एनआरएनए कोरियाको नेतृत्व विषेश कार्यक्रम साझा बहस सम्पन्न

दक्षिण कोरिया । आउदो सेप्टेम्बर २१ र २२ मा हुन गइरहेको एनआरएनए दक्षिण कोरियाको सातौं महाधिवेशनका सन्दर्भमा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको आयोजनामा नयाँ नेतृत्वका लागि उम्मेदवारहरुसंगको साझा बहस कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । राजधानी सउल स्थित प्रवासी मजदुर युनियनको हलमा आयोजित कार्यक्रममा एनआरएनए दक्षिण कोरियाको आउदो महाधिवेशनमा नयाँ नेतृत्वका लागि विभिन्न पदका उम्मेदवारहरु, संघ संस्थाका प्रतिनिधिहरु र पत्रकारहरु लगायत कोरियामा रहेका आम नेपालीहरूको भव्य उपस्थिति रहेको थियो ।

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष रंजनराज कुंवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनएले अहिले सम्म गरेका राम्रा कार्यहरु तथा गर्न नसकेका कार्यहरु र कोरियामा रहेका आम नेपालीहरुको एनआरएनए प्रतिको आकर्षण, जनगुनासो र उम्मेदवारहरुका भावी योजनाहरुको बारेमा बहस केन्द्रीत रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष किसन गौतमले भने, एनआरएनए दक्षिण कोरियाले बिगतमा नेपाल र नेपाली समुदायका लागि के कस्ता कामहरु गर्यो र कहाँ गएर चुकेको अवस्था छ ? र चुनौतीहरु के के छन ?

उनले भने, आगामी नेतृत्वमा आउन चाहने उम्मेदवारहरुसंग बिगतका नेतृत्वमा पुरा गर्न नसकेका कामहरु पुरा गर्न के कस्ता योजनाहरु रहेका छन ? भन्ने कुराको कोरियामा रहेका आम नेपालीहरुको चाँसोको विषय भएकोले नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले भावी नेतृत्वका उम्मेदवारहरुलाई सर्वसाधारणहरुसंग बहसमा ल्याएको र यो सार्वजनिक बहस सक्षम नेतृत्व चयनका लागि अमूल्य रहने नेपाल पत्रकार महासंघको बुझाई रहेको बताए ।

कार्यक्रममा वर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङले आफ्नो कार्यकालमा भएका कामहरुबारे जानकारी गराउदै एनआरएनए दक्षिण कोरियालाई नयाँ क्षेत्रहरु थपेर क्षेत्रीय अबधारणामा अघि बढाएको र एनआरएनएको दर्ता प्रक्रिया अघि बढाएको कुरा बताउदै चुनावको बेला मात्र होइन अरु बेलामा पनि सबैले संस्थाको निगरानी राख्नु पर्ने बताइन ।

उनले भनिन्, एनआरएनएको चुनावको बेला यसो गर्छु उसो गर्छु भनेर उम्मेदवार बन्ने र चुनाव जितेर पनि आउने र एक दुइ वटा बैठकमा आएर त्यसपछि हराउने प्रवृतिले आफूले सोचे जस्तो काम गर्न नसकेको बताइन् । संस्थामा समय दिन सक्ने र जिम्मेवारी बहन गर्न सक्ने व्यक्ति मात्र नेतृत्वमा आउनुस सुझाए । एनआरएनए दक्षिण कोरियालाई भोलिको पुस्ताले गर्व गर्न सक्ने खालको बनाउन सफल र सक्षम नेतृत्व चयनका लागि सदस्यता शुल्कमा नबेचिन समेत उनले आग्रह गरिन् ।

कार्यक्रममा आउदो महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका विपिन गुरुङ, यज्ञराज सुवेदी र बुद्धि गुरुङ, वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार दिपक पुन र जीवन कुमार थापा, उपाध्यक्ष पदका उम्मेदवार यदु लामिछाने, ईश्वर रोकाया, सोम बाइबा तामाङ र संजीव राई , महासचिव पदका उम्मेदवार धर्मराज जोशी र बिमलराज सुवेदी, सचिव पदका उम्मेदवार किशोर कोइराला र अभिषेक सापकोटा, कोषाध्यक्ष पदका उम्मेदवार कुसाङ शेर्पा र राजेन्द्र दुलाल र आइसीसी सदस्यका लागि वर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङ, ओम जुङ्जाली लगायतले आफ्ना भनाईहरु राख्दै आफूलाई बिजयी गराउन आफ्नो दावेदारी प्रस्तुत गरेका थिए । पहिलो चरणको औपचारिक कार्यक्रम सकिएपछि दोस्रो चरणमा पत्रकारहरु र सर्वसाधारणसंगको अन्तरक्रिया कार्यक्रममा विषेशगरी अध्यक्ष पदका तीनै जना उम्मेदवार र महासचिव पदका दुई जना उम्मेदवारहरुलाई सोधिएका प्रश्नहरुको वहाँहरुले जवाफ दिएका थिए ।

एनआरएनए दक्षिण कोरियालाई बैधानिक प्रक्रियामा लाने, मजदुर मैत्री बनाउने र सबै नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गर्ने कुरामा तीनै जना अध्यक्ष पदका उम्मेदवारहरुको एउटै भनाई रहेको थियो । संस्था र नेपाली समुदायको लागि आफुले दिएको सामाजिक योगदान र आगामी दिनहरुमा संस्थालाई समय दिन सक्ने र सक्षमताका आधारमा मूल्यांकन गरेर आफूहरू मध्येबाट अध्यक्ष छान्ने छुट सबै एनआरएनए सदस्यहरुमा रहेको भन्दै अध्यक्ष पदका दावेदार विपिन गुरुङ र बुद्दि गुरुङले आफुले नेपालीहरुका समस्याहरुमा गरेको सहयोग र सामाजिक क्षेत्रमा गरेको योगदान नै आफुहरुको चुनाव जित्ने आधार भएको बताएका थिए ।

यसैगरी अध्यक्ष पदका अर्का उम्मेदवार यज्ञराज सुवेदीले लामो समयदेखि एनआरएनए दक्षिण कोरियाका काम कारबाही र गतिविधिहरु नजिकबाट नियाली रहेको र राजधानी सउलमा बसोबास गर्ने मात्र एनआरएनए नभएर कोरियाभरि नै बसोबास गर्ने नेपालीहरु एनआरएनए हुन भन्दै एनआरएनएलाई झोले एनआरएनए होइन संस्थागत एनआरएनए बनाउनका लागि आफू नेतृत्वमा आउन अगाडी बढेको बताए ।

प्रतिक्रिया