घरमा स्वास्थ्यकर्मी पुग्दा दंग

दैलेख । चामुण्डाविन्द्रासैनी नगरपालिका–७ की ६६ वर्षीया विष्णा चौलागाईँको घरमा स्वास्थ्यकर्मी पुग्दा दंग भइन् । उनले सोधिन् ‘मेरो घरमा किन आउनुभएको हो ? स्वास्थ्यकर्मीको जवाफ थियो, ‘हामी तपाईंको स्वास्थ्य चेकजाँच गर्न आएका हौँ । त्यसपछि उनले खुसी हुँदै भनिन्, ‘मलाई रक्तचाप र छाती दुख्ने समस्या छ ।’ त्यसपछि उनलाई स्वास्थ्यकर्मीले चेकजाँच गरी औषधि र आवश्यक स्वास्थ्यसम्बन्धी परामर्श दिए । यसरी घरमै स्वास्थ्यकर्मी पुगेर आफ्नो स्वास्थ्य चेकजाँच गर्दा सिंहदरबार गाउँगाउँमा आएका महसुस भएको विष्णाले बताइन् ।

जताततै भष्टचारको आवाज मात्र सुनिएको वेला दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले घरमै नागरिकको स्वास्थ्य उपचार गर्ने गरेको छ । जनप्रतिनिधि सुविधाभोगी भए भन्ने आरोपकाबीच उपचार सेवा लिएर घरमै पुगेकाले यहाँका जनाप्रतिनिधिले भने स्याबासी पाएका छन् । चामुण्डाविन्द्रासैनी नगरपालिका–७ का ७० वर्षीय हरिवदन वादीको घरमै स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य चेकजाँच गरे । घरमै स्वास्थ्य परीक्षण गराउन पाउँदा उनी निकै खुसी भए । घरमै पुगेर सहरी स्वास्थ्य क्लिनिकका कर्मचारीहरू प्रत्येक महिना ज्येष्ठ नागरिक, नवजात शिशु, गर्भवति महिला र अपांगता भएका व्यक्तिको स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । हरिबदनले अस्पताल जान गाह्रो हुने भएकाले घरमै पुगेर स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिक, नवजात शिशु, गर्भवती महिला र अपांगता भएका व्यक्तिको स्वास्थ्यमा जिम्मेवार भएको महसुस गरेको बताए ।

नगरपालिकाले प्रत्येक वडामा ज्येष्ठ नागरिक, असहाय, गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र अपांगता भएका व्यक्तिलाई केन्द्रित गरेर औषधि उपचार सेवा सञ्चालन गर्दै आएको छ । वडावडामा रहेको सहरी क्लिनिकबाट प्रत्येक महिना ज्येष्ठ नागरिक उपचार, परामर्श कार्यक्रम सञ्चालन गर्दै आएको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगरप्रमुख सूर्यबहादुर शाहीले बताए । नगरपालिकाले यो कार्यक्रमलाई बजेटमै राखेर कार्यान्वयन गरेको उनको भनाइ छ । नागरिक स्वास्थ्यभन्दा ठूलो केही नभएकाले स्वास्थ्यलाई प्राथमिकता दिएको उनले बताए । अब कोही ज्येष्ठ नागरिक, नवजात शिशु, गर्भवति महिला र अपांगता भएको व्यक्तिहरूले घन्टाँै हिँडेर स्वास्थ्य चेकजाँच गर्न जानु नपर्ने उनको भनाइ छ ।

नगरपालिकाले ग्रामीण वडाका ज्येष्ठ नागरिक, नवजात शिशु, गर्भवती महिला र अपांगता भएका व्यक्तिको घरमै पुगेर जाँच गरेको छ । ‘उपचारका लागि स्वास्थ्य संस्थासम्म जान नसक्नेहरूले स्याबासी दिनुभएको छ’, चामुण्डाविन्द्रासैनी नगरपालिकाको नगर स्वास्थ्य इकाइका प्रमुख दीपबहादुर खड्काले भने, ‘नगरभरीका ज्येष्ठ नागरिक, नवजात शिशु, गर्भवति महिला र अपांगता भएका व्यक्तिका घरमै पुगेर स्वास्थ्य चेकजाँच गरेका छौँ ।’

प्रतिक्रिया