बढ्दो अराजकता

पछिल्ला दिनमा मुलुकमा अराजकता बढेर गएको छ । राज्यका संयन्त्रप्रति जनताको विश्वास घटेको छ । कानुन हातमा लिने प्रवृति बढेको छ । कानुन हातमा लिने मामिलामा मुलुकको नीति निर्माण तथा कार्यन्वयन तहमा रहेकाहरू नै धेरै छन् । साथै कतिपय संगठित शक्तिहरूले पनि कानुन हातमा लिएको देखिएको छ । उदाहरणका लागि केही साताअघि नेपालगञ्जबाट काठमाडौं फर्कने क्रममा पर्यटन मन्त्री योगेश भट्टराईले केही समय विमान डिले गराए । यो डिले विरुद्ध राजावादी कार्यकर्ता ज्ञानेन्द्र शाहीको नेतृत्वमा मन्त्री भट्टराईमाथि हुलहुज्जत भयो । मन्त्री भट्टरार्ईमाथि गरिएको हुलहुज्जतलाई राजावादी कार्यकर्ता ज्ञानेन्द्र शाहीले सगौरव सामाजिक सञ्जालमा प्रकाशित गरे । यो घटनापछि सत्तारूढ नेकपाका योगेशनिकट कार्यकर्ताहरू निकै आक्रोसित बने । केहीले संगठनको लेटर प्याड प्रयोग गरेर शाहीलाई विभिन्न जिल्ला प्रवेशमा निषेध गरिएको विज्ञाप्ति सार्वजनिक गरे । संगठनको लेटर प्याड नै प्रयोग गरेर जिल्ला प्रवेश निषेधको घोषणा गर्नु आँफैँमा अराजकता हो, त्यो पनि सत्तारुढ दलकै भ्रातृ संगठनको लेटर प्याडमा । त्यतिवेला विज्ञप्तिलाई धेरैले गम्भीररूपमा लिएका थिएनन् । तर, गत शनिबार चितवनमा एउटा सार्वजनिक कार्यक्रममा भाग लिने क्रममा शाहीमाथि भौतिक आक्रमण भएको छ । आक्रमण सत्तारुढ नेकपाकै कार्यकर्ताले गरेको कुरा बाहिर आइसकेको अवस्थामा सरकारले सामान्य कारवाही गरेर मात्रै पुग्दैन , यसका लागि छनबिन समिति नै बनाउनु पर्छ । सत्तारुढ पार्टीका कार्यकर्ता आँफूसँग असहमत हुने विरुद्ध हिँसात्मकरूपमा प्रस्तुत हुनुको अर्थ हो । लोकतन्त्र समाप्त हुँदैछ । शान्तिपूर्ण विरोध कार्यक्रमको जवाफ हिंसाले दिइएको यो घटनालाई सामान्यरूपमा लिनु हुन्न । लोकतन्त्र बद्नाम बनाउने डिजाइनअन्तर्गत यो घटना भएको हुनुपर्छ । त्यसैले आयोग बनाएरै छानबिन गर्नु जरुरी छ ।

अराजकता बढेपछि त्यसका सहउत्पादनहरू थुप्रै हुँदा रहेछन् । उदाहरणका लागि सबैभन्दा घुस्याहा दुई कर्मचारी आपसमा भेट हुँदा नेतालाई गाली गरेर गफ सुरु गर्छन् । उनीहरूको भनाइ हुने गर्छ, ‘नेताहरूले देश बरवाद पारे ।’ सरकारी अस्पतालभित्र सरकारी औषधी पसल छन् । बाहिरभन्दा त्यहाँ कम्तिमा २० प्रतिशत सस्तो औषधी पाइन्छ , तर बिरामी तथा बिरामीका आफन्तहरूले त्यहाँ औषधी किन्न सक्ने अवस्था रहन्न । बाहिरका औषधी पसलसँग कमिसन लिने र सरकारी औषधी पसलमा ग्राहकलाई भुलाउने प्रवृत्ति देखिन्छ । बिरामी तथा बिरामीका आफन्तसम्म राज्यको सेवा पुग्न नदिने यिनै अपराधीहरू औषत्री पसलभित्रै बसेर गफ चुटिरहेका हुन्छन्, ‘नेताहरुले देश बिगारे ।’ बसभित्र गएर हेर्न हो भने जेष्ठ नागरिक , अपांगता भएका,गर्भवती तथा काखे नानी बोकेकाहरू सकिनसकी उभिइरहेको देखिन्छ,उनीहरुका लागि छुट्याइएको आरक्षणको सिटमा बसिरहेका मुस्तण्डेहरू आपसमा गफ गर्छन्, ‘नेताहरुले देश बिगारे ।’ ‘जो चोर उसको ठूलो स्वर’ भनेजस्तो भएको छ यतिवेला हाम्रो मुलुकमा । सज्जनहरू चुपचाप छन्, सके आफ्नै मुलुकभित्र केही गरिरहेका छन् ,नसके वैदेशिक रोजगारीमा गएका छन् । तर दुर्जनहरूले जनतालाई ठगिरहेका छन् , लुटिरहेका छन् , अनि उनीहरूकै मुखबाट सुन्नु पर्छ, ‘नेताहरुले देश बिगारे ।’ हरेक क्षेत्रमा बद्मासी भइरहेको छ । बद्मास तथा फटाहहरू संगठित छन् । सदाचारका अर्ती उपदेश उनीहरूले नै दिन थालेका छन् । ज्ञानेन्द्र शाहीकै उदाहरण लिऊ“ । उनी राजतन्त्र पुनर्वहालीका अभियन्ता हुन् । तर, भ्रष्टाचार नियन्त्रण तथा सदाचारको भाषण उनकै मुखबाट धेरै आउँछ । के राजावादी अभियानमा लागेकाहरूले सदाचारका कुरा गर्न पाइन्न र ? भन्ने प्रश्न पनि उठ्ला , तर राजावादीहरूले सदाचारका कुरा गर्नु केवल ढोंग मात्रै हो । विगतका धेरै घटनाले यो कुराको पुष्टि गरिसकेका छन् ।

प्रतिक्रिया