडान गर्ने जनाइएको छ ।

विश्वकै आधुनिक सुविधायुक्त डाक्सिन विमानस्थल हालै मात्र औपचारिकरूपमा सञ्चालनमा आएको थियो । बेइजिङ अन्तरराष्ट्रिय विमानस्थल अत्यन्तै व्यस्त भएका कारण नेपाली वायुसेवा प्रदायक कम्पनीले उक्त विमानस्थलमा स्लट पाउन सकेका थिएनन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले पनि छिट्टै चीनको राजधानी बेइजिङ उडान भर्ने योजना बनाएको छ ।

प्रतिक्रिया