खुला दिसामुक्त छिमेकी भारत

१ सय ५०औँ गान्धी जयन्तीको अवसर पारेर छिमेकी मित्रराष्ट्र भारतले अक्टुबर ३ अर्थात् असोज १६ गते बिहीबार आफ्नो मुलुकलाई खुला दिसामुक्त घोषणा गर्दैछ । छिमेकी मुलुक भारत खुला दिसामुक्त हुनु नेपालका सन्दर्भमा धेरै नै खुसीको कुरा हो । यसको सकरात्मक प्रभाव नेपाललाई पर्छ । पहिलो कारण नेपाल–भारतबीच १७ सय किलोमिटर खुला सीमा छ । सीमाना जोडिएका भारतका गाउँ तथा बजारका बासिन्दा शौच गर्न नेपाल तर्फ आउने गरेका कारण समस्या उत्पन्न भएको थियो । नेपालतर्फ घर घरमा शौचालयको व्यवस्था गरिएको आधा दशक बितिसक्दासमेत सीमा क्षेत्रमा दिसापिसाबको दुर्गन्ध आउनुको मुख्य कारण भारतले आफ्नो क्षेत्रमा उदासिनता देखाउनु नै थियो । यसैगरी भारतका चेलीहरू विवाह गरेर नेपाल ल्याउने प्रचलन छ । तर सौचालयको प्रयोग नगरेका भारतीय चेलीहरूले नेपालमा आएपछि केही दिन अप्ठेरो पर्ने गरेको छ । नवविवाहित महिलालाई शौचालय प्रयोग गर्ने बानी बसाल्नका लागिसमेत दुई–तीन महिना लाग्ने गरेको तराईका स्थानीयहरूको भनाइ छ । त्यसैैले, भारतले खुला दिसामुक्त क्षेत्र घोषणा नगरेसम्म नेपालको मात्रै प्रयासले खासै उपलब्धि हुने अवस्था थिएन । तर, अब यो समस्या रहेन । नेपाल जस्तै छिमेकी मुलुक भारत पनि खुला दिसामुक्त क्षेत्र भएको छ । दक्षिण एसियाकै लागी गौरवको कुरा हो यो । ३ करोड जनसंख्या भएको नेपाल खुला दिसामुक्त हुनु जति उपलब्धि मुलुक हो त्यो भन्दा कयौँ गुणा उपलब्धि मुलक हो करिब डेढ अर्ब जनसंख्या भएको छिमेकी मुलुक भारत खुला दिसामुक्त हुनु ।

तर भाषण र नारा लगाउन जति सजिलो छ, कार्यान्वयन पक्ष त्यति नै अप्ठेरो छ । तराई तर्फका ग्रामीण क्षेत्रमा जाने हो भने गाउँ बस्ती आउ“दैछ भन्ने संकेत दुर्गन्धले नै गर्दछ । अझ बढी दुर्गन्ध आयो भने भारतीय गाउँको नजिक आइपुगिएछ भनेर सम्झँदा हुन्छ । पहाडतिर पनि घर घरमा शौचालय छन् तर पानीको अभावमा प्रयोग हुन सकेका छैनन् । राजधानी काठमाडौं उपत्याकाकै उदाहरण लिउँ । सहरको मुटु टुँडिखेल, रत्नपार्क, सुन्धारा, जमललगायतका क्षेत्रमा दिन दहाडै महानिसहरूले पिसाब गरिरहेको देखिन्छ । बिहान यस क्षेत्रका सडक हेर्ने हो भने गुहुका थुप्राका कारण टेक्ने ठाउँ खोज्नुपर्छ । आकाशे पुलहरू पनि मानव मलमुत्र बिसर्जन स्थल बनिरहेका छन् । तर, सरकारले तामझामका साथ खुला दिसामुक्त मुलुक घोषणा गरेको छ । यस्ता कामले जनस्तरमा सरकारको साख गिर्छ । जनताको नजरमा नेता भनेका झुटको खेती गर्ने व्यवसायी हुन् भन्ने भान पर्छ ।

खुला दिसामुक्त मुलकका रूपमा नेपाल र भारतले भर्खरै घोषणा गरेका छन् । दक्षिण पूर्वी एसिया कुन स्तरमा रहेछ ? भन्ने उदाहरण हो यो । हामी युरोप, अमेरिका तथा अस्ट्रेलिया, जापानका कुरा गर्छौँ । सिंगापुरको उदाहरण दिन्छौँ, तर उनीहरूले चार सय वर्षअघि नै गरिसकेको काम हामीले अझै गर्न सकेका छैनाैँ । हामी अझै पनि मलमुत्र उचित ठाउँमा विसर्जन गर्न सक्ने अवस्थामा पुगेका छैनौँ । शौचालय प्रयोग गर्न नजान्ने जनसंख्या नेपाल र भारतमा उल्लेख्य छ । यस्तो अवस्थामा यी दुवै मुलुकले ठूलो कुरा गर्नु हुन्न । जबसम्म जनतालाई पेटभरि अन्न पानी खाने र उचित ठाउँमा मलमुत्र विसर्जन गर्न सक्ने अवस्थामा पुर्याउन सकिन्न तबसम्म ठूला–ठूला कुरा गर्नु बेकार हो । हाम्रा प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यस मामिलामा ध्यान दिनै पर्छ । मलमुत्रको दुर्गन्ध यथावत राखेर विश्वसामु आफ्नो देशको प्रतिष्ठा बढ्ने कल्पना ओली र मोदीले नगरे हुन्छ ।

प्रतिक्रिया