हरियो चुरा, मेहन्दी र साउन महिना

यस वर्षको साउन महिनाको मध्यममा छाँै हामीहरू । आज साउन महिनाको दोस्रो सोमबार । यो महिना नेपाली चेलीहरूका लागि विशेष महिनाको रूपमा लिइन्छ । के पनि भन्न थालिएको छ भने बाटोमा हिँडिरहेका नारीहरूलाई हेरेर नै थाहा हुन्छ कि यो साउन महिना हो ।

हातभरि हरियो चुरा र मेहन्दी लगाएर हरियै लुगा लगाएर एक खालको फेसन जस्तै देखिएको छ यो साउन महिना । सानो–सानो नानीदेखि हजुरआमाको उमेरसम्मका सबैले एकै खालको लगाएको देखिन्छ । भनाइ के पनि रहेको छ भने विवाहित महिलाले साउन महिनामा हरियो चुरा हातमा मेहन्दी लगाए लोग्नेको आयु बढ्छ रे । अनि अविवाहिता महिलाले लगाए मनले चिताएको पाइने लोभले यो फेसन बढ्दै गएको पाइन्छ । एकातिर धर्म संस्कृति होला भने अर्कोतिर यो फेसनजस्तै पनि बन्दै गएको छ । हरियो चुरासँग श्रीमान्को स्वास्थ्यको के र कुन आधारमा सम्बन्ध छ त्यो त थाहा छैन तर हामीहरू यो सबै गरिरहेका छौ ।

साउन महिना प्रकृतिकरूपले नै हरियो हुने भएकाले नारीहरूले यस्तै खालको रंगको समायोजन गर्दा तादात्म्य मिलेको देखिन्छ । हरियो चुरा, पोते, मेहन्दी लगाउने कहीँ कतै शास्त्रीय मान्यता नभेटिए पनि पछिल्लो समयमा यसको चलन बढ्दै गएको छ । अथवा यसले एउटा फेसनको रूपमा हामीबीचमा जबरजस्त आफ्नो उपस्थिति देखाएको छ । यो महिनालाई शिवजीको महिना भनेर पूजा आजा गरिन्छ । यो एउटा आस्था पनि हो ।

पछिल्लो समयमा देशलाई धर्म निरपेक्ष भनिए पनि हाम्रो देश हिन्दूहरूको बाहुल्यता भएको देश हो । हिन्दू धर्ममा हरेक दिन केही न केही चार्ड पर्व तिथिहरू रहेका हुन्छन् । हामीले साउन महिनाको १ गते साउन महिनाको पहिलो दिन साउने संक्रान्तिको रूपमा मनायौँ । साउन महिना फेरि हिन्दू नारीहरूका लागि त्यतिकै महत्वको रहेको छ । शिवजीको आराधनाका रूपमा लिइन्छ यो महिनालाई ।

हिन्दू संस्कृतिमा श्रावण महिनाको पहिलो दिनलाई साउने संक्रान्तिपर्वको रूपमा लिइन्छ । हिन्दू धर्मावलम्बीहरूले मनाउने चाडहरूमध्ये साउने संक्रान्ति पनि एउटा महत्वपूर्ण चाडपर्वको रूपमा हामीले मनायौँ । ज्योतिष शास्त्रानुसार सौर्य तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायण हुने हुनाले यसलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो भन्नु हुन्छ ज्यो पं.भरतमणि मरासिनी ।

उहाँका अनुसार सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । साउने संक्रान्तिका दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणिगोलाद्र्ध तर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ ।

साउन महिनाले नेपालीखास गरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरुलाई भित्र्याउने भनाइ छ । नेपालभर स्नान, दान, होम, श्राद्धजस्ता विशेषकार्यको सुरुवात यही दिनदेखि गरिन्छ । हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिनहुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ । साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ ।

फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ । विवाहित महिलाहरू साउने संक्रान्तिदेखि साउनमहिना भर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार ब्रत बसी शिवको पूजा आराधना गर्दछन् ।

धार्मिक दृष्टिले साउन महिना पवित्र महिना मानिन्छ । त्यसमा पनि साउनको सोमबारको छुट्टै महत्व रहिआएको छ । परम्परागत संस्कृति लोप हुँदै गएको बताइए पनि नेपाली महिलाहरूले भने साउन महिनाको सोमबारलाई विषेशरूपमा मनाउँदै आएका छन् । कसैले परम्परा जोगाउनको लागि त कसैले फेसनकै रूपमा हरिया चुरा र मेहेन्दी लगाएर साउने सोमबार मनाउने गरेका छन् ।

हिन्दु महिलाहरूले साउन महिनालाई विशेष महत्वका रूपमा लिने गरेका छन् । साउन महिनामा पार्वतीले शिवलाई पाउनका लागि ब्रत बसेको र ब्रतकै कारण पार्वतीले शिवजी पाएको धार्मिक विश्वासमा नेपाली महिलाहरूले श्रीमानको भलाइको कामना गर्दै ब्रत बस्दै आएका छन् । हरेक वर्षको साउनको सोमबार नेपाली हिन्दू महिलाहरू ब्रत बस्ने गर्दछन् । साउन महिनाभर माछा मासु नखाई, हरियो चुरा र मेहेन्दीलगाई ब्रत बस्दा अविवाहित महिलाहरूले राम्रो वर र विवाहितहरूले आफ्नो पतिको आयु लामो हुने तथा परिवारमा सुख शान्ति र अटल सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ ।

साउन महिनाको हरेक सोमबार बिहानैदेखि महिलाहरुको काठमाडौंको पशुपतिनाथ मन्दिर तथा देशका अन्य शिवमन्दिरहरूमा पनि महिलाहरु श्रद्धा भक्तीपूर्वक पूजा अर्चना गर्ने गर्दछन् । साउन महिनामा चारैतिर हरियालीसँगै ब्रतालु महिलाहरू हरिया चुरामा सजिन्छन् । यसैले पनि यति वेला राजधानीका सहर बजारमा मेहेन्दी र हरिया चुरा लगाउनेहरूको संख्या बाक्लो छ । पसलेलाई पनि चुरा बेच्न तथा मेहेन्दी लगाइदिन भ्याइनभ्याइ छ ।

हिजोआज हरियो चुरा, हरियै रंगका कपडा तथा मेहन्दीहरूको व्यापार बढेको छ । काठमाडौंको विशेषतः न्यूरोड, असन, पुतलीसडक, सुन्धारा, पशुपतिनाथ मन्दिर आसपासका पसलहरूमा हरियो चुरा र मेहन्दी लगाउने युवतीहरूको भीड नै लाग्ने गर्दछ । यसरी पसलहरूमा भीड लाग्नुको मुख्य कारण भनेको अरूको सिको गर्नु हो । धर्म कर्ममा विश्वासभन्दा पनि फेसनकै आधारमा युवतीहरू पछि लागेकाले पनि यसको व्यापार बढेको देखिन्छ ।

पछिल्लो समयमा फेसनले गर्दा चाडवाड र संस्कृतिहरू जोगिरहे पनि वास्तवमा आफ्नो संस्कृतिलाई जीवन्त बचाइ राख्नुपर्छ भन्नेहरूको पनि कमी छैन । हाम्रा सांस्कृतिक धरोहरहरूलाई जोगाइ राख्न के युवा के युवती वा वृद्ध वृद्धाहरू नै किन नहुन, सबै लागि परे हाम्रो देश सधैँभरि सांस्कृतिक र धार्मिक सम्पदामा धनी भइरहने छ ।

प्रतिक्रिया