७३ वर्षमा जुम्ल्याहा सन्तान

एजेन्सी, नयाँ दिल्ली । भारतको आन्ध्र प्रदेश राज्यमा ७३ वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छन् । एरामती मंगयम्माको गर्भबाट बुधबार बिहान साढे १० बजे शल्यक्रिया गरेर जुम्ल्याहा छोरी निकालिएको हो । उनको शल्यक्रिया गरेकी डा.उमा शंकरले भनिन्, ‘आमा र बच्चाहरूको स्वास्थ्य अहिले ठीक छ । शिशुहरूलाई २१ दिनसम्म चिकित्सकको निगरानीमा राखिनेछ ।’ ती वृद्धाले सबैभन्दा बढी उमेरमा जुम्ल्याहा बच्चा जन्माउने कीर्तिमान बनाउन सक्ने ठानिएको छ । यसअघि सन् २००६ मा स्पेनमा जुम्ल्याहा बच्चा जन्माएकी एक महिलाको उमेर ६६ वर्ष थियो । हुन त केही मानिसहरूले त्यो कीर्तिमान भारतकै ओमकारी पनवारको नाममा रहेको बताउने गरेका छन् । सन् २००७ मा ती महिलाले ७० वर्षको उमेरमा जुम्ल्याहाको जन्म दिएको बताइन्छ ।

जुम्ल्याहा पाएपछि खुसी व्यक्त गर्दै मंगयम्माले भनिन्, ‘मानिसहरूले मलाई बाँझो भन्ने गर्थे । मैले धेरै पीडा झेलेकी छु । अतः मैले बच्चा जन्माउने निर्णय गरेँ । मेरो जीवनको यो सबैभन्दा खुसीको क्षण हो ।’ श्रीमतीले जुम्ल्याहा पाएपछि श्रीमान् एरामती सिताराम राजाराव पनि उत्तिकै प्रफुल्ल छन् । उनले भने, ‘अब म खुसी छु । डाक्टरहरूले गर्दा यो सब सम्भव भयो । यो अस्पतालमा उपचार गराएको दुई महिनाभित्र मेरी श्रीमती गर्भवती भइन् । हामी नौ महिनादेखि अस्पतालमै छौँ । हामी यी बच्चाको राम्ररी हेरचाह गर्नेछौँ ।’

यी दम्पती आन्ध्र प्रदेशमा पर्ने नेलापर्तिपडु गाउँका बासिन्दा हुन् । उनीहरूको बिहे सन् १९६२ को मार्च २२ तारिखमा भएको थियो । सन्तान जन्माउन उनीहरूले धेरै ठाउँमा उपचार गराएका थिए । केही दिनअघि उनीहरूकै क्षेत्रमा एक ५५ वर्षीया महिलाले बच्चा जन्माएकी थिइन् । हाल बच्चा पाएको अस्पतालमा एक दिन आवश्यक परीक्षणपछि डा. उमा शंकरले मंगयम्माको उपचार थालेकी थिइन् ।

टाइम्स अफ इन्डियामा कुराकानी क्रममा मंगयम्माले आफ्ना श्रीमानले सधैँ आफ्नो साथ दिएको बताएकी छन् । ‘उनीहरू मलाई सन्तानविहीन महिला भनेर हेप्थे,’ नेलापर्तिपडु गाउँकी वासिन्दा मंगयम्माले भनिन्, ‘बाँझी भन्थे । तर, मेरा श्रीमान् सधैँ मेरो सामु उनीहरूलाई जवाफ दिन उभिनुभयो ।’ तर, आखिरमा उनीहरूले समाजसँगको लडाइँ ‘जितेको’ महशुस गरेका छन् । उनीहरू आफ्ना उमेरका बाबजुद सन्तान हुर्काउन उत्साहित र आत्मविश्वासी देखिएका छन् । ‘म दुई छोरीको बाबु भएँ । मलाई एकदमै गर्व छ । हामी अब समाजलाई हाम्रा सन्तान देखाउन सक्नेछौँ, ’ सितारामले भनेका छन् ।

तर, एकातिर खुसीको माहोल भइरहँदा उनीहरूलाई समस्या पनि आइलागेको छ । सन्तान जन्मेको भोलिपल्टै सितारामलाई मुटुमा समस्या आएको थियो । ‘स्ट्रोक’ भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ । मंगयम्मा र सितारामका जुम्ल्याहा छोरीहरू शल्यक्रिया गरी निकालिएका हुन् । उमेर निकै भइसकेकाले चिकित्सकीय सहयोगबिना उनले बच्चा पाउन सम्भव थिएन ।

गर्भाधारणका लागि मंगयम्माले एक दाताबाट डिम्ब लिइन् र प्रयोगशालामा आईभीएफ विधिमार्फत् उनका श्रीमान् सितारामको शुक्राणुबाट सेचन गराइयो । त्यसपछि बनेको भ्रुणलाई मंगयम्माको गर्भमा प्रतिस्थापित गरियो । अन्ततः उनी वृद्धावस्थामा गर्भवती भइन् । धेरै उमेर भइसकेका महिलामा गर्भधारणको प्रक्रिया जटिल हुन्छ र त्यस्ता गर्भवती महिलाले अझ बढी सावधानी अपनाउनुपर्ने हुन्छ । उमेर धेरै भएका कारण मंगयम्माको सामान्य प्रसूति हुन सम्भवै थिएन । सन् २०१६ मा पनि दलजिन्दर कौर नामकी भारतीय महिलाले छोरा जन्माएर चर्चामा आएकी थिइन् । पाको उमेरमा आमा बन्दा शारीरिक र मानसिक रूपमा धेरै कठिनाइ भएको पनि उनले बताएकी थिइन् ।

प्रतिक्रिया