केसीको अवकाशसँगै अल्टिमेटम

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले सरकारलाई माग पूरा गर्ने समयसीमा दिएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै केसीले सरकारले कात्तिक ८ गते भित्र विभिन्न ६ बुँदामा रहेका माग पुरा नगरे कात्तिक १३ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने घोेषणा गरेका हुन् ।

सरकारसँग बारम्बार औपचारिक र अनौपचारिक रूपमा ध्यानकर्षण गराए पनि विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुको सट्टा कुटिलता र जालझेलपूर्वक विषयान्तर गर्ने खोजेको भन्दै डा. केसीले १७औँ सत्याग्रंह सुरु गर्न लागेको बताए ।

डा. केसीले ०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने, विश्वविद्यालयहरूमा पदाधिकारी नियुक्तिमा हालको प्रक्रिया रोकेर परासर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शीता ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्नुपर्ने मागअघि सारेका छन् ।

त्यसैगरी, आन्दोलनरत मेडिकल विद्यार्थीहरूका मागहरू पूरा गर्दै नेपालका सबै नीजि मेडिकल कलेजहरूको अवैध रूपमा असुल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस् र अरबौँको ठगी तथा आर्थिक अपराधका दोषी सञ्चालकहरूलाई फौजदारी कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग केसीको रहेको छ ।

संसदीय उपसमिति माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गर्न माग गर्दै डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु¥याएर एमबिबिएस कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडिजिपी कार्यक्रम सञ्चालन गर्ने अनुमति अनुचित ढंगले प्रधानमन्त्री कार्यालयले अड्काएर राखेकाले त्यसलाई तुरुन्त स्विकृति दिँदै शीघ्र एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरियोस’ डा. केसीले विज्ञप्तिमा भनेका छन्, ‘प्रदेश २ र ४ तथा डोटी र डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस् ।’

डा. केसीले द्वन्द्वपीडितको न्याय सुनिश्चित गर्न संक्रमणकालीन न्यासम्बन्धी आयोगहरूमा पार्टी कार्यकर्ता नभई पीडितको विश्वास जित्ने व्यक्ति नियुक्त गर्नसमेत भनेका छन् । ‘हामीले यो माग बारम्बार राख्दै आएका छौँ । युद्धकालका गम्भीर र मानवताविरोधी अपराध गर्नेहरूलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार दण्ड सुनिश्चित गरेर मात्रै देशमा दण्डहीनताको अन्त गर्न सम्भव हुन्छ । तर, सरकार अहिले पनि सम्बन्धित आयोगहरूमा पार्टी कार्यकर्ता भर्ति गरेर संक्रमणकालीन न्यायलाई तमासा बनाउन उद्दत छ । त्यो अवस्था हामीलाई स्वीकार्य छैन,’ विज्ञप्तिमा भनिएको छ ।

हालसम्मको आन्दोलनका उपलब्धिहरू संस्थागत गर्न सत्याग्रहसहित आन्दोलनको नयाँ चरण सुरु गर्नुको विकल्प नरहेको उनको ठहर छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. केसीले सोमबारदेखि नै सरकारी सेवाबाट अवकास पाएका छन् । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक–पटक अनशन बसेका डा. केसीले सरकारी सेवाबाट उमेर हदका कारण अनिवार्य अवकाश पाएका हुन् ।

६३ वर्षीय डा.केसी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञका रूपमा कार्यरत रहेका थिए ।

यसअघि डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक–फरक जन्ममिति भेटिएपछि विवादमा परेका थिए । डा. केसीको नागरिकतामा जन्म मिति २७ असोज २०१३ रहेको छ । सोही आधारमा नै उनी सोमबारबाट अवकास भएका हुन् ।

प्रतिक्रिया