नेपाली कलाकार चीन प्रस्थान

काठमाडौं । बेइजिङमा हुन लागेको ‘वान बेल्ट वान रोड’ अन्तर्राष्ट्रिय लोकनृत्य महोत्सवमा सहभागी हुने नेपाली टोली चीन प्रस्थान गरेको छ । संगीतकार शम्भुजीत बाँस्कोटाको नेतृत्वमा १० जना नेपाली कलाकारको टोली बिहीबार चीन गएको हो । उनीहरू बेइजिङमा रहेको बेइजिङ डान्स एकेडेमीको निमन्त्रणामा चीन गएका हुन् ।

बेइजिङ डान्स एकेडेमीको आयोजनामा यही १८ अक्टोबरदेखि २० सम्म ‘वान बेल्ट वान रोड अन्तर्राष्ट्रिय लोकनृत्य महोत्सव’ हुँदैछ । उक्त महोत्सवमा नेपालका तर्फबाट विविध लोक नृत्य प्रस्तुतिका लागि आफूहरू चीनतर्फ लागेको संगीतकार बाँस्कोटाले बताए ।

शम्भुजीत संगीत घर नेपालको संयोजनमा कलाकार चीन गएको संस्थाका अध्यक्ष शम्भुजीतले जानकारी दिए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति बाँस्कोटाले चीन भ्रमणको प्रसंगमा भने, ‘म प्रतिष्ठानमा हुँदा बेइजिङ डान्स एकेडेमीसँग नेपालमा विभिन्न कार्यक्रम आयोजना गरेपछि उहाँहरूसँग सहकार्य बढेको हो । यसै क्रममा उहाँहरूले मेरो संस्थालाई वान बेल्ट वान रोड अन्तर्राष्ट्रिय लोकनृत्य महोत्सवमा नेपाली लोकनृत्य प्रस्तुतिका लागि प्रस्ताव गरेपछि उहाँहरूको निमन्त्रणमा हामी चीन गएका हौँ ।’

महोत्सवमा आफ्नो टोलीले लोक नेपाली नृत्य प्रस्तुत गर्ने पनि संगीतकार बाँस्कोटाले जानकारी गराए । बाँस्कोटाका अनुसार सो कार्यक्रममा सहभागी हुन चीनका विभिन्न प्रान्तसँगै अन्य विदेशी मुलुकबाट पनि सयौँ कलाकार बेइजिङ पुगेका छन् । यस पटक सो महोत्सवमा आफूहरूले पर्यटन वर्ष २०२० लाई लक्षित गरेर बेइजिङमा नेपाली लोकनृत्य प्रस्तुत गर्ने बाँस्कोटाले बताए । उनले भने, ‘सांस्कृतिक प्रस्तुतिले नेपाली लोक संस्कृति विदेशीहरूका सामु प्रदर्शनसँगै नेपालको विभिन्न लोकनृत्यको जानकारी गराउने अवसर हामीलाई मिलेको छ । हामीले नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रियरूपमा चिनाउने भरमग्दुर प्रयास गर्नेछौँ ।’

प्रतिक्रिया