एनआरएन कोरिया, कांग्रेसको गढमा नेकपा विजयी

दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन) दक्षिण कोरियामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न भएको संघको ७औँ राष्ट्रिय महाधिवेशनबाट कांग्रेस निकट अध्यक्षका उम्मेदवार बिपिन गुरुङलाई पराजित गर्दै नेकपा निकट यज्ञराज सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् । सर्वसम्मत नेतृत्वका लागि सहमति जुट्न नसकेपछि चुनावी प्रतिस्पर्धा भएको निर्वाचन समितिका सदस्य अशोक मैनालीले जानकारी दिए ।

सुवेदीले कुल ७९४ मत प्राप्त गरेका हुन, भने उनका निकटतम प्रतिद्वन्दी गुरुङले कुल ६५४ मत मात्र प्राप्त गरे । सोही १४० मतको अन्तरले सुवेदी विजयी भएका हुन् । कांग्रेस निकट अध्यक्ष उम्मेदवार बिपिन गुरुङको जित सुनिश्चित भएको तर कांग्रेसबाटै अर्का अध्यक्षका उम्मेदवार बुद्धि गुरुङले उम्मेदवारी फिर्ता नलिएकै कारणले मत बिभाजन हुन गएकोले बिपिन गुरुङले पराजय व्यहोर्नु परेको चुनावी विश्लेषकहरुको धारणा रहेको छ । कांग्रेसबाटै अर्का अध्यक्षका उम्मेदवार बुद्धि गुरुङले ३१८ मत ल्याएका थिए ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिपक पुन, उपाध्यक्षमा सोम तामाङ, सञ्जिव राई र यदु लामिछाने निर्वाचित भएका छन् । त्यस्तै महासचिवमा बिमल सुवेदी, सचिवमा राजकुमार स्याङ्ताङ र मनोज गौतम बिजयी भएका छन्। त्यसैगरी कोषाध्यक्षमा चन्द्र राना, सह–कोषाध्यक्षमा सन्तोष खड्का र युवा संयोजकमा अरूण श्रेष्ठ विजयी भएका छन् । महिला संयोजकमा शुभद्रा पालुङ्गवा निर्विरोध चयन भएकी छन् ।

आइसिसी सदस्यमा निवर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङ र ओम जुग्जाली निर्विरोध चयन भएका छन् । सदस्यहरुमा दिनेश चौलागार्इं, उमेश पोखरेल, ओम बहादुर कार्की, सुवास चन्द्र चौधरी, अबधेश राज चौरशिया र बिश्वमणि दाहाल पनि निर्विरोध नै चयन भएका हुन् । अधिवेशनमा एनआरएनए कोरियाको आतिथ्यतालाई स्विकार्दै एनआरएनए आइसिसि अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त र मिडल इस्ट एसिया संयोजक आर के शर्मा लगायतका व्यक्तित्वहरु कोरिया आएका थिए ।

प्रतिक्रिया