सेनाको साख

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै नेपाली सेनामा नया“ इतिहास रचेका छन् । विकृति तथा विसंगतिको अन्त्य गर्दै नेपाली सेनाको साख वृद्धिका लागि आफूले यो सुरुवात गरेको उनको भनाइ छ । उनले नेपाली सेनाका सबै अधिकृतलाई सम्पत्ति विवरण सार्वजनिक गर्न आह्वानसमेत गरेका छन् । नेपाली सेनाका क्रियाकलाप अपारदर्शी भएको, सेनाभित्रका गतिविधि मिडियामा नआउने भएकोले भ्रष्टाचार बढेको जनगुनासो सुनिन थालेको धेरै भइसकेको थियो । खासगरी तल्लो तहका अधिकृत तथा जवानहरूले सेनाभित्र कहालीलाग्दो अनियमितता भएको नाम उल्लेख नगर्ने शर्तमा बताउने गरेका छन् । यो अवस्थामा प्रधानसेनापतिबाट सम्पत्ति विवरण सार्वजनिक हुनु धेरै हदसम्म सुखद पक्ष हो । राज्यका मुख्य अंग, निकाय तथा संयन्त्रहरूको साख घट्दै गएको छ । भ्रष्टाचारका कारण साख घटेको हो । नेपाली सेना भनेको राज्यको मेरुदण्ड हो । सेनाको साख यसरी नै घट्दै जाने हो भने मुलुक धरापमा पर्न सक्छ । प्रधान सेनापति थापाले समयमै यो खतराको महसुस गरेको देखिएको छ । उनको आह्वानअनुसार अब सेनाका अधिकृत तहदेखि माथिका सबैले हरेक वर्ष आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्छ ।

सामान्यतया पत्रकार आचार संहितालाई ख्याल गर्दै मिडियाहरूले नेपाली सेनाभित्रका खराब गतिविधिहरू बाहिर ल्याउने गरेका छैनन् । मुलुकको प्रमुख सुरक्षा निकाय अर्थात् सेनामा विद्रोह तथा विभाजन आउने गरी समाचार प्रवाह नगर्ने प्रचलन विश्वका लोकतान्त्रिक मुलुकहरूमा पनि छ । तर, यही आडमा सेनाले ठूलो भ्रष्टाचार गर्ने विश्लेषण राजनीतिक शास्त्री तथा सुरक्षाविद्हरूले पनि गरेका छन् । खासगरी अविकसित, अल्पविकसित र विकासशील मुलुकको सेना भ्रष्टाचारमा चुर्लुम्म डुब्ने गरेको विश्लेषण राजनीतिकशास्त्री तथा सुरक्षाविद्हरूबाट आउने गर्छ । नेपाल पनि विकासशील मुलुक हो, जहाँको लोकतन्त्रले संस्थागत रूप लिइसकेको छैन । यस्तो अवस्थामा पहिलो कुरा सेनाभित्रको गतिविधिलाई निश्चित सीमासम्म पारदर्शी बनाउनुपर्छ, दोस्रो कुरा सेनाभित्र लोकतान्त्रीकरण गर्दै लैजानुपर्छ । तर, लोकतान्त्रीकरण र पार्टीकरणलाई एउटै परिभाषामा राख्ने कमजोरी सेनाबाट वेला वेलामा प्रकट भएको पाइन्छ । सेनाभित्र तल्लो तहकालाई सास्ती र माथिल्लो तहकालाई मस्ती भइरहका गुनासा पनि आउने गरेका छन् । उदाहरणका लागि माथिल्लो तहका अधिकृतहरूको तलब सुविधा यसै पनि बढी हुन्छ तर उनीहरू आफ्नो कार्यकालमा ६ पटकसम्म शान्ति सेनामा जान्छन्, आफू मात्रै होइन आफ्ना ड्राइभरहरूलाई पनि यो मौका दिन्छन् । सिपाही तथा हवल्दारहरूको तलबभत्ताले परिवार धान्न सम्भव छैन । जसका कारण तल्लो तहमा असन्तुष्टि बढ्दो छ । पेन्सन पाकेपछि एक महिना पनि उनीहरू सेवामा बस्दैनन् । वैदेशिक रोजगारीमा गइहाल्छन् ।

०७२ सालको भूकम्पले ध्वस्त बनाएका भौतिक संरचना हेर्ने हो भने केही अपवादलाई छाडेर नेपाली सेनाले बनाएका संरचना बढी ध्वस्त भएका छन् । नेपाली सेनाले निर्माण गरेका भौतिक संरचना कमजोर हुनु भनेको नेपाली सेनाको साख गिर्नु हो । यसैगरी राणा शासनको प्रारम्भपछि निकै लामो कालखण्डसम्म नेपाली सेना पारिवारिक बिर्ताजस्तो बन्यो । राणा परिवारका सदस्यहरूले जन्मनासाथ जर्नेलको दर्जा पाउन थाले । मेजर तहदेखि माथि सर्वसाधरणको पहुँच रहेन । जसका कारण मेजर तहदेखि माथि बोल्ने भाषा नै अलग भयो । मेजर तहदेखि माथिका अधिकृतका श्रीमतीहरूलाई रानी साहेब भन्न थालियो । राणाकी श्रीमतीलाई रानी साहेब भन्ने चलन थियो, मेजरदेखि माथि राणाहरू नै हुन्थे । ‘बक्स्योस्’ भन्ने भाषा राणा तथा शाही परिवारमा बोलिन्थ्यो । २००७ सालको परिवर्तनपछि राणा र शाह खलकबाहेक पनि सर्वसाधारणका छोरा प्रशस्त मात्रामा मेजर तहभन्दा माथि पुग्न थाले तर भाषा र शैली भने परिवर्तन भएन । ‘रानी साहेब’ र ‘बक्स्योस्’ ले निरन्तरता पाइरह्यो । अहिलेसम्म पनि यसले निरन्तरता पाइरहेको गुनासो सेनाका जवानहरूले गरिरहेका छन् । ‘रानी साहेब’को पेन्टी तथा पेटिकोट धुन अहिले पनि सेनाका कतिपय जवान बाध्य रहेको गुनासो सुनिन्छ । अर्दली राख्ने परम्परा अहिले पनि छ । बहालवालाले मात्रै होइन रिटार्यड भएकाहरूले जनि दर्जनको संख्यामा सेनाका जवानलाई अर्दलीका रूपमा राख्ने गरेको समाचार आइरहेका छन् । किन यस्तो भयो ? प्रधानसेनापति थापाले अवश्य पनि ध्यान दिनुपर्नेछ । नेपाली सेनाको साख वृद्धिका लागि अझै धेरै काम गर्न बाँकी छ ।

प्रतिक्रिया