सुर्खेत विमानस्थल विस्तार हुँदै

सुर्खेत । लामो समयदेखि चर्चामा रहेको सुर्खेत विमानस्थल विस्तार गरिने भएको छ । विमानस्थल विस्तारको लागत करिब आठ अर्ब लाग्ने अनुमान गरिएको छ । विमानस्थल विस्तार गर्न आएको नागरिक उड्डयन प्राधिकरणको एक टोलीले विमानस्थल विस्तार सम्भव रहेको प्रारम्भिक रिपोर्ट सार्वजनिक गरेको हो ।

१ हजार २ सय ५५ मिटर लम्बाई तथा ३० मिटर चौडाइ रहेको धावनमार्गमा अहिले ४८ सिटे जहाज मात्रै उडान भर्ने र त्यसले भाडामा महँगो पर्ने भएको बताउँदै प्रदेश सरकारले ७२ सिटे जहाज उडान गर्न मिल्ने गरी विमानस्थल विस्तार गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग अनुरोध गरेको थियो । सोही अनुरोधलाई सम्बोधन गर्दै मन्त्रीले नै यहाँ प्रारम्भिक सर्भेका लागि टिम पठाएका थिए ।

विमानस्थलको दक्षिणतिर रनवे विस्तार गर्न सकिने अवस्था नरहेको रिपोर्टले जनाएको छ । तसर्थ विमानस्थलको रनवे उत्तरतिर गर्नुपर्ने भएको छ । रिपोर्टका अनुसार पाँच सय मिटर जग्गा उपलब्ध भए ७२ सिटे जहाज सहजै उडान गर्न सकिनेछ । विमानस्थलका लागि लागि सरकारले १६ बिघा जमिन अधिग्रहण गर्न आवश्यक देखिएको छ । सर्भे टिमका अनुसार अहिलेको बजार भाउअनुसार जग्गाका लागि पाँच अर्ब तथा अन्य संरचना निर्माण गर्न तीन अर्ब बजेट लाग्ने अनुमान गरिएको छ । ७५ करोड घरको क्षतिपूर्ति, ५० करोड विद्यालय तथा ३ अर्ब ७५ करोड जग्गामा खर्च हुने बताइएको छ ।

विमानस्थल विस्तार तीन चरणमा गर्न सकिने पनि टोलीले जनाएको छ । जसअनुसार पहिलो चरणमा जग्गा अधिग्रहण गरिनेछ । भने दोस्रो चरणमा रन वे विस्तारको काम हुने जनाइएको छ । र, तेस्रो चरणमा टर्मिनल निर्माण, रात्रिकालिन उडानका लागि लाइटिङ गर्न पर्छ र पार्किङ निर्माण गर्नुपर्ने भएको हो ।

प्रतिक्रिया