स्थानीयद्वारा प्रहरी पक्राउ

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङमा सिभिल तथा घुमुवा प्रहरीको रूपमा कार्यरत प्रहरी जवान अरविन्दकुमार दासलाई मध्यरातमा अर्काको घरमा विनाजानकारी प्रवेश गर्ने क्रममा स्थानीयले नियन्त्रणमा लिएका छन् ।

नीलकण्ठ नगरपालिका–८ विर्तावेशीस्थित धादिङे दाइ भनेर चिनिने इन्द्रबहादुर श्रेष्ठको घरमा राती एक बजेको समयमा घर बाहिरबाट काठको भ¥याङ हालेर तलामा उक्लिरहेका वेला स्थानीयहरूले चोर आयो भन्दै हल्लाखल्ला गरेपछि दास भागेका थिए । स्थानीयले उनलाई खोजी गर्दा पिँडालु बारीमा लुकिरहेको अवस्थामा फेला पारेको स्थानीय विदुर सिलवालले बताए ।

मध्यरातमा गाउँमा होहल्ला भएपछि स्थानीयहरूले खोजी गर्दा, घर नजिकैको पिँडालुबारीमा हत्कडी र पेस्तोलसहित प्रहरी दास लुकिरहेको अवस्थामा फेला परेका थिए । स्थानीय युवाहरूले लुकिरहेको अवस्थामा अरविन्द कुमारलाई नियन्त्रणमा लिएपछि सिआइडी प्रहरी भएको खुलेको थियो ।

अरविन्द कुमार सिआइडी प्रहरी भएको खुलेपछि स्थानीयले चोरी गर्न लागेको आरोपमा प्रहरीकै जिम्मासमेत लगाएका छन् । अरविन्द कुमार केही वर्षदेखि धादिङमा सिभिल प्रहरी र घुमुवा प्रहरीको रूपमा जिल्लामा सक्रिय थिए ।

केही दिनअघि मात्र सोही स्थानमा निर्माणाधीन एक घरमा मजदुरसँग मासुभातसँगै मद्यपान सेवन गरेका दासले सोही घरको मोबाइल फोन चोरर भागेको समेत आरोप लागेको छ । स्थानीयले पक्राउ गरेपछि दासले भने आपूm विप्लव माओवादी पक्राउ गर्न जाँदा झुक्किएर उक्त ठाउँमा पुगेको बताएका थिए ।

दासको साथमा पेस्तोल र हत्कडीसमेत भेटिएपछि प्रहरीलाई जिम्मा लगाएको स्थानीय मेघनाथ कोइरालाले बताए । उनले भने, ‘स्थानीयवासीले घेरा हालेर पक्राउ गरेर केरकार गर्न थालेपछि उसले आपूm सिआइडी प्रहरी भएको बतायो, त्यसपछि प्रहरी बोलाएर जिम्मा लगाएका हौँ ।’

घटनापछि विर्तावेशीका स्थानीयहरूले दासलाई कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति गराउनुपर्ने माग गर्दै बुधबार जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दिएका थिए । प्रहरी प्रमुख राजकुमार बैदवारले स्थानीयहरूको निवेदन बुझ्दै दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि आपूmहरू फर्किएको नीलकण्ठ नगर कार्यपालिका सदस्यसमेत रहेका स्थानीय प्रकाशकुमार श्रेष्ठले बताए ।

घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीको गल्ती देखिएको प्रहरी प्रमुख एसपी बैदवारले बताए । ‘सिभिल डेसमा गस्तीमा निक्लने प्रहरी हो ।’ उनले भने, ‘उसले मादक पदार्थ सेवन पनि गरेको रहेछ, हामीले परीक्षण गराएका छौँ, सबै अनुसन्धान प्रक्रिया पूरा गरेर हामी कारबाही गर्छौं ।’ त्यहाँ के कारणले गएको थियो भन्ने बारेमा अनुसन्धान सकेपछि विभागीय कारवाही गरिनेसमेत वैदवारले बताए । हाल उनलाई निलम्बन गरीएको समेत प्रहरी प्रमुख एसपी बैदवारले बताए ।

प्रतिक्रिया