साढे दुई सय वर्षको मुखौटो

म्याग्दी । बेनीका नेवार समुदायमा प्रचलित लाखेनाचमा करिब दुई सय वर्ष अर्थात् नौ पुस्तादेखि एउटै मुखुण्डोे प्रयोग हुँदै आएको छ ।

यहाँका नेवार समुदायमा प्रचलित विभिन्न नाचका साथै लाखे नाच प्रदर्शन गर्ने परम्परा निकै पुरानो मानिन्छ । करिब साढे दुई सय वर्षअघि बेनी बजारमा भक्तपुरबाट नेवार समुदाय पुगेको मानिन्छ । उनीहरू बेनीमा पुगेसँगै नेवार संस्कृति भित्रिएको हो । यसरी भित्रिएको नेवार संस्कृतिमध्ये वर्षे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने परम्परा रहेको छ ।

परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको भनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विसर्जन गरिन्छ । त्यसपश्चात् बेनीमा वर्षे नाच सुरु हुन्छ । पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिने स्थानीयको भनाइ छ । जगल्टा फिँजाएकी ठूल–ठूला आँखा भएकी, दाह्रा निस्केकी, देख्दै डरलाग्दी घण्टाकर्णकी श्रीमतीलाई लाखेको संज्ञा दिएर नाच प्रदर्शन गरिन्छ । यो बेनीको प्रसिद्ध नाचको रूपमा पनि चिनिन्छ ।

समय र प्रविधिसँगै नेवार समुदायको संस्कृतिमा आइरहेको परिवर्तनले मौलिकता लोप हुने अवस्थाको सिर्जना भइरहेको छ । तर, यहाँ आधुनिकताका कारण जति नै उतारचढाव र परिवर्तन आए पनि त्यसको प्रभाव प्रचलित नाचमा भने देखिएको छैन । कैयौँ पुस्ता बिते अनेकौँ मौलिक संस्कृति लोप भए तर लाखे नाचका लागि प्रयोग गरिने मुखौटो (मुखुण्डोे) मा भने कुनै परिवर्तन आएन । करिब दुई सय वर्षदेखि एउटै मुखुण्डोे प्रयोग गरिँदै आएको छ ।

लाखे नाचमा अन्य गतिविधिभन्दा पनि मुखौटो विशेष आकर्षणको केन्द्र हुने गर्छ । बेनी बजारमा मानवबस्तीको विस्तारसँगै नेवार समुदायले पनि हरेक वर्ष लाखे नाच प्रस्तुत गर्दै आएका छन् । अहिले पनि दुई सय वर्ष पहिलेको उही मुखौटो लगाएर नाच देखाउने गरिन्छ । पहिलो पुस्ताले ल्याएको मुखौटोलाई अहिलेका नवौँ पुस्ताका सदस्यले समेत प्रयोग गर्दै आएको नेवार समुदायका अगुवा युवा रमेश श्रेष्ठले जानकारी दिए । उनले भने, ‘बेनीका नेवार समुदायसँग रहेको मुखौटो नेपालभरिका नेवार समुदायको भन्दा विशेष आकर्षक रहेको र यसको चर्चा सर्वत्र हुने गरेको छ ।’

पहिले तोरीको तेलले सफा गरिने मुखौटोलाई आकर्षक देखाउन अहिले इनामेल प्रयोग गर्ने गरिएको ल्यामपुचका अध्यक्ष सुविन श्रेष्ठले जनाए । बर्खे नाचको सुरुआत लाखेको पति अर्थात् घण्टाकर्ण नामक राक्षसको पुत्ला दहन गरेपछि मात्रै हुन्छ । त्यसैगरी तीजको साँझमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णरूपी शक्तिले बध गरेपछि यो नाचको अन्त्य गर्ने प्रचलन छ । हिन्दू धर्म ग्रन्थमा वर्णित द्वापरयुगमा भगवान् श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको अभिनय गरी यो नाच नाच्ने गरिन्छ ।

नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गरेको बताइए पनि राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवाले जनाएका छन् । बेनीमा लाखे नाच, रोपाइँ नाच, जोगी नाच, गोरु नाच, नागनागिनी नाच, श्रीकृष्ण रथ यात्रासहित विविध नाच देखाइने गरिन्छ । जनशक्तिको अभाव हुन थालेपछि हनुमान नाच र रोपाइँ नाच भने लोप हुने अवस्थामा रहेको छ ।

प्रतिक्रिया