एनआईसी एसियाको आर्थिक अपराध !

काठमाडौं । सबैभन्दा धेरै मुनाफा कमाउन सफल भनेर विज्ञापन गर्ने एनआईसी एसिया बैंकले डरलाग्दो आर्थिक अपराध गर्ने गरेको आरोप लागेको छ । लिलाम बदरको लागि अदालतमा मुद्दा चलिरहेको घर जग्गा बैंकका उच्च अधिकारीले बेचबिखनका लागि टेन्डर गरेर धरौटीको रकम भने पचाउने गरेको भेटिएको छ ।

बैंककै उच्च अधिकारी संलग्न रहेर यस्तो धन्दा हुने गरेको खुलेको हो । काठमाडौं महानगरपालिका–१६ म्हेपीको कित्ता नम्बर ७६३ मा रहेको २१०.६१ वर्गकिलोमिटर क्षेत्रफलमा रहेको एक घरलाई लिलाम बदरमा मुद्दा चल्दा चल्दै ठेक्का खोली ठेक्का परेको नाटक गरी धरौटी बापतको रकम ठगी गर्ने गरेको आरोप लागेको छ ।

म्हेपी घर भएका महेन्द्र मिश्रको करोडौँको घर जग्गा बैंकले लिलाम गर्ने तयारी गरिरहँदा त्यसविरुद्ध उनी अदालत गएका थिए । मिश्रले आफूले नियमितरूपमा बैंकको ऋण र ब्याज तिरिरहँदा पनि बैंकले लिलामीको पक्रिया अगाडि बढाएको बताए । उनले त्यसकाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत दर्ता गराएका छन् । तर, मुद्दा चलिरहँदा बैंकले बिक्रीको लागि टेन्डर खोलेको पाइएको छ ।

बैंकले गत वर्ष फागुन २२ गते पत्रिकामा सार्वजनिक सूचना निकालेर घरजग्गा लिलामीका लागि सूचना निकालेको थियो । त्यसकाविरुद्ध मिश्र परिवार जिल्ला अदालत गएपछि न्यायाधीश मुकेश उपाध्यायको इजलासले चैत्र ८ गते सो लिलामी रोक्न आदेश दिएको छ । तर, बैंकका कार्यकारी निर्देशक (सिइओ) रोशन न्यौपाने, विजनेश प्रमुख अर्जुन खनियाको मिलेमतोमा लिलाम बदरमा मुद्दा परेको जग्गा बेचबिखनका नाममा ठगी गर्ने गरेको स्रोतले दाबी गरेको छ ।

‘मैले ७ वर्षे अवधिका लागि एनआईसी एसिया बैंकबाट ऋण लिएको थिएँ । तर एक वर्षमै लिलामी गरिदियो । मैले बैंकमा तिनुपर्ने रकम पनि राखिरहेको छु,’ पीडित मिश्रले भने,‘मैले एक करोड चालिस लाख बुझाइसकेको छु । मैले साँढे चार करोड ऋण लिएको थिएँ । एक वर्षमा डेढ करोड बुझाएँ । बुझाउँदै गर्दा घर लिलामी गरिदियो ।’ उनका अनुसार पत्रिकामा लिलामीको सूचना निकालेपछि पनि चालिसदेखि ५० लाख रुपैयाँका दरले बैंकले ब्याज जोड्दै लगेको उल्लेख गरे ।

बैंकले ऋण प्रवाह गर्दा पनि गम्भीर त्रुटि गरेको देखिएको छ । सो घरको मुूल्यांकन दुई करोड ५० लाख गरेपनि ऋण भने साढे चार करोड उपलब्ध गराएको छ । महेन्द्रले एन्टिक हिमालयन फर्निचर उद्योगको नाममा चार करोड ५० लाख रुपैयाँ ऋण लिएका थिए । गत पुस ४ गते बैंकले उक्त घर लिलामी गरेको थियो ।

मुलुकी देवानी कार्यविधि संहिता ऐन २०७४ को दफा एक सय ५६ अनुसार जग्गा रोक्का राखी पाउँ भन्दै पीडित पक्षले मुद्दा दायर गरेको थियो । जिल्ला अदालत काठमाडौंले २०७५ चैत्र ८ गते जग्गा रोक्का राख्न आदेश दिएको थियो । तर रोक्का रहेको जग्गा पनि बैंकले भने अर्को व्यक्तिलाई बेच्न टेन्डर खोलेको र टेन्डरमा आएका एक व्यावसायीको धरौटी बापतको २४ लाख ५० हजार ठगी गरेको स्रोतले बतायो ।

सो बैंकको कर्तुत यत्तिमा मात्रै सीमित छैन । उसले ग्राहकमाथि पनि बद्मासी गर्ने खुलेको छ । बाणिज्य समूहमा अब्बल दाबी गर्ने बैंकले ग्राहकलाई अधुरो चेकबुक बनाइदिने र पछि रकम झिक्न जाँदा सोही त्रुटि देखाएर रकम नै झिक्न नदिने गरेको पनि भेटिएको छ । बैंकको बागबजार शाखामा खाता खालेका एक ग्राहकले रकम निकाल्नका लागि सोही चेकमा आवश्यक विवरण भरी बैंक शाखा गएका थिए ।

बैंकका कर्मचारीले चेकमा चेक नम्बर नरहेको भनी फर्काइदिएका छन् । ती ग्राहकले नाम नबताउने शर्तमा भने,‘उनीहरूले दिएको चेकमै नम्बर थिएन्, मेरो के को गल्ती । तर, मलाई मेरै पैसा झिक्न दिइएन ।’ उनी जस्तै समस्या भोग्ने बैंकमा धेरै ग्राहक छन् ।

यसो त सो बैंकको बद्मासी यतिमात्र छैन । गतल क्रियाकलाप गराउन एनआईसीले कर्मचारीलाई पनि बाध्य बनाउने गरेको खुलेको छ । एनआईसीको विशेषगरी ऋण शाखामा काम गर्ने कर्मचारीलाई अनावश्यक काम गरेर ऋणीलाई फसाउने खेल हुने गरेको स्रोतले बताएको छ । सो बैंकमा काम गर्ने अधिकांश कर्मचारी ६ महिनाभन्दा बढी टिक्ने गरेका छैनन् । या त उनीहरूलाई अवैध काम गर्न बाध्य बनाइन्छ या त जागिर छाडेर जान बाध्य बनाइन्छ ।

यसैगरी एनआईसीले ऋण प्रवाह गरेर ओरेन्टल सहकारीको लगानी रहेको धापासीस्थित २६ रोपनी जग्गा पनि कब्जा गरेको थियो । गत वर्ष थापाथलिस्थित एनआईसी बैंकको केन्द्रीय कार्यलय अगाडि यही विषयलाई लिएर सहकारीका व्यक्तिले घेराउ गर्दै बैंकविरुद्ध नाराबाजीसमेत गरेका थिए । सो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । ओरेन्टल सहकारीका निक्षेपकर्ताहरूले सहकारीमा जम्मा गरेको निक्षेप रकमबाट सुधीर बस्नेतले अपार्टमेन्ट निर्माण गरेका थिए ।

सो निर्माणका लागि बस्नेतले धितो राखेको २६ रोपनीको अर्बौं पर्ने जग्गामा एनआईसी एसिया बैंकले कौडीको भाउमा कब्जा गरेको थियो । पीडितहरूले बैंकले अन्तिम समयमा आएर एक्कासी ७० प्रतिशत व्याजदर वृद्धि गरी हड्प्ने नियत राखी २३ करोडमा बैँकले आफ्नो नाममा लिएको थियो ।

यस्तै, केही समयअघि एनआईसी एसिया बैंकको स्वीफ्ट ह्याक भएर करोडौँ रुपैयाँ तलमाथि हुन पुग्यो । विदेशी ह्याकरले सो रकम निकालेको सुरुआती निष्कर्ष निस्किएपनि पछि बैंककै कर्मचारीको संलग्नता रहेकोसमेत खुल्न थालेको थियो । तर, सो घटना बीचमै साम्य बनाइएको छ । सो प्रकरणले एनआईसी एसिया बैंकको स्वीफ्ट प्रणाली र त्यहाँ राखिएको रकम कति सुरक्षित छ भन्ने चासो पनि सर्वत्र उब्जिरहेको छ ।

प्रतिक्रिया