चीनका विशिष्ट अधिकारीहरू बुटवलमा

बुटवल । बुटवलसँग मैत्री सम्बन्ध कायम भएको मित्रराष्ट्र चीनको प्रमुख सहर सिआन सिटीका विशेष अधिकारीहरूको टोलीले बुटवलको अवलोकन भ्रमण गर्दै सहकार्यलाई उन्नतस्तरमा पु¥याउने प्रतिबद्धता जनाएको छ । सिआन नगर सरकारका विदेश विभाग प्रमुख छ्याङ सङको नेतृत्वका त्यहाँको रेल–वे विश्वविद्यालय, सिआन विश्वविद्यालय, नगरको जनसरकार, संस्कृति तथा पर्यटकीय सरकारी कम्पनीका अधिकारीहरूको विशेष टोली बुटवलमा आएको हो ।

रेल, संस्कृति एवं पर्यटनका बारेमा जानकार विशेषज्ञ तथा इन्जिनियरहरूसहितको ६ जनाको विशेष टोलीलाई सोमबार बुटवल उपमहानगरपालिकाले स्वागत गरेको थियो । टोलीलाई उपमहानगरपालिकामा स्वागत गर्दै प्रमुख शिवराज सुवेदीले बुद्धबलीको बुटवलको समग्र विकासका लागि आपूmहरूले आवधिक र दीर्घकालीन महत्वका योजनाहरू बनाएको बताए ।

उनले चिनियाँ राष्ट्रपति सी को गृहनगरसँग बुटवलको भगिनी सम्बन्ध कायम गर्न पाउँदा समस्त बुटवलवासी नै उत्साहित भएको भन्दै सम्बन्धलाई समृद्धिको सारथीको रूपमा लिइने र बुटवल–सिआनको सांस्कृतिक आदानप्रदान हुने बताए । सिआन नगर सरकारका मुख्य नेता तथा विदेश विभाग प्रमुख छ्याङ सङको नेतृत्वमा बुटवल भ्रमणमा आएको चिनियाँ उक्त टोलीमा सिआन विश्वविद्यालयका उपकुलपति थाओ होङ, सिआन नगर सरकारका नगर पार्टी को–अर्डिनेसन कमिटी अध्यक्ष टाइपाइफे, सिआन जनसरकारका विदेश विभागका आधिकारिक अनुवादक लुछ्यान तथा सिआनस्थित संस्कृति तथा पर्यकीय सरकारी कम्पनीका व्यवस्थापक तथा इन्जिनियर चाङ्गपो र सिआन रेल–वे विश्वविद्यालयका उपकुलपति आङसेऊ सहभागी थिए ।

बुटवल भ्रमणमा आएको यो टोलीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, नेपाल–चीन सम्बन्धका जानकार तथा विज्ञ डाक्टर सागर न्यौपाने र मोहनलाल भण्डारीले सहजीकरण गर्दै लुम्बिनी, बुद्धबली र बुटवलको सम्बन्ध तथा यहाँको पर्यटकीय विकासका सम्भावनाका बारेमा तयार बुटवलका तर्फबाट जानकारी गराएका थिए ।

ऐतिहासिक बुटवल नगरी र मित्रराष्ट्र चिनको ऐतिहासिक सहर सिआन नगरीका बीचमा आइतबार भगिनी सम्बन्ध स्थापना भएको थियो । यो सम्बन्ध बुटवलको विकास र समृद्धिका लागि महत्वपूर्ण खुड्किलो हुने विश्वास गरिएको छ । चीनको ऐतिहासिक नगरी सिआन सिटी त्यहाँका राष्ट्रपति सी को गृहनगर हो । मित्रराष्ट्र चीनका महामहिम राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणकै अवसरमा बुटवलका लागि यो ऐतिहासिक अवसर जुटेको थियो ।

चीनका राष्ट्रपति सी र नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष समुपस्थितिमा बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र नेपालका लागि चिनियाँ राजदूत होउ याङ् छीले गत आइतबार भव्य समारोहमा उक्त ऐतिहासिक सम्बन्ध स्थापनाको सम्झौतामा हस्ताक्षर गरेका थिए ।

समझदारीपत्र हस्ताक्षर भएको भोलिपल्टै सियान सहरका विशेष अधिकारीहरू बुटवलको अवलोकन भ्रमणमा आएका हुन् । उनीहरूले बुटवलको जितगढी सम्पदा स्थल, हिलपार्कको अवलोकन गरेका थिए । हिलपार्कमा बुटवलले बुद्धपार्क बनाउने तयारी गरिरहेको छ । बुद्धपार्कको अवधारणाका बारेमा बुटवलले उक्त टोलीलाई वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठलगायतका प्राविधिकहरूले चिनियाँ टोलीलाई प्रारम्भिक खाकासमेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया