साहित्य सम्मेलन हुँदै

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले नेपाली संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने लक्ष्यका साथ ‘दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन– २०७६’ गर्न लागेको छ ।

राजधानीमा मंगलबारदेखि कार्तिक ३ गतेसम्म हुने उक्त सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्व हुने प्रतिष्ठानले जनाएको छ । सोह्र जना विद्वानले विभिन्न विषयमा १६ ओटा गोष्ठीपत्रहरू प्रस्तुत गर्ने प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्यायले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त कार्यक्रममा विदेशी पाहुनाको स्वागतमा नेपालीपन झल्किने गीत, संगीत र नृत्यसहितको सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिने सदस्य सचिव उपाध्यायले बताए ।

असोज २८ देखि ३० गतेसम्म विभिन्न विषयका गोष्ठी सञ्चालन हुने छन् । ३० असोजमा काठमाडौंको चन्द्रागिरीमा हुने कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट ‘नेपालमा सांस्कृतिक पर्यटनको सम्भावना’ विषयमा प्रस्तुति समेत रहने प्रतिष्ठानले जनाएको छ । सम्मेलनको औपचारिक समापन कार्यक्रम चन्द्रागिरीमा नै सञ्चालन गरिने छ ।

प्रतिष्ठानले वर्तमान विश्वका नवीनतम प्राज्ञिक प्रवृत्तिहरूसँग नेपाली स्रष्टा–द्रष्टा र लेखकहरूलाई परिचित गराउने उद्देश्यले सम्मेलनको आयोजना गरेको सदस्य सचिव उपाध्यायले जनाए । उनले विभिन्न मित्र राष्ट्रका समान उद्देश्य र प्रकृतिका प्राज्ञिक संस्थासँग दुई पक्षीय सहमति कायम गरी प्राज्ञिक आदानप्रदानका साथै अन्तर्राष्ट्रिय स्तरकै गोष्ठी, सम्मेलन र अन्तरक्रिया कार्यक्रमहरू समेत गर्दै आएको बताए । उनले भने, ‘मित्र राष्ट्रका प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट समेत प्रतिनिधित्व गराउँदै आइएको छ ।’

यसअघि दक्षिण एसियाली राष्ट्रका प्राज्ञिक संस्थाहरू सम्मिलित ‘प्रथम चीन र दक्षिण एसिया साहित्य सम्मेलन– २०१७’ चीनको छेन्दुमा सम्पन्न भएको थियो । उनका अनुसार चीनको संस्कृति मन्त्रालयअन्तर्गत रहेको ‘चिनियाँ संस्कृति अनुवाद अध्ययन सहयोग’ (सिसिटिएसएस) को सहकार्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा अनुवाद र प्रकाशनसम्बन्धी गोष्ठी–२०७५ आयोजना यस अगाडि नै गरिएको छ ।

उपाध्यायले भारतको भारतीय साहित्य अकादमी, चीनको चिनियाँ लेखक संघ, पाकिस्तानको पाकिस्तानी एकेडेमी अफ लेटर्स, बंगलादेशको बांग्ला एकेडेमीसँग साहित्यिक आदानप्रदानका निम्ति दुई पक्षीय सहमतिमा हस्ताक्षर भइसकेको जानकारी दिए । उनले श्रीलंका, माल्दिभ्स र इजरायलका एकेडेमीहरूसँग सहमति हुने प्रक्रिया अगाडि बढेको बताए । उनका अनुसार गैरआवासीय नेपाली संघसँग समेत दुई पक्षीय सहमति भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारकै क्रममा बंगलादेशको सहकार्यमा शेख मुजीबर रहमानको ‘ती अधुरा संस्मरणहरू’, पाकिस्तानसँगको सहकार्यमा ‘पाकिस्तानी महिला लेखन’ नामक पुस्तक प्रतिष्ठानबाट प्रकाशन भएका छन् । प्रतिष्ठानले तयार गरेको प्रतिनिधि नेपाली कविताको ग्रन्थ ‘द भ्वाइस अफ नेपाल’ को पाकिस्तानका विभिन्न भाषामा र चिनियाँ भाषामा अनुवाद प्रक्रियामा रहेको छ ।

कवितामा मातृभूमि

विश्वका विभिन्न मुलुकमा बसोबास गरिरहेका नेपाली स्रष्टाले आफ्ना अनुभव साटासाट गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान र गैरआवासीय नेपाली संघ (एनआरएन) भाषा साहित्य उपसमितिको आयोजनामा भएको ‘अन्तरदेशीय नेपाली कविता’ विषयक विमर्श तथा कवि गोष्ठीमा उनीहरूले आफ्ना अनुभव कविताका माध्यमबाट साटेका हुन् ।

विदेशमा बसेर साहित्य सिर्जना लागेका सर्जकले नेपाल र हाल आफू बसोबास गरेको देशका कला, संस्कृति र अनुभव एकापसमा साटासाट गरेका हुन् । प्रज्ञा प्रतिष्ठानका कुलपति गंगााप्रसाद उप्रेतीले कामको सिलसिलामा विदेशमा रहेका नेपालीले कला, साहित्य र भाषाको क्षेत्रमा काम गर्दै आएको बताए । उनले आफ्नोपन र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा विदेशमा बस्ने स्रष्टा सक्रिय रहँदै आएको जिकिर गरे ।

उनले भने, ‘यस्ता कार्यक्रमको आयोजनाले नेपालमा बसोबास गर्ने कवि र आप्रवासीबीचमा कविबीच कविताका भावनाको साटासाट हुन्छ ।’
प्रतिष्ठानका काव्य विभाग प्रमुख डा. हेमनाथ पौडेलले विदेशमा बस्ने नेपालीले भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताए । विदेशका विभिन्न स्थानमा पुग्दासमेत नेपाली भेटिने गरेको उनले बताए । उनले भने, ‘उहाँहरू त्यहाँ रहेर पनि निरन्तर भाषा र साहित्यको उत्थानमा लागि रहनुभएको छ ।’

उक्त कार्यक्रममा समालोचक डा. गोविन्दराज भट्टराईले नेपाली साहित्यमा ‘डायास्पोरा’ को योगदान विशिष्ट रहेको बताए । उनका अनुसार प्रवासमा रहेका धेरै नेपाली साहित्यकारले कला र साहित्यको विकासमा योगदान गरिरहेका छन् । उनले भने, ‘प्रवासका धेरै नेपालीले कला र साहित्यका क्षेत्रमा विभिन्न कार्यक्रम, प्रदर्शनी तथा पुस्तक प्रकाशित गरिरहेका पाइन्छ ।’

उक्त कार्यक्रममा रुसका कथा र कविता संग्रहको नेपाली अनुवाद, ‘नेपाली साहित्य संगम’, नाज सिंहको कविता संग्रह ‘तिर्खा’ र सुरेन्द्र नेपाल श्रेष्ठको कविता संग्र्रह ‘मेरा आधा शताब्दी’ को विमोचन गरिएको थियो । कार्यक्रममा नेपाली र आप्रवासी गरेर २९ जना कविले कविता वाचन गरेका थिए । प्रतिष्ठान वर्षेनी संघको सम्मेलनको पूर्वसन्ध्यामा साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया