एक आवको बेरुजु १६ करोड

अर्घाखाँची । सुशासन प्रर्वद्धनका लागि जिल्लास्तरीय नागरिक सञ्जाल अर्घाखाँचीले सरकारी कार्यालयमा बढ्दो बेरुजुप्रति समयमै सचेत रहनुपर्नेमा जोड दिएका छन् ।

जिल्लामा रहेका नागरिक समाजले सरकारी कार्यालमा बेरुजुको अधिक समस्या रहेको भन्दै तत्काल कदम चाल्न जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको ध्यानकर्षण गराएको छ । एकीकृत ग्रामीण विकास समाज तथा पारस्परिक जवाफदेहिता परियोजनाअन्र्तगत जिल्लाका नागरिक समाज संस्थाहरूको सञ्जालले अर्घाखाँची जिल्लाका सबै सरकारी कार्यालयहरूको आव ०७४÷७५ को बेरुजु १५ करोड ९६ लाख ९४ हजार २ सय २१ रुपैयाँ ४५ पैसा रहेको भन्दै यसले स्थानीय सरकार तथा सार्वजनिक निकायलाई हेर्ने दृष्टीकोणमा समेत फरक आएको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।

ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्मा भुसालले नागरिक समाजले समासामयिक तथा जल्दोबल्दो सवाल उठाएको भन्दै जिल्लाका स्थानीय सरकार र अन्य संघीय कार्यालहरूमा देखिएको बेरुजु फस्र्याेट गर्न लागिपर्ने बताए । उनले बेरुजु नै नआउने गरी काम गर्नुपर्नेमा जोड दिँदै आइसकेको बेरुजुलाई यथाशीघ्र फस्र्याेट गर्नुपर्ने बताए ।

त्यस्तै ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बिभिन्न कार्यालयमा देखिएको बेरुजुलाई शून्यमा झार्न समन्वय गर्ने बताए । थापाले कार्यालय प्रमुखसँगको बैठकमा समेत यस बारेमा छलफल भएको भन्दै शून्य बेरुजुको अभियानमा लागिरहेको बताए । कोष तथा लेखा नियन्त्रण कार्यालय अर्घाखाँचीको च.नं. १३९ को पत्रानुसार जिल्लाका ६ स्थानीय तहको बेरुजु ५ करोड ३८ लाख ८९ हजार ५९ रुपैयाँ ४५ पैसा छ । जसमध्ये मालारानी गाउँपालिकाले १५ लाख, भूमिकास्थान नगरपालिकाले ४७ हजार ४४ रुपैयाँ र शीतगंगा नगरपालिकाले केही रकम फस्र्याेट गरेका छन् ।

कार्यक्रममा सुशासन प्रवद्र्धनका लागि जिल्लास्तरीय नागरिक सञ्जालका संयोजक पर्सुराम पाण्डे, पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसी ‘लेकाली’, गैसस महासंघका कोषाध्यक्ष गणेश खनाल, लोकतान्त्रिक गैसस महासंघका केन्द्रीय सदस्य बाबुराम पौडेल, एकीकृत ग्रामीण विकास समाजका अध्यक्ष हृदयकुमार भुसाल, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, दिगो सामुदायिक विकास केन्द्रका चन्द्रा गैरे, नेपाल दलित उत्थान संघका कमल विश्वकर्मा, उत्पीडित तथा जनजाति विकास परिषद्का लक्ष्मण नेपाली लगायतका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

हृदय भुसाल

अर्घाखाँची

प्रतिक्रिया