चाडबाडको साथः सिकाऔँ बालबालिकालाई नैतिकताको पाठ

कहिलेकाहिँ त समयको गति साँच्चै छिटो चलेको हो कि भन्ने भान हुन्छ । अस्ति भर्खर मनाएको जस्तो लाग्ने चाडबाड घुमिफिरी हाम्रो घरआँगनमा आइदिँदा समयले कति चाँडै एक वर्षको चक्र पुरा गरिसकेछ भन्ने मात्रै चर्चा हुन्छ । पोहोर सालकै ऋण तिर्न नसकेकाको छुट्टै पिडा लुकेको छ भने पोहोर भन्दा यसपाली रमाइलो गर्नु पर्दछ भन्नेको जमात पनि त्यत्तिकै छ । कसैलाई पोहोर साल गाउँ जाँदा हिँड्नु परेर गोडा दुखेको यादले झस्काउँदै छ भने कसैलाई गाउँगाउँमा पुगेको यातायातको सुविधाले आकर्षण बढाउँदैछ । त्यसमा पनि बाध्यता होस या आफ्नै रहरमा परदेश लागेका परदेशीको आफ्नै कथाव्यथा छ ।

सानो भए पनि भाषा, धर्म अनि सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो देशमा आफ्नो संस्कृतिअनुसार विभिन्न चाडबाड मनाउने गरिन्छ । यी चाडबाडको मुख्य उद्देश्य भनेको सामाजिक सद्भाव कायम गर्नु नै हो । अहिले जस्तो मिनेट भरमै आफूले चाहेको मानिससँग कुराकानी र भेटघाट गर्न सक्ने माहोल बनाइदिने प्रविधिको सुरुवात हुनु भन्दा धेरै पहिलेबाट सुरु भएका हुन यी चाडबाड । स्वस्थ मनोरञ्जनमा पारिवारिक तथा आफन्तहरूसँग पुनर्मिलनको अबसर जुटाइदिने काम यी चाडबाडले गर्दछन् । अरुरूेला हुँने भेटघाट र चाडबाडका बेला हुँने भेटघाटमा छुट्टै भिन्नता पाइन्छ । पुराना सम्बन्धलाई गाढा बनाइराख्न र नयाँ सम्बन्धलाई कायम गर्न यसले मद्दत गर्दछ । प्रायः परिवारमा हुर्के बढेकाको नयाँ सम्बन्ध जोड्ने आधार पनि चाडबाड नै भैदिन्छन् ।

बच्चाको खुसीलाई नै आफ्नो खुसी बनाई असल बानीव्यवहार सिकाउन सके मात्र हामी असल अभिभावक हुन सक्दछौँ । यहि कारणले गर्दा आफ्नो परिवारसँग मिलीजुली सौहार्दपूर्ण ढंगबाट बालबालिकालाई चाडबाडको महत्व बुझाउँन असल संस्कार सिकाउँदै स्वस्थ मनोरञ्जनका साथ दसैँ जस्तो महान चाडलाई सभ्य अनि भव्यताका साथ मनाऔँ 

चाडबाडको कुरामा बहुसंख्यक नेपालीहरूले मनाउँने दसैँ अनि तिहारको छुट्टै महत्व छ । शहर पसेकालाई गाउँ फर्काउने र बिदेसिएकालाई घरको याद दिलाउने काम दसैँ अनि तिहारले गरिदिन्छन् । अरूवेला रित्तो—रित्तो देखिने गाउँघर यी चाडबाडले गर्दा भरिपूर्ण हुन्छन् भने अरू वेला सँधै मान्छेको मात्रै जात्रा लागेको हो कि भन्ने आभाष दिलाउने शहर सुनसान जस्तै देखिन्छन् । यसको मुख्य कारण भनेको दसैँ अनि तिहार जस्ता महान चाड मनाउँन मानिसहरू आफ्नो घर फर्कनु नै हो । अरू वेला जहाँ—जहाँ भएपनि यी चाडबाडमा परिवारका सम्पूर्ण सदस्यहरू एकै ठाउँमा बसी या भनौ आफ्नै घरमा बसी मिलिजुली मनाउने परम्परा रहेकोले यस्तो भएको हो । यो परम्पराले व्यस्त जीवनशैलीबाट केही दिनका लागि मात्र भने पनि छुटकारा मिलाउँने अवसर प्रदान गरिदिन्छ ।

असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मनाइने चाड दसैँ भएकाले सबैमा नयाँ उमङ्गको अनुभूति हुन्छ । घर घरमा पूजापाठ गरी विभिन्न शक्तिपिठहरूको दर्शन गर्ने काम पनि यो चाडमा हुने गर्दछ । रातो टीका र जमरा यसको विशेषतामा नै पर्दछ । घटस्थापनाको दिनदेखि विधिवत रूपमा सुरु हुने यो पर्वको महत्वपूर्ण दिनमा विजया दशमीलाई लिने गरिन्छ । मान्यजनको हातबाट टीका थापी आशीर्वाद ग्रहण गर्ने काम यहि दिनबाट सुरु हुने भएकाले यो दिनले विशेष भूमिका खेल्दछ । ठाउँ अनुसार फरक हुने भए पनि धेरै जसो ठाउँमा टीका लगाउने प्रचलन कोजाग्रत पूर्णिमासम्मनै जारी रहन्छ । यसबाट झन् बढी भन्दा बढी आफन्तहरूबीच मेलमिलापको अवसर जुट्ने काम हुन्छ ।

दसैँको रौनक अझ बालबालिकाहरूमा बढी हुने गर्दछ । उनीहरूले लामो समय विदाको अुनुभूति गर्न पाउँने अवसर यो चाडले जुराइदिन्छ । दसैँ र तिहारको अन्तर खासै धेरै नभएकाले अधिकांश विद्यालयहरूमा दसैँदेखि तिहारसम्म नै बिदा हुने गरेको छ । बालबालिकाहरूले दसैँलाई विशेष प्राथमिकतामा राख्दछन् । उनीहरूले यो पर्वलाई आफूले चाहेको माग पूरा हुने उत्सवको रूपमा लिने गर्दछन् । आफ्ना साथीभाइहरूसँग उनीहरूको घरमा भएका र हुन गइरहेका कार्यहरू एकले अर्कालाई जानकारी गराउने काम हुन्छ । साथीहरूको घरमा भएको कुरा आफ्नोमा पुरा हुन सकेन भने उक्त कुराको गुनासो आफ्ना अभिभावकहरूसँग गर्ने गर्दछन् । जसरी होस उनीहरूले चाहेको कुरा यो चाडमा पूरा हुनु पर्दछ ।

सबै बालबालिकाहरूको घरायसी वातावरण एउटै हुन्छ भन्ने चाहिँ छैन । हुन त कुनै पनि अभिभावकले आफ्ना बालबालिका बिग्रिउन भन्ने चाँहदैनन । तर, पनि उनीहरूबीचको सम्बन्धको प्रभाव भने उनीहरूका बालबालिकामा पर्दछ । यहाँ कतिपय यस्ता अभिभावकहरू छन् जो आफ्ना बालबालिकाको चाहना पुरा गर्दैमा आफू असल अभिभावक भएको भ्रममा पर्दछन् । बालबालिकाले चाहेकोे कुरा किनिदिँदैमा सबै थोक पूर्ण हुन्छ भन्ने छैन । उनीहरूले कस्तो संस्कार सिक्दै छन् भन्ने कुरा पनि महत्वपूर्ण हुँन आउँछ । यदि घरमा बाबुआमाको बीच सँधै झैँझगडा भइरहन्छ भने के उनीहरूका छोराछोरीले राम्रो संस्कार सिक्लान् र ? पक्कै पनि सिक्दैनन् ।

हामी भन्ने गर्छौँ कि श्रीमान् श्रीमती एक रथका दुई पांग्रा हुन भनेर । तर के एउटा पांग्रा ठूलो अनि अर्कोचाहिँ सानो भयो भने त्यो रथ राम्रोसँग गुड्न सक्छ होला र ? यदि यस्तो भयो भने त्यो रथ जुनकुनै समयमा दुर्घटनामा पर्न सक्छ । चाहे सुनकै डसना र सिरानी किन नहोस् त्यो घरमा मिठो निद्राको कल्पनासम्म गर्न सकिदैन । हाम्रो समाजमा यस्ता पुरुषहरू पनि छन्् जो चाडबाडका नाममा आफू मात्रै रमाइलो गर्दछन् । आफूचाहिँ पोहोरको भन्दा अझ बढि रमाइलो गर्नुपर्दछ भनी जुवातास र खानपिनमा भुल्ने अनि बिना कारण श्रीमतीमाथि जाइलाग्ने प्रवृत्ति हामीमा भइदियो भने पक्कै नै यसको परिणाम नकारात्मक हुन्छ । यसबाट बालबालिकाले पनि नकारात्मक कुराहरूनै बढी सिक्दछन् ।

आफ्ना बालबालिकालाई चाडबाडको साथमा नैतिकताको पाठ तब मात्र सिकाउन सकिन्छ जब बाबुआमा सँगसँगै मिली पूर्ण पारिवारीक माहोल सृजना गर्न सक्दछन् । यसका लागि चाडबाडका हरेक पल बच्चाहरूसँग नजिक भई उनीहरूसँगै समय विताउने व्यवस्था मिलाउँनु पर्दछ । यदि हामीले दसैँ के हो र के उद्देश्यका लागि यो पर्व मनाइन्छ भनेर गुनगान गाउनुभन्दा पनि उनीहरूलाई प्रत्यक्ष संलग्न गराई व्यवहारिक हिसाबले ज्ञान दिलाउन सक्नु पर्दछ । बच्चाको खुसीलाई नै आफ्नो खुसी बनाई असल बानीव्यवहार सिकाउन सके मात्र हामी असल अभिभावक हुन सक्दछौँ । यही कारणले गर्दा आफ्नो परिवारसँग मिलीजुली सौहार्दपूर्ण ढंगबाट बालबालिकालाई चाडबाडको महत्व बुझाउन असल संस्कार सिकाउँदै स्वस्थ मनोरञ्जनका साथ दसैँ जस्तो महान चाडलाई सभ्य अनि भव्यताका साथ मनाऔँ ।

प्रतिक्रिया